Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

विद्यालयको काठ बेचेको अभियोगमा प्रअ र अध्यक्ष विरुद्ध मुद्दा

शुक्रबार, २७ बैशाख २०७६

काठमाडौं - दाङको गंगदी स्थित साधारण माध्यमिक विद्यालयलाई उच्च मावि बनाउने भन्दै विभिन्न सामुदायिक वन उपभोक्ता समितिले सहयोग गरेको काठ बेचेर रकम हिनामिना गरेको अभियोगमा प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । राजपुर र सतवरिया लगायत विभिन्न सामुदायिक वन उपभोक्ता समितिबाट विद्यालयलाई सहयोग स्वरूप प्राप्त काठहरू प्रअ पूर्णबहादुर चौधरी र अध्यक्ष भोगेन्द्रसिंह राजपुतले विक्री गरेको अख्तियारको दावी छ । 

वन उपभोक्ता समुहहरुबाट सहयोग स्वरूप प्राप्त भएको काठमध्ये १७९२.०१५ क्यू.फि. सालको काठ, ७१९ क्यू.फि. असना र विद्यालय परिसरमा रहेका आँप र सिसौका रूखहरू बिक्री गरी जम्मा भएको ११ लाख ४५ हजार ४ सय ९८ रुपैंया हिनामिना गेको अख्तियारको दावी छ । 

उनीहरुले उक्त रकम सहित विद्यार्थीका लागि प्राप्त छात्रवृत्ति र दिवा खाजाको रकम समेत हिनामिना गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो । उक्त उजुरी सम्बन्धमा अनुसन्धान हुँदा राजपुत र चौधरीले हिनामिना, हानी नोक्सानी गरी भ्रष्टाचारजन्य कार्य गरेको सप्रमाण पुष्टि हुन आएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुलाई सोही रकम बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

 

प्रतिक्रिया