Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

विद्यालय र स्थानीयबीच विवाद : भवन निर्माणमा आएको सहयोग गुम्ने खतरा

आइतबार, २२ बैशाख २०७६

काठमाडौं २२ बैशाख / स्थानीयको अवरोधका कारण ललितपुरको लगनखेलस्थित नमूना मच्छिन्द्र माध्यमिक विद्यालयले निर्माण गर्न लागेको भवनका लागि जपानी सहयोग नियोग (जाइका)ले निकासा गरेको रकम फिर्ता जाने अवस्था सिर्जना भएको छ ।

स्थानीय बासिन्दाले २०२३ सालमा बनेको भवनले सप्तपाताल पोखरी मिचेकोले त्यस स्थानमा भवन निर्माण गर्न नदिने अडान राखेका छन् । विद्यालयले सप्तपाताल पोखरी रहेको स्थानमा कुनै संरचना निर्माण गर्न नलागेको प्रष्ट गर्दै आएको छ । विद्यालय र स्थानीय बासिन्दाको विवादका कारण जापानी सहयोग नियोग जाइकाले गर्ने भनेको १८ करोड ५९ रुपियाँको लगानी गुम्ने खतरा बढेको छ ।

वि.सं. २०७२ को भूकम्पपछि क्षतिग्रस्त सो विद्यालयका लागि नयाँ भवन निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)ले जाइकासँग आग्रह गरेको थियो । सोही आधारमा जाइकाले ठूलो लगानी गरी साँच्चिकै नमूना विद्यालय निर्माण गरिदिने योजना अगाडि बढाउँदै सोही अनुरुप नक्सा पास गरिएको थियो । 

इकाइका प्रमुख इमनारायण श्रेष्ठले ललितपुर महानगरपालिकासँग नमूना मच्छिन्द्र माविको पश्चिमतर्फ रहेको जग्गासँग नयाँ भवन निर्माण गर्न लागिएको स्थानको जग्गा साटफेर गर्न आग्रह गरिने बताउँदै भन्नुभयो, “महानगरपालिकाले जग्गा साटफेर गर्न स्वीकार गरे भवन निर्माण गरिदिनेछौँ । अन्यथा विवादमा हामी फस्न चाहदैनौँ । यो महिनासम्म विवाद सल्टिएन भने जाइकाले दिने रकम फिर्ता जानेछ ।”

नापी कार्यालयले उपलब्ध गराउने गरेको नक्सामा सप्तपाताल पोखरी भएको स्थानमा केही पनि उल्लेख गरेको छैन तर नजिकै रहेको नेपाली सेनाले चर्चिएको पोखरी भएको स्थानमा नापी नक्सामा पोखरी नै भनेर उल्लेख छ । २०२३ सालमा तत्कालीन नगर पञ्चायतको सहयोगमा सप्तपाताल पोखरीको आडमै नमूना मच्छिन्द्र आवासीय विद्यालयका लागि भवन निर्माण गरिएको थियो । विगतमा एकै नामबाट आवासीय र साधारण विद्यालय सञ्चालन भए पनि हाल एउटै बनाइएको छ ।

सप्तपाताल पोखरी पुनःनिर्माण उपभोक्ता समितिका कोषाध्यक्ष पूर्ण चित्रकारले २०२३ सालमा तत्कालीन टोलवासीले वास्ता नगर्दा सप्तपाताल पोखरी मिचेर विद्यालयका लागि भवन निर्माण गरिएको दाबी गर्दै त्यस स्थानमा विद्यालय भवन निर्माण गर्न नदिने अडान व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक राधाकृष्ण महतले सप्तपाताल पोखरीसँग जोडिएर विगतमा बनाइएका टहरालाई नभत्काइ त्योभन्दा निकै वर भवन निर्माण गर्न लागिएको बताउँदै भन्नुभयो, “स्थानीय बासिन्दालाई सप्तपाताल पोखरीको पुनःनिर्माण गर्न विद्यालयले पनि सहयोग गर्छ भनेर प्रतिवद्धता व्यक्त गरिसकेका छौँ । पोखरी भएको स्थानमा कुनै पनि संरचना निर्माण गर्दैनौँ र त्यसअनुसार नक्सा पास भएको पनि छैन ।”
विवाद बढ्दै गएपछि ललितपुर महानगरपािलकाले दुवै पक्षलाई वार्तामा पालैपालो डाकेर सहमति गराउन थालेको छ । महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत अन्तरबहादुर सिलवालले सकारात्मक पहल थालिएको बताउँदै भन्नुभयो, “विवाद हुनुहुँदैन । दुवै पक्षलाई सहमतिमा ल्याउने काम गरिरहेका छौँ । नमूना विद्यालय बनाउन आएको रकम गुम्नु हुँदैन भन्ने पक्षमा छौँ ।” 

जाइकासँगको सहमतिमा गत पुसको अन्तिम साताबाट काम थालिसक्नुपर्ने थियो र आगामी २०७७ साल पुस अन्तिमसम्ममा हस्तान्तरण गर्ने सम्झौता छ । एउटा भवन साढे चार तलाको ३६ कोठे र अर्काे नौ कोठाको भवन हुनेछ ।

नमुना मच्छिन्द्र मावि र स्थानीयबीच विवाद भवन निर्माणमा आएको सहयोग गुम्ने खतरा शिर्षकमा गोरखापत्रमा प्रकृति अधिकारीले लेखेका छन् । 

प्रतिक्रिया