काठमाडौं २४ असार / भूतपूर्व सहनियन्त्रक सर्वाधीश राजभण्डारीमार्फत ०६८/६९ सालमा सुरेन्द्र कोइरालासँग चिनजान भएको हो । उनले नोबेल कलेजमा पार्टटाइम काम मिलाइदिए । सर्टिफिकेट चाँडो निकाल्न उनले मान्छे पठाउँथे । म सहयोग गरिदिन्थेँ । ०७२ सालमा अर्थशास्त्र विषयमा परीक्षा दिएको छु, उत्कृष्ट नम्बर पाउनुपर्यो है भनेर फकाए । मैले पनि नाइँ–नास्ती गर्न सकिनँ । परीक्षाफल प्रकाशित भइसकेपछि अनामनगरको युनिक रेस्टुरेन्टमा ५० हजार रुपैयाँ उपलब्ध गराए ।
०७३ सालको दोस्रो वर्षमा पनि ‘गोल्डमेडल पाउन सबैभन्दा बढी मार्क चाहिन्छ, यसले गर्दा न्यायाधीश बन्न सजिलो हुन्छ’ भनेका थिए । यसैअनुसार अरूको मार्क हेरी एक प्रति इन्ट्री गरेको हुँ । दोस्रो प्रति तत्कालीन वरिष्ठ सहायक कमल दाहालले इन्ट्री गरेका थिए । त्यसको इन्ट्री गरेको डाटा बेरुजु निकाल्नका लागि मेरो पेनड्राइभमा राखेँ । पछि कमल दाहालले इन्ट्री गरेको कम्प्युटरबाट इन्ट्री डाटा मेरो पेनड्राइभमा राखी फरक नपर्ने गरी विषयगत रूपमा नम्बर दिने काम गरेँ । त्यसपछि कम्प्युटर शाखामा बेरुजु निकाल्न महमद उमरलाई लगेर दिएँ । सँगै बसेर बेरुजु निकाली मेरो कम्प्युटरमा ल्याई आवश्यक बेरुजु केलाई फेरि उमरको कम्प्युटरमा बेरुजुअनुसार करेक्सन गरी उमरकै कम्प्युटरमार्फत रिजल्ट प्रकाशनका लागि बोर्डमा पठाइयो ।
दोस्रो वर्षको नतिजा पनि त्यसैगरी प्रकाशित गरिदिएँ । उनको अनुरोधअनुसार सबैभन्दा बढी अंक बनाई नतिजा प्रकाशित गरिदिएँ । त्यसपछि कोइरालाले थप एक लाख रुपैयाँ अनामनगरस्थित उनको ल फर्म रहेको भवनमुनिको युनिक रेस्टुरेन्टमा बोलाएर दिए । त्यो पैसा मैले नबिल बैंकमा रहेको आफ्नो खातामा राखेको हुँ । उनले ‘केदार भट्टराई भन्ने व्यक्तिलाई समेत पास गराउनुपर्छ है’ भनेका थिए । पहिलेजस्तै गरी मैले उनको पनि प्रथम श्रेणी हुने गरी नम्बर थपिदिएको हुँ । भट्टराईलाई प्रथम श्रेणीमा उत्तीर्ण गराएबापतको पैसा पाएको छैन ।
कोइरालाले अख्तियारमा भने–मैले पैसा दिएको हुँ, तर नम्बरका लागि होइन, मलाई न्यायाधीश हुन रोक्न षड्यन्त्र भएको छ
सर्टिफिकेटहरू लिन जाँदा त्रिविका कर्मचारी रामबहादुर कर्माचार्यलाई ०७०/७१ सालदेखि चिनेको हुँ । मेरो संलग्नतामा पैसा लिएर पास गराएको छैन । राम कर्माचार्यलाई प्रभावमा पारी उत्कृष्ट नम्बर ल्याउन भनेको छैन । मैले अर्थशास्त्रको जाँच दिएको छु, रिजल्ट भएपछि हेरेर खबर गरिदिनुहोला सम्म भनेको हुँ । उनकी छोरी अस्ट्रेलिया जाँदा उनलाई डेढ लाख दिएजस्तो लाग्छ, नम्बर थप गर्नका लागि होइन । केदार भट्टराईको पनि कसरी नम्बर थपियो, मलाई थाहा छैन । निष्पक्ष छानबिन भएमा न्यायाधीश छनोटमा योग्य व्यक्तिको खोजी हुँदा पर्न सक्ने सम्भावित उम्मेदवारसमेत भएकाले सोबाट रोक्न मविरुद्ध उजुरी गरिएको हो ।
भट्टराईले अख्तियारमा भने–एक शैक्षिक सत्रको डेढ लाखका दरले पैसा दिएपछि सर्टिफिकेट घरमै आयो
सुरेन्द्र कोइरालासँग ०५८ सालदेखि चिनजान भएको हो । हामी नेपाल विद्यापीठ स्कुलमा सेयरहोल्डरसमेत हौँ । स्नातकोत्तर तह एमएको परीक्षा दिने क्रममा कुनै विषयमा फेल हुने सम्भावना छ भने पास गराउन सकिन्छ भनेका थिए । मैले प्रतिवर्षको एक लाख ५० हजार रुपैयाँ दिएको हुँ । उनको ल फर्ममै गएर पैसा दिएको हुँ । उनैले सर्टिफिकेट ल्याइदिएका हुन् । मैले उनलाई दुईपटक गरेर तीन लाख दिएको हुँ, मैले दिएको पैसा उनले राम कर्माचार्यलाई दिए कि दिएनन्, थाहा भएन ।
एउटै विद्यार्थीलाई १४ विषयमा अंक थप
अधिवक्ता सुरेन्द्र कोइरालाले न्यायाधीश बन्न त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडल किनेको खुलेको छ । परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी नम्बर थपेर अर्थशास्त्र विषयमा उनी गोल्ड मेडलिस्ट बनेका हुन् ।
गोल्ड मेडलिस्ट भएपछि न्यायाधीश बन्न सजिलो हुने भएकाले किनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ । कोइराला, त्रिविका कर्मचारी रामबहादुर कर्माचार्य र बानेश्वर क्याम्पसका कर्मचारी केदार भट्टराईविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गोल्ड मेडल भए आफूलाई न्यायाधीश बन्न सजिलो हुने भन्दै कोइरालाले फकाएर नम्बर थप्न लगाएको बयान कर्माचार्यले अख्तियारमा दिएका छन् । तर, कोइरालाले भने आफू न्यायाधीशका लागि योग्य व्यक्ति भएकाले क्षमताकै आधारमा गोल्ड मेडलिस्ट बनेको बयान दिएका छन् ।
७६ नम्बर थपेर गोल्ड मेडलिस्ट
अर्थशास्त्र विषय लिएर कोइराला सन् २०१५ मा पाटन संयुक्त क्याम्पसमा मानविकी संकायमा भर्ना भएका थिए । सन् २०१६ मा उनले प्रथम वर्षको परीक्षा दिएका थिए । उनलाई चारवटा विषयमा कुल ३५ नम्बर थप गरिएको छ । त्यस्तै, दोस्रो वर्षमा ४१ नम्बर थप गरेर उत्तीर्ण प्रतिशत ७३.९० पुर्याइएको छ । जुन नम्बरले उनलाई गोल्ड मेडलिस्ट बनाएको थियो ।
एकै विषयमा ५० नम्बरसम्म थप
अर्थशास्त्रअघि पढेको ग्रामिण विकास विषयमा पनि उनी आर्थिक चलखेलकै आधारमा प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । एउटै विषयमा ५० नम्बरसम्म थप गरिएको छ । एमएम प्रथम वर्षको परीक्षामा ५३४ कोड नम्बर रहेको विषयमा ९ नम्बर प्राप्त गरेकोमा ५० नम्बर थपेर ५९ नम्बर दिइएको थियो । अर्काे एक विषयमा २० तथा अर्कोमा १० नम्बर थपिएको थियो । त्यस्तै, दोस्रो वर्षका दुई विषयमा १०–१० नम्बर थपिएको थियो ।
उनले सन् २००९ मै ग्रामीण विकास विषयमा परीक्षा दिन थालेकोमा पटक–पटक फेल भई २०१८ मा मौका परीक्षामा नम्बर थप्न लगाएर पास गरेका थिए । समाजशास्त्र तथा मानवशास्त्र विषयमा भने उनले ५०.९० प्रतिशत अंक ल्याएका थिए । त्यसका लागि पनि कर्माचार्यले नम्बर थप गरिदिएका थिए ।
५० नम्बर थपेको तीन लाख
बानेश्वर क्याम्पसका कर्मचारी केदार भट्टराईलाई प्रथम वर्षमा तीनवटा विषयमा १०–१० तथा दोस्रो वर्षमा दुई विषयमा १०–१० नम्बर थप गरेर प्रथम श्रेणीमा उत्तीर्ण गराइएको थियो । पाँच विषयमा कुल ५० अंक थपेबापत उनले तीन लाख रुपैयाँ बुझाएका थिए । भट्टराई बानेश्वर क्याम्पसका छैटौँ तहका कर्मचारी हुन् । उनले आफूले तीन लाख रुपैयाँ दिएर प्रथम श्रेणीमा एमए उत्तीर्ण गरेको स्वीकार गरेका छन् ।
अधिवक्ता कोइरालामार्फत उनले नम्बर थपाएका हुन् । बिचौलिया बनेर कोइरालाले धेरैलाई यसरी पास गराएको हुन सक्ने अनुसन्धानमा आबद्ध अख्तियारका कर्मचारी बताउँछन् । यही धन्दाबाट उनले करोडौँ कमाइसकेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीकै आधारमा कर्माचार्यलाई पक्राउ गरी अनुसन्धान गर्दा गोल्ड मेडल नै खरिद–बिक्री हुने गरेको पुष्टि भएको हो । कोइरालाका अन्य शैक्षिक प्रमाणपत्रमाथि समेत आयोगले छानबिन गरिरहेको छ ।
परीक्षामा उपस्थित नै नभई प्रथम श्रेणी
परीक्षामा उपस्थित नै नभई कोइरालाले ग्रामीण विकास र समाजशास्त्र विषयमा पनि स्नातकोत्तर उत्तीर्ण गरेको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको छ । चार विषयमा स्नातकोत्तर गरेका उनले ग्रामीण विकास प्रथम र समाजशास्त्र तथा मानवशास्त्र द्वितीय श्रेणीमा पास गरेका थिए । तर, ती विषयको कतिपय परीक्षामा उनी सहभागी भएका थिएनन् । परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी रामबहादुर कर्माचार्यले नै उनलाई नम्बर थपेर पास गराइदिएका थिए । त्यसबापत कोइरालाले आफूलाई नोबेल कलेज सिनामंगलमा पार्टटाइम जागिर लगाइदिएको कर्माचार्यले अख्तियारमा बयान दिएका छन् ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार तीनवटा डिग्रीका १५ वटा पेपरमा नम्बर थप गरिएको थियो । तीन देखि ५० नम्बरसम्म गरी जम्मा २२४ नम्बर थपिएको थियो ।
अख्तियारले तीनैजनालाई ६ महिनादेखि एक वर्षसम्म कैद सजाय माग दाबी मुद्दा दायर गरेको छ । एक लाखदेखि पाँच लाख रुपैयाँसम्म घुस लिँदा ६ महिनादेखि एक वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।
पनिकाका कर्मचारी निगरानीमा
सुरेन्द्र कोइरालालाई गोल्ड मेडलिस्ट बनाउने र केदार भट्टराईलाई प्रथम श्रेणीमा उत्तीर्ण गराउने घटनामा परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखाका प्रमुख रामबहादुर कर्माचार्यको मात्र मिलेमतो देखिएको आयोगको निष्कर्ष छ । तर, यसमा पनिकाका अन्य कर्मचारीको पनि लापरबाही देखिएको थियो । कर्माचार्यको बयान तथा थप अनुसन्धानबाट पुष्टि नभएपछि अन्य कर्मचारीलाई सोधपुछमा बोलाए पनि मुद्दा भने चलाइएको छैन ।
त्रिविको अर्थशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख रामप्रसाद ज्ञवाली, परीक्षा नियन्त्रण कार्यालयका मुख्य कार्यालय सहायक वसन्त ढुंगेल, कार्यालय सहायक हरि पहारी, लेखा अधिकृत कमलप्रसाद दाहाल, कार्यालय सहायक कुमारप्रसाद न्यौपाने, प्रशिक्षक महमद उमरसँग समेत आयोगले सोधपुछ गरेको थियो । ‘उनीहरूविरुद्ध मुद्दा चलाउन मिल्ने आधार भेटिएन, तर चरम लापरबाही देखिन्छ,’ अनुसन्धानमा आबद्ध आयोगका एक अधिकारीले भने, ‘उनीहरूलाई निगरानीमै राखेर थप अनुसन्धान गरिरहेका छौँ ।’ स्रोतका अनुसार विगतमा पनि गोल्ड मेडलको किनबेच तथा कम नम्बर ल्याएकालाई नम्बर थप्ने काम अन्य कर्मचारीहरूबाट समेत हुने गरेको सूचना अख्तियारले प्राप्त गरेको छ । स्रोतका अनुसार अधिकृत भोजराज राउतविरुद्ध समेत आयोगले अनुसन्धान गरिरहेको छ ।
नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन् ।
प्रतिक्रिया