Edukhabar
सोमबार, ०७ असोज २०८१
विचार / विमर्श

स्वदेशको गौरव

शनिबार, २१ कार्तिक २०७२

- कालीप्रसाद रिजाल / सामाजिक विसंगति, आर्थिक असमानता जस्ता प्रवृत्तिलाई अँगिकार गरी सृजना गर्ने कवि हुन् । उनका कवितामा नेपाली समाजमा ब्याप्त विकृतिप्रति चासो राखेको पाइन्छ । राष्ट्रिय महत्वलाई सर्वोपरी राखेर सिर्जना गरिएको यो कवितामा देशको सार्वभौमिकता तथा स्वतन्त्रता देशबासीको रगत मासुसंग गाँसिएको उल्लेख छ । २०३६ सालमा प्रकाशित 'के छ र जिन्दगी विताईदिन्छु' बाट साभार यो कवितामा नागरिकमा देश प्रेमको भावना भएमा देश र सीमाना रक्षामा कुनै तोप र ट्रेन्चको आवश्यकता नपर्ने भावना ब्यक्त छ ।

देशको वर्तमान अवस्थामा अझै सान्दर्भिक हुने ठहर साथ रिजालको सोही कविता यो साताको शिक्षा साहित्यमा

चौकीहरुमा मात्र सीमाना सीमित हुँदैन
सीमाना त तिमीभरी पनि हुन्छ तिम्रो देशको
अतिक्रमण चौकीहरुबाट मात्र हुँदैन
चुलो र कोठाहरुबाट पनि हुन्छ अतिक्रमण

तिमी हामी बेचिइसकेपछि
देशले बेचिरहन पर्दैन
सार्वभौमिकता र देशको स्वतन्त्रता
नक्साका रेखाहरुभित्र होइन
त्यस देशका नागरिकका नसाहरु भित्र हुन्छ
चौकीहरुमा मात्र.....

सीमानाको रक्षा तोप र ट्रेन्चले मात्र होइन
कोदालो र कारखानाका चिम्निहरुले पनि गर्ने गर्दछन्
अरे ! सीमाना त चौकी र चेकपोष्टहरुमा मात्र होइन
दोकान र बजारमा पनि हुने गर्दछ
र, तिमी आफ्नै पसलमा उभिएर भन्न सक्दछौ

तिम्रो स्वतन्त्रता कति परतन्त्र छ भनेर
र, तिमी आफ्नै छाती छामेर भन्न सक्दछौ
तिम्रो स्वाधिनता कति पराधिन छ भनेर
चौकीहरुमा मात्र....

त्यसैले ए ! सगरमाथामा गर्व गर्ने हो !
तिमीले धान, मकै, र गहुँको सगरमाथा चुल्याउनुपर्छ
ए ! गुराँसलाई माया गर्ने हो !
गुराँस तिमीले एक करोड गालाहरुमा फुलाउनुपर्छ
हिमचुलीसित प्रीति गर्ने हो !
एक करोड ओठ भित्रका हिमश्रृखला तिमीले खुलाउनुपर्छ
तिम्रो पसीनामा नेपाल ढकमक्किन पर्छ
तिम्रो रगतमा नेपाल झाँगिन पर्छ ।

सवदेशको गौरव यी हो
कि तिमी स्वयँले नेपाल बन्नुपर्छ
अन्नपूर्ण जत्रो छाती भएको नेपाल
सगरमाथा जत्रो उच्च शिर भएको नेपाल
अँगालोभरी मेची र महाकली भएको नेपाल
काखभरी करोडौं नेपाली भएको नेपाल

परिश्रमी पौरखीहरुको देश नेपाल
शूर। वीर, पराक्रमीहरुको देश नेपाल
मिलनसार इमानीहरुको देश नेपाल
जनक र बुद्धहरुको देश नेपाल

प्रतिक्रिया