Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

विश्वविद्यालय र विद्यालयको जमिन सदुपयोग गरिने

मंगलबार, २४ बैशाख २०७६

काठमाडौं - विश्वविद्यालय र विद्यालयको जमिन सदुपयोग गर्न नयाँ नीति अख्तियार गरिने प्रधानमन्त्री केपी ओलीले बताएका छन् । आगामी बर्षको नीति तथा कार्यक्रम माथि संसदमा उठेको प्रश्नको उत्तर दिदैं ओलीले उक्त कुरा उल्लेख गरेका हुन् ।   

नीति तथा कार्यक्रम माथि छलफल गर्दै विपक्षी दलका सांसदहरुले विश्वविद्यालय र विद्यालयको जमिन सदुपयोग गर्ने नाममा सरकारले आँखा लगाएको शंका गरेका थिए ।  तर प्रधानमन्त्री ओलीले अनुपयोगी ढंगको जमिन सदुपयोग गर्ने भनेको हो लुकाएर कुरा नगरेको दावी गरे । 

'विश्वविद्यालय र विद्यालयको जमिनमा सरकारले आँखा लाएको हो की क्या हो भन्ने पनि मैले सुन्या छु,  सदुपयोग हुनु पर्छ' उनले भने 'सरकारले त्रिभुवन विश्वविद्यालयलाई बर्षेनी पैसा दिईराख्छ उसको जमिन भने चौर भएको छ, चाँहिदैन भने त्यसलाई सुदपयोग गर्नु पर्यो, ठिक ढंगले सदुपयोग गर्नु पर्यो । किमती जमिन लडिराख्या छ तर सदुपयोग भएको छैन । अनी हामी पैसा दिईराखेका छौं ।' 

बुढानिलकण्ठ स्कुल जस्ता धेरै जमिन भएका विद्यालय तर्फ संकेत गर्दै उनले त्यस्ता विद्यालयको जमिन पनि प्रयोग गरिने उल्लेख गरे । 

'एउटा जमाना थियो ५७० रोपनी काठमाडौंको जमिन एउटा विद्यालयलाई दिईन्थ्यो । अहिले सबै सार्वजनिक विद्यालयलाई ५७० रोपनी जमिन दिन सक्छौं ? त्यसको सदुपयोग हुनु पर्छ की पर्दैन ?' उनले भने '५७० रोपनी जमिन दिएको छ ५ – ६ करोड रुपैंया पनि दिएको छ, एउटा विद्यालयलाई सबैलाई त्यसैगरी दिन सकिन्छ की सकिदैंन ?'

अहिले ४ कक्षा पढेका विद्यार्थी हण्ट गर्न हिँड्नु पर्ने अवस्था नभएको भन्दै उनले उक्त कार्यक्रम ल्याईएको बताए । विभिन्न संघ संस्थाका नाममा रहेका जग्गा पनि सदुपयोग गर्ने उनले बताए । 

यसैगरी साक्षर नेपाल नारा मात्रै नभएको भन्दै उनले परिणामा हेर्न आग्रह पनि गरे । छात्राको ध्यान दिएर सेनिटरी प्याड र शौचालयको व्यवस्था गरेको भन्दै उनले महिलाको शिक्षा र सम्पत्तिको अधिकार सुनिशिचत गरिएको पनि बताए । 

युवालाई शिक्षा सीप विकास र तालिमबाट देश विकास गर्ने भन्दै उनले प्राथमिकताका क्षेत्र तोकेर रुपान्तरणकारी योजना बनाएको पनि दावी गरे ।  

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द जानी बुझी राखिएको बताएका छन् । प्रधानमन्त्री ओलीले संविधान संशोधनको माग जुनसुकै मौसममा गाउने गीत जस्तो नभएको भन्दै संविधान संशोधनको माग गरेको राजपालाई उत्तर दिएका छन् । 

प्रतिक्रिया