काठमाडौं २३ बैशाख / बुटबलकी मनीषा विक पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययन गर्न गतसाता पोखरा विश्वविद्यालय आइन् । केन्द्रीय क्याम्पसकै आडमा रहेको निजी होस्टलमा बस्ने निधो गरिन् । आमासँगै आएकी उनलाई होस्टेल सञ्चालक जमुना सापकोटाले पूरा नाम सोधिन् । नाम-थर सुनेपछि उनी अक्मकिइन् ।
श्रीमान् विजय सापकोटासँग सल्लाह गर्नुपर्ने भन्दै पन्छिन खोजिन् । केही बेरपछि जमुनाले 'होस्टेलमा एक जनालाई मात्रै छुट्टै खाना पकाउन नसक्ने' भएकाले नराख्ने बताइन् । आफूलाई दलित भएकैले होस्टेलमा भर्ना नगरिएपछि मनीषा प्रहरीकामा पुगिन् । उनकी साथी ज्योति सुनारले जमुनाविरुद्ध उजुरी दिइन् ।
वैशाख १५ मा प्रहरीले जमुनालाई पक्रेर थुनामा राख्यो । उनलाई छुटाउन समाजसेवीदेखि जनप्रतिनिधिसम्म जिल्ला प्रहरी पुगे । दबाब थेग्न नसकेपछि ज्योतिले उजुरी फिर्ता लिइन् । 'प्रहरीले जाहेरी नै नगरी मिलाउनतिर लाग्यो,' उनले भनिन्, 'सबैको अगाडि गल्ती स्विकारेपछि एकरात राखेर उजुरी फिर्ता लिएका हौं ।' मनीषा पोखरा-३० ढुंगेपाटनमा विश्वविद्यालय नजिकै कोठा भाडामा लिएर बसिन् ।
म्याग्दीको धवलागिरि गाउँपालिका-४ भेडीखाल्टामा रहेको जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मामाथि व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पुर्जा मगरको घरमा कुटपिट भयो । वैशाख ५ मा विद्यालय सञ्चालनका विषयमा स्थानीय अगुवासँग छलफल थियो, पार्वतीको घरमा ।
दलित भएर मगरको घरभित्र पसेको भन्दै स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जाली कुटपिटमा उत्रिए । कुटपिटबाट उनको देबे्र खुट्टाको दुई औंला र पैताला जोड्ने हड्डी भाँचियो । पोखराको मणिपाल अस्पतालमा उपचार गराए ।
दुवै आरोपीविरुद्ध उनले वैशाख ७ मा किटानी जाहेरी दिए । जिल्ला प्रहरी म्याग्दीले वैशाख १५ मा मात्रै जाहेरी दर्ता गर्यो । बलबहादुर र जितेन्द्रविरुद्ध जिल्ला अदालतमा जातीय छुवाछूतको मुद्दा दर्ता भयो । प्रहरीले आरोपीलाई पक्रन सकेको
छैन । पक्राउ पुर्जी जारी गरेर प्रहरी खटाइसकेकोले एक-दुई दिनभित्रै पक्राउ पर्ने बताउँछन्, प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनी ।
विद्यालय भर्ना अभियान सुरु हुँदै थियो । स्याङ्जा कालीगण्डकी गाउँपालिका जैपतेका जुम्ल्याहा विद्यार्थी सप्रेया र सुपि्रया परियार भर्ना हुन मानेनन् । कारण बुझ्दा पत्ता लाग्यो, उनीहरूमाथि भएको जातीय विभेद । तीन महिनाअघि वीरेन्द्र माध्यमिक विद्यालयमा कक्षा ४ मा पढ्ने विद्यार्थी बेलटारीमा वनभोज गएका थिए । सप्रेयाले पानी भर्न खोजिन् ।
उनका साथी अपेक्षा र साधनाले पानी थाप्ने भाँडा छुन दिएनन् । आफूलाई ग्यालिन बोक्न नदिइनुको कारण सोध्दा ती साथीले शिक्षिका मनीषा न्यौपानेतिर औंला सोझ्याए । तीन महिनापछि सप्रेया र सुपि्रयाले आफूमाथि भेदभाव भएको कुरा आमा ज्योति परियारलाईर् सुनाए । आमाले विद्यालयका प्रधानाध्यापक ठगवीर रानालाई घटनाको बेलिविस्तार लगाइन् । 'विद्यालयबाट घटना लुकाउन दबाब आयो,' उनले कान्तिपुरसँग भनिन्, 'विद्यालयमै छुवाछूत भएपछि हामी तनावमा छौं ।' प्राध्यापक राना विद्यार्थीको घरमै गएर भर्ना गर्न आग्रह गरेको र शिक्षिका न्यौपानेलाई सम्झाएको बताउँछन् ।
मनीषाले अञ्जानमा गल्ती गरेको स्विकार्दै माफी मागिन् । दुई विद्यार्थी बल्ल कक्षा ५ मा भर्ना भए । वैशाखभित्रै गण्डकी प्रदेशका जिल्लामा भएका यी तीन घटना शिक्षा क्षेत्रसँग सम्बन्धित छन् । सार्वजनिक भएका यी प्रतिनिधि घटना मात्रै हुन् ।
शैक्षिक स्थलमा विभेदका घटना हुनुमा नेपालको शिक्षा प्रणालीमै खोट देख्छन्, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य रहेका उनी शिक्षाले सूचना सिकाए पनि संस्कृति र आचरण नसिकाएको बताउँछन् । 'नेपालको शिक्षा सूचना मात्रै पढाउने खालको भयो तर चरित्र बदल्ने खालको भएन,' उनी भन्छन्, 'यसले सुसूचित गर्न सक्छ तर सुसंस्कृत बनाउँदैन ।'
मुलुकमा राजनीतिक परिवर्तन भए पनि सांस्कृतिक र चारित्रिक अवस्था पुरानै रहेकाले शैक्षिक स्थलमा जातीय विभेदका घटना भइरहेको उनको तर्क छ । 'समाजको बनोट अझै विभेदकारी छ,' उनी थप्छन्, 'व्यवस्था बदलियो, नेता र कार्यकर्ता बदलिएनन् ।' राज्यले चाहिँदो मात्रामा दण्ड नगर्दा पनि जातीय विभेदका घटनामा कमी नभएको उनी सुनाउँछन् । 'केही शिक्षक त्यस्ता छन् जो अझै दलितलाई सँगै बस्न दिँदैनन्,' उनी भन्छन्, 'सांस्कृतिक आन्दोलन गतिलोसँग नहुनुको परिणाम हो यो । शिक्षित मान्छे सुसंस्कृत पनि हुनुपर्यो ।'
अधिकारकर्मी रूप सुनार शिक्षकको मानसिकतामै समस्या देख्छन् । 'जातीय विभेद सामान्य घटना हो भन्ने मानसिकता बढिरहेको छ,' उनी भन्छन्, 'मुख्य समस्या नियतकै हो ।' जातीय विभेदलाई अपराध नै करार गर्दा पनि शैक्षिक स्थलमा छुवाछूत हुनुको कारण उनी कमजोर विद्यालय प्रशासनलाई मान्छन् । भन्छन्, 'एक जनामात्रै दलित शिक्षक भएका विद्यालयमा पनि विभेदका घटना भएको पाइँदैन । अहिले यो व्यवस्था पनि लागू हुन सकेको छैन ।'
कान्तिपुरमा दीपक परियारले लेखेका छन् ।
प्रतिक्रिया