काठमाडौं १८ जेठ / धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरस्थित द्वारिका आधारभूत विद्यालयमा वैशाख १० गतेदेखि सुरु भएको दिवा खाजा वितरण कार्यक्रम दुई साता नपुग्दै बन्द भयो। सरकारले चालु आर्थिक वर्षको बाह्रै महिना पुग्नेगरी बजेट उपलब्ध गराए पनि विभिन्न बहाना बनाई खाजा वितरणमै ढिला गरियो। आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा खाजा वितरण त सुरु गरियो तर कमिसनमा कुरा नमिलेपछि तीन साता नपुग्दै बन्द गरिएको एक शिक्षकको आरोप छ।
‘एक त गत साउनेखि नै सुरु हुनुपर्ने खाजा वितरण कार्यक्रम अन्तिम तीन महिना मात्र बाँकी रहँदा विद्यालयमा आयो,’ द्वारिका आधारभूत विद्यालयका ती शिक्षकले भने, ‘नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र दलालबीच कमिसनको भागबन्डा नमिल्दा तीन साता नपुग्दै रोकियो।’ विद्यार्थीले खाजा नखाएको दिन पनि गन्ती गरेर बजेट निकासा गर्न खोज्ने र त्यस्तो गल्ती काममा साथ नदिने पक्षबीचको विवादले माथिबाट समयमै पठाइएको खाजा पनि बालबालिकाले उपभोग गर्न नपाएको ती शिक्षकले बताए।
प्रधानाध्यापक चन्दन द्विवेदीका अनुसार एक महिना पुग्ने खाजाबापतको रकम मात्रै नगरपालिकाले उपलब्ध गराएको थियो। अर्को महिनाका लागि पुनः निकासा माग्न विद्यालय व्यवस्थापन समितिको बैठक बसेर निर्णय हुन नसक्दा खाजा वितरण कार्यक्रम रोकिएको हो। नगर शिक्षा समितिका संयोजक एवं सबैला–१ का वडाध्यक्ष कपिल राउत वितरण सुरु भइसकेको खाजा कार्यक्रम बीचमै किन रोकियो भन्ने जानकारी आफूलाई नभएको भन्दै पन्छिए। नगरप्रमुख विजयशंकर प्रसाद साहले विगतमा जे भए पनि अब असार मसान्तसम्म पुग्ने गरी सबै विद्यालयमा खाजाको रकम पठाउन लागिएको बताए।
सबैला नगरपालिकाकै एक प्राथमिक विद्यालयका प्रधानाध्यापकका अनुसार विद्यालयले खाजा वितरण सुरु गरेको भन्दा कम्तीमा दुई महिना पहिलेदेखिको कागजात तयार गर्न नगर शिक्षा समितिले दबाब दिएको छ। खाता वितरण नभएको महिनाको रकम नगर प्रमुख, उपप्रमुख, नगर शिक्षा समितिका संयोजक, शिक्षा शाखा प्रमुख र सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले भागबन्डा गर्ने स्रोतको दाबी छ। यसैका लागि यस्तो दबाब आएको हो।
‘पाँच माविसहित २५ वटा सामुदायिक विद्यालय रहेको सबैला नगरपालिकाका लागि मात्रै अढाई करोडभन्दा बढी रकम खाजाका लागि आएको छ,’ स्थानीय एक शिक्षकले भने, ‘यति धेरै रकम फ्रिज हुनुभन्दा समयमै खाजा वितरण सुरु गरौं भनेर बारम्बार ताकेदा गर्दा नगरप्रमुखदेखि शाखा प्रमुखसम्मले ध्यान दिएनन्। अहिले विद्यार्थीलाई वितरण गरेभन्दा बढीको नक्कली कागजात तयार पार्ने तारतम्य मिलाएको सुनिएको छ।’
नगरपालिकामा पर्याप्त पैसा हुँदाहुँदै पनि द्वारिका आधारभूत विद्यालयमा दुई साता खाजा वितरण गरेपछि किन बन्द गरियो भन्ने जिज्ञासामा प्रअ द्विवेदीले भने, ‘यहाँ अनेक खेल हुन्छ। रित पु¥याएर नियमित रूपमा खाजा वितरण गरौं भन्ने प्रस्ताव नमानेर नगरपालिकाबाट केके कुराहरू आउन थाल्यो। ती कुरा आफैंले नबुझेपछि बरु खाजा बन्द होस्, आफैं फँस्ने काम गर्दिनँ भनेको हुँ।’ बालबालिकाको खाजाका लागि आएको रकममा कसले कति भागबण्डा खोजेको हो भन्नेबारे भने उनले प्रष्ट्याउन मानेनन्।
सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई दिवा खाजाका लागि बजेट पठाइएपछि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न जनप्रतिनिधिदेखि विभिन्न राजनीतिक दलसम्बद्ध नेता, कार्यकर्ताबीच तँछाडमछाड चलिरहेको छ। जनप्रतिनिधिले नगर कार्यपालिकाकै बैठकबाट सामुदायिक विद्यालयहरूको व्यवस्थापन समितिमा सम्बन्धित वडाध्यक्ष नै पदेन अध्यक्ष हुने निर्णय गरेको छ। विकास बजेट परिचालनमै अनेक अनियमितता गर्ने वडाध्यक्षहरू विद्यालय व्यवस्थापन समितिमा पनि छिरेपछि भ्रष्टाचार बढ्ने स्थानीयको आरोप छ। वडाध्यक्षहरूले भने कार्यपालिकाको निर्णय सर्वोपरी हुने दाबी गरिरहेका छन्।
जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयका प्रमुख बरखुप्रसाद रजकले आवश्यक जनशक्ति अभावमा आफूले चाहेर पनि विद्यालयहरूमा सुशासन व्यवस्थापनका लागि केही गर्न नसकिरहेको गुनासो गरे। ‘पहिला स्रोत व्यक्तिहरू हुँदा जिल्लाभरका विद्यालयको कमजोरीबारे समयमा जानकारी हुन्थ्यो। ती कमजोरी सच्याउन समन्वय तथा दबाबका लागि पनि साधन–स्रोत थियो,’ रजकले भने, ‘अहिले एकाइ प्रमुखको रूपमा मलाई जिम्मेबारी तोकिए पनि हात काटिएको छ। साधन–स्रोत र जनशक्ति सबै स्थानीय तहमातहत गएको छ। एक्लो टाउकोले केके हेर्नु ?’
एकाइ प्रमुख रजकका अनुसार सामुदायिक विद्यालयमा दिवा खाजा वितरणका लागि धनुषा जिल्लामा ५० करोडभन्दा बढी रकम आएको छ। त्यसमध्ये अधिकतर स्थानीय तहमा आधाभन्दा बढी बजेट फ्रिज हुने अवस्था पुगेको छ। करिब एक दर्जन विद्यालयमा अहिले पनि खाजा वितरण कार्य सुरु हुन सकेको छैन।
नागरिकमा सुरेश यादवले लेखेका छन् ।
प्रतिक्रिया