Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

स्थानीय पाठ्यक्रम निर्माण, पालिकालाई हस्तान्तरण

आइतबार, २९ बैशाख २०७६

ललितपुर - कक्षा १ देखि ५ सम्मका लागि सामाजिक विषय अन्तर्गत नवीकरणीय ऊर्जा सम्बन्धी विषयवस्तु समेटेर तयार पारिएको स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक महाँकाल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले तय गरेको २० प्रतिशत स्थानीय पाठ्यांशलाई पूरा गर्ने गरी विषय विज्ञहरुको सहयोगमा उक्त पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पारिएको हो ।  

२०७२ सालको भूकम्प र त्यस पछिको नाकाबन्दीका कारण ऊर्जा संकट भोगेको परिवेशमा नवीकरणीय ऊर्जा सम्बन्धी विषय वस्तुलाई विद्यालय शिक्षामा समेट्ने अवधारणा अनुसार उक्त कार्य गरेको स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक तर्जुमा उप समितिका संयोजक गोविन्द प्रसाद पराजुलीले बताए । 

ग्रामीण विद्युत् सहकारीको संयोजनमा भएको पाठ्यक्रम तथा पाठ्यपुस्तक हस्तान्तरण कार्यक्रममा पालिका प्रमुख रामचन्द्र दाहालले उक्त पाठ्यक्रमको अपनत्व गाउँ पालिकालले लिएको भन्दै प्रभावकारी कार्यान्वयनका लागि विद्यालय, वडा र शिक्षा शाखालाई निर्देशन समेत दिएका छन् । उक्त विषयमा विद्यार्थीले ज्ञान लिने कार्य थालनी भएको उल्लेख गर्दै उनले नयाँ पाठ्यक्रमका आधारमा उत्कृष्ट नतिजा निकाल्न शिक्षकको दक्षता जरुरी रहेको पनि बताए । अर्को वर्षदेखि निःशुल्क पाठ्यपुस्तक वितरणको जिम्मा गाउँपालिकाले लिने पनि उनको प्रतिवद्धता छ । 

पाठ्पुस्तक लेखक  सचितानन्द घिमिरेले नवीकरणीय ऊर्जा सम्बन्धी विषयवस्तुले स्थानीय पाठ्यक्रमको मर्मलाई उजागर गरेको दावी गरे । 

नवीकरणीय ऊर्जा सम्बन्धी स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक उपयोगी भएको भन्दै पालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्रमणि पुरीले यसको प्रभावकारीताका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । हस्तान्तरण कार्यक्रममा बोल्दै पाठ्यक्रम  प्रकाशन सहयोगी संस्था ग्रामीण प्रविधि केन्द्रका प्रमुख निर्देशक पुरुषोत्तम श्रेष्ठले स्थानीय पाठ्यक्रम लागू हुनुलाई ऐतिहासिक कार्यको थालनी भन्दै आवश्यकता महसुस भएमा अन्य पालिकाहरुमा पनि कार्य गर्न केन्द्रले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

पाठ्यक्रम विकास केन्द्रका खडोस सुनुवारले स्थानीय पाठ्यक्रमले स्थानीय क्षेत्रको आवश्यकतालाई समेटेको र यसमा रहेका विषयवस्तु समसामयिक रहेको बताए भने शैक्षिक गुणस्तर परीक्षण केन्द्रका देवीराम आचार्यले विद्यार्थीलाई जिज्ञासु बनाउने काममा शिक्षकले गर्ने मेहनतबाट मात्रै पाठ्यक्रमको सही कार्यान्वयन हुने उल्लेख गरे ।

कार्यक्रममा विद्यार्थीलाई पाठ्यपुस्तक दिईएको थियो ।  

पाठ्यक्रममा स्थानीय विषयवस्तु पठनपाठन गर्ने प्रावधान प्राथमिक शिक्षा पाठ्यक्रम  २०४९ मै भएपनि त्यसको कार्यान्वयन हुन सकेन । २०६२ को पाठ्यक्रमले सामाजिकमा २०, सिर्जनात्मक कलामा २०, शारीरिक शिक्षामा २० प्रतिशत अंश स्थानीय विषय वस्ुत पठन पाठन गर्ने भन्ने व्यवस्था गरे पनि अधिकांश विद्यालयले यसको कार्यान्वयन गरेका छैनन् । 

संविधानले विद्यालय शिक्षालाई स्थानीय सरकार मातहत गरेसँगै महाँकाल गाउँपालिकाले पाठ्यक्रमको २० प्रतिशत अंशको कार्यान्वयनका लागि नै पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयनमा लैजाने व्यवस्था शुरु गरेको हो ।  

 

प्रतिक्रिया