काठमाडौं १५ बैशाख / पढेर जागिर खाने, जागिरबाट अवकाश पाएपछि आराम गरेर जीवन बिताउने । धेरैको यही धोको हुन्छ । पूर्णानन्द जोशी भने फरक छन् । शिक्षण पेसाबाट अवकाश पाइसकेका र उमेरले ७० वर्ष टेकेका उनी अहिले बीएका विद्यार्थी हुन् ।
‘प्रमाणपत्र र जागिरका लागि मात्र होइन, पढाइ र सिकाइ जीवनभर चलिरहने प्रक्रिया हो,’ उनी भन्छन् ।
घर पुग्दा उनले पहिले एउटा कोठा देखाए जहाँ किताब, कापी यत्रतत्र छरिएका थिए । त्यसपछि अर्को कोठामा पुर्याए । त्यहाँ पूजा सामग्री तथा आध्यात्मिक र धार्मिक पुस्तकको चाङ थियो । उनी पढाइसँगै बचेको समय अध्यात्ममा खर्च गर्छन् । बोलाएका ठाउँमा पूजा गरिदिन जान्छन् । ‘पूजापाठ त अरू बेला मात्रै हो, परीक्षा नजिक आएको छ भने म केवल पढाइमा व्यस्त हुन्छु,’ उनले भने ।
बीए तेस्रो वर्षको परीक्षा दिएका उनी हरेक दिन बिहान कलेजमा क्लास लिन पुग्थे । अब बीए दोस्रो वर्षको अंग्रेजी विषय मात्रै पास गर्न बाँकी छ । ‘मेरो लक्ष्य नेपाली विषयमा डिग्री गर्नेछ,’ उनले भने । अल्लारे उमेरका सहपाठी कलेजमा उनलाई ‘बाजे’ भनेर जिस्क्याउँथे । ‘अहिले पनि साथीहरू भेट भए बाजे के छ खबर भन्छन्,’ उनले भने ।
यस्तो भन्दा उनी नराम्रो मान्दैनन् । बरु सबैलाई नातिनातिनाजस्ता मान्छन् । ‘नातिनातिना उमेरका विद्यार्थीसँगै कलेज पढ्न पाउँदा दंग हुन्थें,’ उनले भने । ८ वर्षको उमेर छँदा उनले पिता जगन्नाथ जोशीलाई गुमाएका थिए । १२ वर्षको उमेरमा आमा कमलादेवी पनि गुमाए । बाल्यकालमै टुहुरा बनेका उनलाई दाइहरूले डोटीको पदम पब्लिक हाइस्कुलमा भर्ना गरिदिए ।
‘एसएलसी उत्तीर्ण गरेपछि घरको आर्थिक अवस्थाले अगाडि पढ्न सकिएन,’ जोशीले भने । सुरुमा धनगढीको पञ्चोदय उच्च माविमा पढाए । केही समयपछि आफैंले स्थापना गरेको गोमती बाल विद्यामन्दिर स्कुलमा पढाउन थाले ।
०२९ सालमा उनले सरकारी नियुक्ति पाए । ०३३ सालदेखि डोटीको साबिक डौड गाविसस्थित कालिका प्राविमा ३५ वर्ष बिताए । त्यहीँबाट ०६८ मा अवकाश पाएपछि उनी फेरि तराई झरे ।
उनी ०६९ सालमा सुदूपश्चिमाञ्चल एकेडेमी धनगढीमा ११ कक्षामा भर्ना भए । कपाल फुलेर सेताम्य भएपछि कलेजका विद्यार्थी बनेका उनलाई आफू सर हुँदा विद्यार्थीलाई स्याबासी दिएको र आफूले सधैं गृहकार्य गर्दा सरले धन्यवाद दिएको झल्झली याद आउँछ ।‘म जहिल्यै गृहकार्य गरेर जान्थें, सरले गृहकार्य नगर्नेलाई मेरो उदाहरण दिँदा खुसी लाग्थ्यो,’ उनले भने, ‘म शिक्षक हुँदा पनि त्यही गर्थें, अहिले सबै कुरा मीठो याद बनेका छन् ।’
प्रशिक्षार्थी पत्रकार निर्मला खडायतले कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया