Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

थुलुङ भाषाको पाठ्यपुस्तक तयार

विहीबार, २६ बैशाख २०७६

काठमाडौं २६ बैशाख / थुलुङ राई भाषाको कक्षा २ को पाठ्यपुस्तक तयार पारी सार्वजनिक गरिएको छ । थुलुङ राई संस्कृति प्रतिष्ठानको आयोजनामा सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिममा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईद्वारा सो पाठ्यपुस्तक सार्वजनिक गरिएको हो ।

अध्यक्ष राईले कक्षा २ सम्मको पठनपाठनका लागि कम्तीमा पनि तीनजना मातृभाषिक शिक्षकको व्यवस्थापन गर्ने बताए । थुलुङ भाषाको पठनपाठनले बालबालिकामा मातृभाषा सिकाइमा थप टेवा पुग्ने भएकाले माथिल्लो कक्षाको पाठ्यक्रम निर्माणमा पनि गाउँपालिकाले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । गाउँपालिकाले चालु आवको बजेटबाट सो पाठ्यक्रम निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राईले कक्षागत पाठ्यक्रम निर्माण गर्दै जाने लक्ष्य लिएको बताए । उनले मातृभाषा र संस्कृति समावेश गरिएको सो पाठ्यपुस्तक तयार पार्न व्यक्ति तथा संस्थाहरूले सहयोग गरेका र आगामी दिनमा पनि सो सहयोगलाई निरन्तरता दिन अनुरोध गरे । थुलुङ राई संस्कृति प्रतिष्ठानले कक्षा १ सम्मको पाठ्यपुस्तक तयार पारी थुलुङ राईहरूको बसोवास रहेको क्षेत्रका विद्यालयमा पठनपाठन सुरु गरिसकेको छ ।

नागरिकबाट 

प्रतिक्रिया