Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

शिक्षक माथि संसदमा प्रश्न : सन्तानलाई 'ट्विन्कल ट्विन्कल लिटिल स्टार' !

मंगलबार, २१ जेठ २०७६

काठमाडौं - सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना सन्तानलाई आफैले पढाउने विद्यालयमा नपढाई निजी विद्यालयमा पढाउने क्रम प्रति संसदमा गम्भिर प्रश्न उठेको छ । आगामी बर्षको बजेट माथिको छलफलका क्रममा सोमबार बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद प्रदीप गिरिले यस्तो प्रश्न उठाएका हुन् । विद्यालयमा जाँदै नजाने शिक्षक र गए पनि हाजिर गर्ने तर आफ्ना सन्तानलाई निजी विद्यालयमा पठाउने क्रम प्रति बजेटले कुनै सम्बोधन गर्न नसकेको उनको तर्क छ ।  

'स्कुलमा जुन शिक्षक जाँदै जाँदैनन्, स्कुलमा हाजिरी गर्छन् आफ्ना बच्चालाई अन्तै पढाउँछन्, ट्विन्कल ट्विन्कल लिटिल स्टारमा, त्यो यस बजेटले दूर गर्न सक्छ ?' अर्थ मन्त्रीलाई प्रश्न गर्दै उनले भने, 'नयाँ चिन्तन ल्याउनुस् ,समाजवाद भनेको नयाँ सभ्यता हो, दुई चार हजार रुपैयाँ बढाउने र घटाउने हैन ।' 

सांसद गिरिले प्रतिनिधि सभामा ब्यक्त गरेको मन्तव्य 

अरु कुरामा छाडे पनि बजेटका विषयमा म हरेक बर्ष बोल्ने गर्या छु । उहिले ०४७ साल देखिनै । बजेटका खुद्रा कुराका बारेमा केही पनि भन्नु छैन । एउटा आधारभूत कुराका बारेमा भन्छु – यो पहिलो पटक मात्रै पनि हैन, नेकपाको सरकारमा मात्र पनि भनेको हैन । पहिले पनि भन्ने गरेको छु । 

उर्दुमा एउटा कथन छ ।  उर्दु भाषा लेख्दा माथि यसो चन्द्रबिन्दु हाल्नु भो भने त्यही शब्दको अर्थ ‘खुदा’ लाग्छ । चन्द्रबिन्दु हटाइ दिनुभो भने त्यही शब्दको अर्थ ‘जुदा’ लाग्छ । एउटाको अर्थ God, एउटाको अर्थ Separate । यस बजेटमा थुप्रा कुरा छन् जसलाई म ठीक भन्छु, थुप्रा कुरा छन् जसलाई म बेठीक भन्छु। त्यता म जान्न । सम्बन्धित मित्रहरुले भनिसक्नु भएको छ । 

यसमा एउटा कुरा छ, मैले वर्षौँदेखि भन्दै आएका सबै कुरा टुङ्गिन्छ । के भनिएको छ भने एक ठाउँमा – ‘आधुनिक सभ्यताको मानक नै सुविधा युक्त शहर भएको तथा मुलुकुको विकासको स्वरुप शहरी पूर्वाधारबाटै प्रतिबिम्बित हुने यथार्थलाई ध्यान दिँदै शहरी विकासतर्फ कार्यक्रम प्रस्तुत गरेको छु ।’

म यस सरकारलाई भन्न चाहन्छु यस पंक्तिमा एउटा शब्द फेरिदिने हो भने मलाई यो बजेट पूर्णतः स्वीकार छ । एउटा शब्द खुदालाई जुदा बनाउने शब्द के हो भने आधुनिक सभ्यताको मानक सुविधा युक्त शहर हो त ? काठमाडौँलाई शहरको सट्टा कहर बनाएर चित्त बुझेन ? कहर भन्छ उर्दुमा वर्वादीलाई ।

यसलाई तपाईँ ठाँटले लेख्न सक्नुहुन्छ ‘आधुनिक सभ्यताको मानक नै सुविधा युक्त गाउँ’ बनाएर ।’

गाउँलाई सुविधा युक्त बनाउन सकिँदैन ? गाउँलाई सुविधायुक्त बनाउनु आजको नेपालको चुनौति हो कि हैन ? एउटा शब्द छ सानो शब्द छ –  पुरा (PURA)  Providing Urban Amenities to Rural Areasभारतका पूर्व राष्ट्रपति अब्दुल कलामले यो शब्द बनाएका थिए । तेस्रो विश्वलाई चाहिएको कुरा के हो भने पुरा (PURA) ।

यति शब्द शहरलाई गाउँ गरिदिनुस् त, मेरो बिन्ति छ । प्रार्थना छ । सारा बजेटको रुपरेखा स्वरुप, दिशा बदलिन्छ । आज गाउँबाट बजार, बजारबाट झन् ठूलो बजार, झन् ठूलो बजारबाट शहर, त्यस पछि फोहर काठमाडौँ, त्यसपछि विदेश । अमेरिका । अस्ट्रेलियामा लर्को छ । यही हो नेपालको नियति? यही गर्न हामीले ५० बर्ष अघि देश बनाउने कसम खाएका थियौं ? यति शब्द बदलिए पुग्छ, अरु मलाई केही चाहिएको छैन । हामीले सुविधायुक्त गाउँ बनाउने हो । शहरलाई कति चाहियो? गाडी पुगेन कि कलेज पुगेन कि अस्पताल पुगेन कि । काठमाडौँमा जोड्नुस् त प्रतिव्यक्ति कति छ ?

अर्को मेरो प्रश्न छ – बडा विकल र विकट । यो सभ्यता भनेको के हो हँ ? आधुनिक सभ्यता भनेको के हो ? सभ्यताको परिभाषा के हो ? सभ्मयताके परिभाषामा मैले पनि काफि मनन चिन्तन गरेको छु । स्थुल परिभाषामा सभ्य भनेको यही प्रतिनिधि सभामा सभा जोडेको पूच्छर शब्दलाई बुझ्न सकिन्छ । सभ्य भनेको त्यही हो जो सभामा बस्न लायक छ । सभा चलाउने व्यक्तिलाई सभामुख भनिन्छ । विगत ५ –१० बर्षका हाम्रा आचरण हेर्दा खेरी बरु हामीले आफूलाई प्रश्न गर्नुपरेको छ – हामी सभ्य कहलाउने मान्छे हौँ ? तोडफोड झै झगडा भ्रष्टाचारमा हामी डुबेका छौँ । हैन भने गाउँको साधारण मान्छेमा के कमि छ ऊ सभ्य भएन ? छिमेकी प्रति दयालु छैन ? एक अर्काको दुःखदर्दमा पग्लेको छैन ? माथिल्लो तल्लामा बस्ने, तल्लो तल्लालाई नचिन्ने, तल्लो तल्लाका मान्छे मलामी जाँदा हाँसेर भोज खाएर बस्ने यो चाँही सभ्य हो ? 

म आधारभूत कुरा भन्दैछु – विकासको जुन मोडल छ, आजको धारणा छ म विनम्रता पूर्वक भन्दैछु – यस बजेटका आधारभूत धारणा नै गलत छ, असभ्य छ, बर्बर छ, पाशविक छ ।

हिजो सत्ता पक्षका प्रमुख सचेतकले अमेरिकाले ल्याउँदै गरेको नीतिको हल्का संकेत दिनु भएको थियो । हामी त्यति पतन भईसकेका छौं की हामी त्यसका बारे कुरा गर्न पनि तयार छैनौं । यस बर्बर सभ्यताका विरुद्धमा हामीले कतिपय प्रगतीशील कदम, जनमुखि कदम यस बजेटमा ल्याउने कोशिस गरेका छौं । यसका लागि अनेक मित्रले खास गरी सत्तापक्षका सिमत्रले अर्थमनत्रीलाई बधाई पनि दिए । 

अर्थमन्त्रीलाई एउटै कुरा भन्न चाहन्छु– एउटा विशाल खाल्डो दुई फड्कोमा पार गरिँदैन । पार गर्न खोजे भास्सिन्छ । त्यसैले पहिले पनि भनेको थिएँ विचार स्पष्ट गर्नुस्, आफ्नो विचार स्पष्ट गर्नुस्, आफू सम्वद्ध रहेका पार्टीको विचार स्पष्ट गराउनुस्, आफ्ना नेताको विचार स्पष्ट गराउनुस् । विचार के हो ?

कति आयु छ रे वर्तमान प्रधानमन्त्रीको ? प्रधानमन्त्रीका अनुसार ठट्यौला हिसाबले पाँच दिन । अर्का आकांक्षीका अनुसार १५ महिना । अर्का आकांक्षीका अनुसार पाँच वर्ष । यस देशमा नीतिका बारे छलफलै हुँदैन, नेताका बारेमा मात्र छलफल हुन्छ । नेता कहिले बिरामी भयो, कहिले खकार्यो ? कति दिन प्रधानमन्त्री बन्छ ! कति प्रधानमन्त्री हेर्ने ? अरु २, ४ वटा हेरौँला । मुख्य कुरा यस देशलाई चाहिएको तथाकथित समाजवादी नीति भनेको के हो ? म यसका लेखक यसका प्रस्तावकलाई बिन्ति गर्न चाहन्छु, या त शहरका ठाउँमा गाउँ लेख्नुस्, या समाजवाद उन्मुख लेख्ने पाखण्ड नगर्नुस् । हामी जता गइरहे पनि समाजवाद तर्फ गइरहेका छैनौँ । समाजवाद भनेको महको टपिङ हैन । समाजवाद भनेको मूलतः अर्कै दृष्टिकोण हो । जीवनका प्रति अर्कै दृष्टिकोण । सबै मनुष्य मनुष्य हुन् भन्ने मान्यता ।

मैले यो कुनै मौलिक कुरा गरेको छैन । अघि भारतका राष्ट्रपतिको कुरा गरें । मैले आफूले समाजवाद सिकेको आफूलाई समाजवादी भन्ने दुई जना मान्छेबाट । एउटा विपी कोइरालाबाट, अर्को माओत्सेतुङ्बाट, विल्कुल अलग धारका देखिन्छन् । मैले गान्धिको नाम किन लिईन भने गान्धिले आफूलाई समाजवादी कहिल्यै पनि भनेनन् । विपीको रचनाका बारे म ढुक्क छु हामीलाई धेरै थाह छैन । तीनको थोर बहुत संकलन छन्, दुर्भाग्यवस बजारमा उपलब्ध पनि छैनन् । विपीका विचारमा कतिपय अन्र्तविरोध थिए, आखिर बर्षमा उहाँले बारम्बार भन्नु भएको थियो – विकास भनेको एक मानवीय प्रक्रिया हो । 

यो बजेटमा मानवीय प्रकृयाका कुरा छन् ? रोजगार दिने कुरा छ त्यसका लागि म बधाई दिन चाहन्छु । बजेटमा किसानलाई सहुलीयत दिने कुरा पनि छ ।

यहाँ साक्षर बनाउने कुरा पनि छ । यहाँ स्वास्थ्यलाई ठिक गर्ने कुरा पनि छ । मूल कुरो के छैन त ? यो अर्थशास्त्रीले गर्ने कुरा हो, अर्थमन्त्रीले गर्ने कुरा हो, बजेटले गर्ने कुरा हो । 

स्कुलमा जुन शिक्षक जाँदै जाँदैनन्, स्कुलमा हाजिरी गर्छन् आफ्ना बच्चालाई अन्तै पढाउँछन् । ट्विन्कल ट्विन्कल लिटिल स्टारमा, त्यो यस बजेटले दूर गर्न सक्छ ? स्वास्थ्य कर्मचारीलाई तपाईले हाजिर गराउन सक्नु हुन्छ ? कृषि अनुदानमा विचौलियाले जो खान्छन् त्यसको जवाफ तपाईसँग छ ? 

त्यसैले विनम्रतापूर्वक अर्थ मन्त्रीलाई सभामुखका माध्यमबाट भन्न चाहन्छु, यो काम अर्थ मन्त्रीको वसको छैन । नयाँ चिन्तन ल्याउनुस् ,समाजवाद भनेको नयाँ सभ्यता हो, दुई चार हजार रुपैयाँ बढाउने र घटाउने हैन । त्यसैले दुई वटा अनुरोध छ – एउटा या त  यो पुस्तकबाट समाजवादको नाम हटाईदिनुस् म खुसी हुने छु, या शहरका ठाउँमा गाउँ राखिदिनुस् झन् धन्यवाद भन्ने छु ।   

प्रतिक्रिया