हेटौंडा - शिक्षाका कार्यक्रमका लागि आधा दर्जन भन्दा धेरै नारा सहित प्रदेश नम्बर तीनले आगामी बर्षको नीति तथा कार्यक्रम तय गरेको छ । २१० बुँदामा समेटिएको प्रदेशको नीति तथा कार्यक्रममा शिक्षाका विषय १० बुँदामा समेटिएका छन् । प्रदेश प्रमुख अनुराधा कोईरालाले संसदमा प्रस्तुत गरेको प्रदेश सरकारको नीति तथा कार्यक्रम शुक्रबार बहुमतले पारित भएको छ ।
शिक्षाका नीति तथा कार्यक्रम सञ्चालनका लागि विभिन्न नारा तय गरिएको छ । एक विद्यालय एक नर्स, शिक्षा स्वास्थ्यमा लगानी समृद्ध प्रदेशको विहानी, प्रदेश सरकारको इच्छा सम्पूर्ण बालबालिकालाई शिक्षा, गुणस्तर युक्त शैक्षिक पूर्वाधार प्रदेश समृद्धिको आधार कार्यक्रममा समेटिएका नारा हुन् । यस्तै निरक्षरता मुक्त प्रदेश तीन पूर्ण साक्षर भएको उज्यालो दिन, प्रदेश तीनको इच्छा छोरी बुहारीलाई उच्च शिक्षा, एक विद्यार्थी एक विरुवा रोपण जस्ता नारा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रदेश सरकारले बहु प्राविधिक महाविद्यालय सञ्चालन र रोजगार तथा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने पनि नीतिमा उल्लेख छ । आगामी आर्थिक बर्ष भित्र पूर्ण साक्षर घोषणा गर्ने र छात्रा शिक्षामा बढोत्तरी गर्न स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने छोरी बुहारीलाई छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने पनि कार्यक्रममा उल्लेख छ । यस्तै हिमाली पहाडी एवं विकट क्षेत्रका बालबालिकालाई विद्यालयमा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्ने पनि प्रदेशको शिक्षा नीति छ ।
गुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि विद्यालय तहका शिक्षकको क्षमता अभिवृद्धि गर्न शिक्षक व्यवस्थापन र तालिम सम्बन्धि प्रादेशिक मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाईने कार्यक्रममा उल्लेख छ । शिक्षक विद्यार्थी अनुपातमा देखिएको असन्तुलनलाई सम्बोधन गर्न विद्यालय तह मिलान, समायोजन एवं नक्सांकन गर्ने कार्यमा स्थानीय तहलाई आवश्यक सहजीकरण तथा प्रोत्साहन गर्ने पनि कार्यक्रममा उल्लेख छ । प्रदेश भित्र एकिकृत शैक्षिक सूचना प्रणालीको विकास गरिने, कक्षा १० को माध्यमिक शिक्षा परीक्षा व्यवस्थापनका लागि आवश्यक कानूनी र संस्थागत संरचनाको व्यवस्था गरिने कार्यक्रममा उल्लेख छ । दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न बहुप्राविधिक महाविद्यालय स्थापना गरिने, गुणस्तर युक्त शैक्षिक पूर्वाधार प्रदेश समृद्धिको आधार नारा पुरा गर्न प्राविधिक तथा साधारण शिक्षाको प्रणाली विकास गर्ने कार्यक्रम छ । संविधानले शिक्षालाई मौलिक हक अन्र्तगत राखेको सन्दर्भमा सबै बालबालिकालाई शिक्षा प्रदान गर्न स्थानीय तहलाई आवश्यक सहयोग पुर्याउन कार्यक्रम सञ्चालन गरिने कार्यक्रममा उल्लेख छ ।
बुँदा १६९ बाट शिक्षाका विषय सेटिएका प्रदेश तीनको नीति तथा कार्यक्रम पढ्नुहोस् :
प्रतिक्रिया