भक्तपुर - कर्मचारी समायोजनमा अन्याय भएको भन्दै रुष्ट कर्मचारीलाई शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले परिवर्तनको 'वनरसीप' लिएर अघि बढ्न सुझाव दिएका छन् । नेपाल निजामती कर्मचारी संगठन स्थापनाको २९ औं वर्षका अवसरमा शिक्षा विभागीय कार्य समितिले गरेको कार्यक्रममा मन्त्री अघि बोलेका कर्मचारीका नेताहरुले राजनीतिक परिवर्तनमा आफूहरुको पनि उत्तिकै सहभागिता भएकोले नविर्सन चेतावनी दिएको प्रसंगमा मन्त्री पोखरेलले उक्त सुझाव दिएका हुन् ।
कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन केन्द्रिय समितिका अध्यक्ष पुण्यप्रसाद ढकालले राजनीतिक परिवर्तनका आन्दोलनमा दल र नेताहरुले आफूहरुको 'दौराको फेर' समातेको कुरा नविर्सन चेतावनी दिएका थिए ।
'चलाउन जान्दा मौरीले मह दिन्छ, जिस्क्याउन थालियो भने मौरि संग खिल पनि हुन्छ' कर्मचारी प्रति राज्यले गरेको व्यवहार चित्त नबुझेको भन्दै प्रश्नको शैलीमा ढकालले भने, 'नीति निर्माण तहमा बस्ने मन्त्री, सचिव र सहसचिव अनी बदनाम गर्ने कर्मचारी ट्रेड यूनियनको ?'
व्यस्त छु भन्दै शुरुमै बोलेर हिँडेका ढकालको उक्त भनाई प्रति आफ्नो भाषणका क्रममा शिक्षा मन्त्रीले सम्बोधन गरेका हुन् ।
'अघि कर्मचारीका नेताले दौराको फेर समातेको कुरा उल्लेख गर्नु भयो, यो परिवर्तन अरु कसैका लागि थियो र ? उहाँको लागि पनि त होला' उनले भने 'परिवर्तनको वनरसीप तपाईहरुले किन नलिएको ?'
कर्मचारीका सवालमा कुरा गर्नु पर्ने मुद्धा धेरै भएको बताउँदै मन्त्री पोखरेलले आजका मुद्धा आजकै रुपमा हल गर्नु आवश्यक भएको पनि उल्लेख गरे । प्रणाली सफल बनाउने नबनाउने भन्ने कुरा कर्मचारी प्रशासनको हातमा रहेको उल्लेख गर्दै उनले परिवर्तनका कारण आएको पीडालाई व्यक्ति प्रति लक्षित रुपमा नबुझि देशका लागि हो भन्ने कोणबाट हेर्न पनि आग्रह गरे ।
'धेरै मुद्धा छन् तपाईहरुसँग छलफल गर्नु पर्ने तर आज यो खुसीयालीको दिनमा उत्सवको दिनमा म त्यता प्रवेश गर्न चाहन्न' उनले भने 'ट्रेड यूनियन भन्दा पनि मुख्य कुरा शिक्षा मौलिक हक हो, पहिलो मुद्धा यस तर्फ केन्द्रित गर्नु होला ।'
नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्य समितिका अध्यक्ष केदारप्रसाद देवकोटाले एक तहबाट अर्को तहमा सरुवा हुन नपाउने गरी भएको व्यवस्थाका कारण अन्याय भएको भन्दै यसलाई तुरुन्तै सच्याउन माग गरे ।
'हामीले राजनीतिक परिवर्तन स्विकारेकै हो तर स्थानीय तहमा गएको कर्मचारी संघमा फर्कनै नपाउने गरी ब्लक गर्ने व्यवस्था घातक भयो' उनले भने, 'कुनै निश्चित अवधि तोकेर सरुवा हुन सक्ने प्रावधान आवश्यक छ, संसदमा पुगेको निजामती ऐनमा स.शोधन हुने क्रममा मन्त्री जीले हेक्का राखिदिनु होला ।'
कर्मचारकिा नेताहरु आआफ्नो भाषण सकेर निस्केका थिए ।
कार्यक्रममा शिक्षा सचिव खगराज बरालले कर्मचारी समायोजन ऐनको विषय मन्त्रालयको भन्दा पनि संसदको क्षेत्रको कुरा भएको उल्लेख गर्दै आफ्नो भूमिका कार्यान्वयन गर्ने मात्रै भएको बताए ।
समायोजनका बारेमा असहमती सहित प्राप्त निवेदन संघीय मन्त्रालयमा पठाईदिएको बताउँदै उनले कर्मचारी समायोजनमा भएको नयाँ निर्णयका बारेमा जानकारी दिए ।
'स्थानीयबाट स्थानीय, प्रदेशबाट प्रदेश र संघबाट संघमा सरुवा हुने गरी निर्णय भएको जानकारीमा आएको छ' उनले भने, 'कुनै कर्मचारी विरामी छ भने मेडिकल बोर्डबाट प्रमाणित गरेको आधारमा संघकै पुल दरबन्दीमा राख्ने र श्रीमान श्रीमतीलाई एकैठाउँमा राख्ने गरी व्यवस्था भएको जानकारीमा आएको छ ।'
कार्यक्रममा शिक्षा सेवाबाट सचिव भएका बराल र महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई सम्मान गरिएको थियो । शिक्षा सेवाबाटै सचिव भएका देवकुमारी गुरागाई र हालै निवृत्त भएका लक्ष्मीराम पौडेल पनि ै सम्मानको सूचीमा थिए । तर उनीहरु कार्यव्यस्तताले आउन नसकेको शिक्षा विभागीय कार्य समितिका अध्यक्ष शिवराज पोखरेलले जानकारी गराए ।
कार्यक्रममा ६ लाख पाँच हजारको अक्षय कोष निर्माण गरेको घोषणा पनि गरिएको थियो । उक्त अक्षय कोषबाट शैक्षिक उन्नयनका क्षेत्रमा काम गर्ने बताईएको छ ।
यस्तै कार्यक्रममा समितिले मनोहरा भक्तपुर स्थित सरस्वती आधारभूत विद्यालयमा पढ्ने ४ जना विद्यार्थीको अभिभावकत्व लिएको घोषणा पनि गरियो । गतबर्ष नै अभिभावकत्व लिएका समिक्षा दर्जी, प्रविण दर्जि र सञ्जय राई सहित यो वर्ष अभिावकत्व लिएका प्रिया लामा लाई झोला लगायतका स्टेशनरी सामान हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा शिक्षा सहित अन्य क्षेत्रको जानकारी भएको हाम्रो सम्पर्क डायरीको लोकार्पण पनि गरिएको थियो ।
शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल, समितिकी उपाध्यक्ष भिमा कोइराला लगनयतले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया