काठमाडौं २८ बैशाख / त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालन भइरहेकोे खुला तथा दूर शिक्षा केन्द्रले अपेक्षा अनुसार विद्यार्थी पाउन सकेको छैन । मानविकी र व्यवस्थापन संकायको स्नातकोत्तर तहलाई सेमेस्टर प्रणालीमा लगिएपछि भर्ना हुनबाट वञ्चित कामकाजी विद्यार्थीका लागि विकल्पको रूपमा २०७३ सालमा त्रिभुवन विश्वविद्यालयले खुला तथा दूर शिक्षा केन्द्र (ओडेक) स्थापना गरेको थियो ।
अहिले यस केन्द्रले स्नातकोत्तर तहको तेस्रो ब्याचलाई पढाइरहेको छ । तर तेस्रो ब्याचसम्म आइपुग्दा पनि विद्यार्थी आकर्षित गर्न सकेको छैन । भर्ना भएका विद्यार्थी टिकाउन समेत कठिन भएको केन्द्रले बताएको छ । ओडेकले अहिले जम्मा १६ जना विद्यार्थी अध्ययनरत छन् ।
सुरुको शैक्षिकसत्रमा शिक्षाशास्त्र संकाय अंग्रेजी सहित्यमा भर्ना लिई स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिएको थियो । त्यतिबेला तीनजना विद्यार्थी भर्ना गरेर अध्यापन सुरु गरिएको थियो । उनीहरूले अहिले सबै सेमेस्टरको परीक्षा दिइसकेका छन् । दोस्रो ब्याचमा नौजना विद्यार्थी भर्ना भएका थिए । तीमध्ये सबैले छोडेपछि अहिले अंग्रेजीमा एकजना मात्र तेस्रो सेमेस्टरमा अध्ययन गरिरहेका छन् ।
नयाँ ब्याचमा अंग्रेजीमा २० जना र गणितमा २१ जना विद्यार्थी भर्ना भएका थिए । तेस्रो ब्याचको तेस्रो सेमेस्टर चलिरहँदा अंग्रेजीमा आठजना र गणितमा आठजना विद्यार्थी गरी जम्मा १६ जना विद्यार्थीले दूर शिक्षा पढिरहेको ओडेकका निर्देशक गंगाराम गौतमले जानकारी दिनुभयो ।
थोरै संख्यामा भर्ना भएका विद्यार्थीलाई समेत टिकाउन गाह्रो भइरहेको उहाँको भनाइ छ । खुला तथा दूर शिक्षाबारे जनमानसमा रहेको भ्रमका कारण विद्यार्थीले बीचमै पढाइ छोड्ने गरेको उहाँले बताउनुभयो । खुला शिक्षा भन्नेबित्तिकै धेरैलाई पढ्दै नपढी परीक्षा दिन पाइन्छ भन्ने भ्रम रहेको छ । त्यस्ता विद्यार्थीले समयमा ‘असाइनमेन्ट’ बुझाउन नसक्दा र दूर कक्षामा सहभागी हुन नसक्दा कक्षा छुट्ने र छोड्ने प्रवृत्ति बढेको उहाँले बताउनुभयो ।
‘‘कतिपय विद्यार्थी भने ‘भर्चुअल क्लासरुम’को प्रविधिसँग अभ्यस्त नहुँदा समस्या भएको छ’’ विद्यार्थी नटिक्नुका कारणबारे गौतमले थप्नुभयो, “गाउँ गाउँमा रहेका विद्यार्थीलाई इन्टरनेटको असुविधाका कारण पनि पढाइमा बाधा परेको छ ।” कतिपय विद्यार्थीमा भने दूर शिक्षाको प्रमाणपत्रको मान्यताबारे शंका पनि देखिएको उहाँको भनाई छ ।
मीना थापा अहिले ओडेकमा स्नाकोत्तर तह अध्ययनरत हुनुहुन्छ । उहाँका अनुसार क्याम्पसको कक्षा कोठाभन्दा सहज छ, ‘भर्चुअल’ कक्षाकोठा । आफूले चाहेको समयमा पढ्न र लेख्न सकिने भएकोले यो कामकाजी विद्यार्थीका अति उपयुक्त शैक्षिक पद्धति रहेको उहाँको ठम्याइ छ ।
परम्परागत कक्षाकोठाको विकल्पका रूपमा आएको नयाँ प्रविधियुक्त खुला तथा दूर शिक्षामा विद्यार्थीको आकर्षण बढाउन अब भने नयाँ योजनासहित अगाडि बढ्ने केन्द्रले जनाएको छ ।
यसवर्ष अन्तिम पटक खुलाएको जनप्रशासन र राजनीतिशास्त्रको पढाइ अर्काे वर्षदेखि ओडेकले सञ्चालन गर्ने त्रिवि नेतृत्वले निर्णय गरिसकेको छ । ओडेकले कोरिया नेसनल ओपन युनिभर्सिटीसँग मिलेर नयाँ दूर शिक्षाका लागि शिक्षकको क्षमता अभिवृद्धि र पाठ्यक्रमको खाका निर्माण गर्नेबारे दुईवटा अनुसन्धान गर्ने त्रिभुवन विश्वविद्यालयका उपकूलपति तीर्थराज खनियाँले जानकारी दिनुभयो ।
भौगोलिक विकटताका कारण पढाइबाट विमुख हुनुपरेका विद्यार्थीलाई समेत प्रविधि उपयोग गरी पठनपाठन गराउन विश्वविद्यालयको दायित्व रहेको बताउँदै उहाँले खुला तथा दूर शिक्षाका लागि सहज पूर्वाधार विस्तार गर्दै लैजाने बताउनुभयो ।
पूर्वाधार अन्तर्गत नै कम ब्याण्डविथमा पनि काम गर्नेखालको मोबाइल एप्स विकास गर्न लागिएको ओडेकले जनाएको छ । प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत प्रदेश सरकार र त्रिविका आङ्गिक क्याम्पसहरूमा सूचना प्रणाली स्थापना गरिने निर्देशक गौतमले बताउनुभयो ।
कस्तो हुन्छ खुला कक्षा ?
गंगाराम गौतम, निर्देशक, खुला तथा दूर शिक्षा केन्द्र, त्रिवि
हामीले भर्चुअल प्लेटफर्म बनाएका छौँ । इन्टरनेटमा विद्युतीय सिकाइ व्यवस्थापन प्रणाली (मुडल) मार्फत विद्यार्थी र शिक्षकबीच अन्तरक्रिया गरिन्छ । शिक्षकले हप्ताभरि पढ्नुपर्ने विषय त्यहाँ अपलोड गर्छन् । त्यसलाई विद्यार्थीले डाउनलोड गरी चाहेको समयमा पढ्न पाउँछन् ।
शिक्षकले विद्यार्थीका लागि गृहकार्य पनि मुडलमै राखिन्छ । विद्यार्थीले निर्धारित समयमा गृहकार्य सकेर त्यही अपलोड गरेपछि शिक्षकले त्यही जाँच्छन् । कुन विद्यार्थीले कुन समयमा कति पटक मुडलको क्लासरुममा लगइन ग¥यो भन्ने निगरानी पनि त्यही गरिन्छ । धेरै समय लगइन नगर्ने विद्यार्थीलाई इमेल गरी सचेत र उत्प्रेरित गराइन्छ । यसकारण यो भौतिक कक्षा कोठाभन्दा सरल र सहज छ ।
गोरखापत्रमा शान्ति लामाले लेखेकी छन् ।
प्रतिक्रिया