भक्तपुर - आफ्नै छोरी समेत संलग्न हुने परीक्षाको प्रश्नपत्र निर्माण लगायतका प्रकृयामा सहभागि भए पछि विवादमा तानिएका राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माको जिम्मेवारी खोसिएको छ । आईतबार देखि शुरु कक्षा १२ को परीक्षाको प्रश्नपत्र निर्माण लगायतका प्रकृयामा भएको उनको संलग्नता माथि विज्ञहरुले नैतिक प्रश्न उठाएको खबर गत शुक्रबार एडुखबरमा प्रकाशित भए पछि उनको जिम्मेवारी खोसिएको हो ।
आफ्नै छोरी सहभागी हुने परीक्षाको प्रश्नपत्र निर्माणमा भएको उनको संलग्नतालाई विज्ञहरुले पदीय दुरुपयोग र नैतिक प्रश्नका रुपमा हेर्नु पर्ने बताएका थिए ।
मन्त्रीको निर्देशन लगत्तै परीक्षाको मर्यादामा प्रश्न : परीक्षा दिने छोरी, प्रश्न बनाउने बाबु !
खबर सार्वजनिक भए पछि सोधपुछ गर्दा शर्मा आफैंले जिम्मेवारीबाट अलग हुन चाहेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । यस अघि पौडेलले शर्माकी छोरी कक्षा १२ मा पढ्ने बारे आफूलाई थाह नभएको बताएका थिए ।
'मैले पहिल्यै ख्याल गर्नु पर्ने थियो गरिन कमजोरी भयो होला, तर कसको छोरा छोरी कति कति कक्षामा पढ्छन् भनेर सोध्ने कुरा पनि भएन' पौडेलले भने 'जब समाचार आयो अनी मैले बोलाएर सोधेँ, उहाँ आफैंले अलग हुन्छु भन्नु भयो, अलग हुन चाहेको लिखित रुपमा दिए पछि हामीले उहाँलाई कक्षा १२ को परीक्षाको बाँकी जिम्मेवारीबाट अलग गरेका हौं ।'
ललितपुरको एक नाम चलेको निजी विद्यालयमा अध्ययनरत उनकी छोरी आईतबारबाट शुरु भएको कक्षा १२ को परीक्षामा संलग्न छन् ।
अब, बोर्डको निमित्त नियन्त्रक कृष्णप्रसाद घिमिरेलाई तोकिएको छ ।
गत शुक्रबारकै मिति राखिएको पत्रमा उल्लेख 'कक्षा १२ को परीक्षाको लागि' भन्ने शब्दावलीले बोर्डको उक्त निर्णय झारा टार्ने रुपमा मात्रै आएको एक उच्च कर्मचारीले आरोप लगाए । परीक्षाको प्रश्नपत्र छपाई, केन्द्रहरुमा ढुवानी लगायतका काम सकिए पछि भएको उक्त निर्णय आफैंमा विवादमुक्त हुन नसक्ने ति कर्मचारीको तर्क छ ।
'समाचारले उब्जाएको नैतिक प्रश्न सामाना गर्न बोर्डका पदाधिकारीहरु असक्षम भएका छन्' ती कर्मचारीले भने, 'अहिले गरिएको निर्णय पनि न्यायोचित र प्रभावकारी भएन, भएका मध्ये जुनियरलाई जिम्मा दिईएको छ, त्यस माथि कक्षा १२ को परीक्षाको लागि मात्रै भन्ने शब्दावलीले यो काम शिक्षा मन्त्री र शिक्षा मन्त्रालयलाई छारो हाल्न मात्रै गरिएको पुष्टि हुन्छ ।'
यस अघि आधा दर्जन धेरै सिनियर कर्मचारीलाई छाडेर शर्मालाई नियन्त्रक बनाईए जस्तै यस पटक पनि सोही कार्य दोहोर्याईएको भन्दै ति कर्मचारीले आश्चर्य व्यक्त गरेका छन् । अहिले भएको उक्त निर्णयको बोधार्थ लेखा, स्टोर महाशाखा तथा देशका विभिन्न स्थानमा रहेका कार्यालयलाई नदिईनुले पनि उक्त निर्णय देखावटी मात्रै भएको ति कर्मचारकिो तर्क छ ।
प्रतिक्रिया