Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

खुला आकासमुनि हुरीपीडित विद्यार्थी

आइतबार, १९ जेठ २०७६

काठमाडौं १९ जेठ / बाराको फेटा गाउँपालिकाको पुरैनियास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थी खुला अकासमुनि पढ्न बाध्य छन्। चैत १७ गते विनाशकारी हुरीले विद्यालयको भवनमा क्षति पु¥याएकाले बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थी बािहिर पढ्न बाध्य भएका हुन्। विद्यालयका प्रधानाध्यापक मनोजकुमार साहले सयभन्दा बढी विद्यार्थीले दुई महिनादेखि बाहिर चौरमै बसेर पढिरहेको जानकारी दिए। भवन अभावमा सबै विद्यार्थीलाई एकै स्थानमा राखेर पढाउनुपरेको उनले सुनाए।

खुला आकासमुनि बस्ने विद्यार्थीलाई ९ बजे टिफिनको समयसम्म मात्रै पढाउने गरेको साहले बताए। ‘बिहानैदेखि ९ बजेसम्म घामको प्रभाव कम हुन्छ,’ साहले भने, ‘९ बजेपछि घामको प्रभाव बढ्दै जाँदा विद्यार्थीलाई छुट्टी दिने गरिएको छ।’ तत्कालीन शिक्षा कार्यालय बाराले दुईवटा सेडमा चारवटा कोठा निर्माण गरिदिएको उनले जानकारी गराए। निर्माण गरिएको एउटा सेडमा रहेका दुईवटा कक्षाकोठाका छाना र पर्खालका केही भाग हुरीले भत्काउँदा त्यसमा साना बालबालिकालाई बसाएर पढाउन नसकिने अवस्था रहको उनको भनाइ छ।

अर्को सेडका दुईवटा कोठामध्ये एउटा कोठाको छानो हुरीले उडाएको र बाँकी एउटा कोठामा हुरीपीडितका लागि घर निर्माण गर्न आएका सेना बस्ने गरेकाले विद्यार्थी पढाउने कोठाको अभाव भएको उनले जानकारी दिए।

२०४७ सालमा स्थापित विद्यालय जीर्ण हुँदा विद्यालयमा डेक्स, बेन्च र कालोपाटीबिनै भुइँमा बोरा ओछ्याएर विद्यार्थीले पढ्ने गरेका छन्। पानी पर्न थालेपछि छुट्टी दिइने भएकाले पढाइमा बाधा हुने गरेको विद्यार्थीहरूको भनाइ छ। कक्षा ३ मा अध्ययनरत छात्रा सविना खातुनले हुरी आएपछि विद्यालयमा राम्रोसँग पढाइ हुन नसकेको गुनासो गरिन्। बाहिर बसेर पढ्दा धेरै हल्ला हुने र राम्रोसँग पढ्न नसकिने अवस्था रहेको उनले बताइन्। फेटा गाउँपालिका–७ पुरैनियाका अध्यक्ष जाकिर हुसेन मियाँले हुरीबाट क्षति भएको विद्यालय भवन निर्माणका लागि सम्बन्धित निकायलाई ताकेता गरिसकेको तर्क गरे। क्षतिग्रस्त भवन निर्माणमा संघीय सरकारले वास्ता नगरेकाले वडा कार्यालयको बजेटबाटै निर्माण गर्ने सोच बनाइएको उनले जानकारी दिए। गत चैत १७ गते हुरीले क्षतिग्रस्त पुरैनियास्थित नेपाल राष्ट्रिय प्राविको जीर्ण भवन। भवन नबन्दा विद्यार्थीहरू चौरमा बसेर पढ्न बाध्य विद्यार्थी।

नागरिबका उपेन्द्र यादवले लेखेका छन् । 

प्रतिक्रिया