Edukhabar
शनिबार, ०८ मंसिर २०८१
खबर/फिचर

मन्त्रीको निर्देशन लगत्तै परीक्षाको मर्यादामा प्रश्न : परीक्षा दिने छोरी, प्रश्न बनाउने बाबु !

शुक्रबार, १३ बैशाख २०७६

भक्तपुर - आफ्नै छोरीले दिने परीक्षाको प्रश्नपत्र निर्माणको प्रकृयामा राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक संलग्न भएका छन् । आईतबारबाट शुरु हुने कक्षा १२ को परीक्षामा नियन्त्रक कृष्ण शर्माकी छोरी पनि सहभागी हुँदै छिन् । ललितपुरको नाम चलेको एक निजी कलेजमा अध्ययनरत आफ्नै छोरी सहभागी हुने परीक्षाको प्रश्नपत्र निर्माणमा भएको उनको संलग्नतालाई पदीय दुरुपयोग र नैतिक प्रश्नका रुपमा हेर्नु पर्ने विज्ञहरुको भनाई छ । परीक्षाको मर्यादा कायम राख्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले निर्देशन दिएको भोलिपल्टै परीक्षा प्रकृया माथि नैतिक प्रश्न खडा भएको छ ।

परीक्षा भनेको पास फेल मात्रै भन्दा पनि प्रमाणिकरणको विश्वशनीयतासंग जोडिएको पक्ष भएकाले यस विषयमा शिक्षा मन्त्रालय र परीक्षा बोर्ड गम्भिर हुनु पर्ने शिक्षाविद् प्रा.डा. मीनबहादुर विष्ट बताउँछन् ।  

'संसारका कतिपय मुलुकमा परीक्षाको मर्यादा कायम राख्न छुट्टै कोड अफ कण्डक्ट बनाईएको हुन्छ, आफ्ना सन्तान मात्रै हैन नातेदार र तिनका सन्तान सहभागी हुने परीक्षाको प्रकृयामा पनि यस्ता व्यक्ति संलग्न हुँदैनन्' विष्ट भन्छन्, 'आफ्नै सन्तान संलग्न हुने परीक्षामा कन्फ्ल्क्टि अफ ईन्ट्रेस भै हाल्छ, यस्ता सवाललाई सम्बन्धित निकायले गम्भिरता पूर्वक लिएर निरुपण गर्नु आवश्यक छ ।' 

यस्ता कार्यले परीक्षा प्रणाली माथि नै प्रश्न उठाउने भन्दै अर्का शिक्षाविद् डा. प्रमोद भट्टले यसलाई ज्यादै गम्भिर रुपमा लिन आवश्यक रहेको बताए ।  

'यो त सिधै पदीय र परीक्षाको मर्यादा विपरितको काम भयो' उनले भने, 'परीक्षा प्रणाली र प्रकृयामा यस्ता खाले प्रश्न उठ्नु भनेको उत्पादन हुने जनशिक्ति माथि नै प्रश्न उठ्ने वातावरण निर्माण हो, यसलाई सामान्य रुपमा लिईनु हुँदैन ।'

नेपालका सन्दर्भमा यस्तो संलग्नता विरुद्ध हुने कारवाही वा रोकथामका खास प्रावधान र विधी नभएको छिद्र समातेर सहभागी हुने क्रम जारी छ । वोर्डका वर्तमान सदस्य सचिव दुर्गा अर्याल साविकको उच्च माध्यमिक शिक्षा परिषद्मा नियन्त्रक हुँदा आफ्नै सन्तान पढिरहेको परीक्षा प्रकृयामा सहभागी भएका थिए । शिक्षा मन्त्री दीनानाथ शर्माको पालामा पहिले भएको 'सहभागी हुन नपाउने' निर्णय उल्ट्याएर उनलाई नियन्त्रक कै रुपमा परीक्षाको प्रकृयामा सहभागि गराईएको नजिरकै आधारमा अहिले उक्त कार्य गर्न सहज ठानिएको एक जना पूर्व नियन्त्रकले दावी गरेका छन् ।  

'अहिले कार्यकारी पदमा रहेका व्यक्ति नै पहिले यस्तै कार्यमा संलग्न भएको अवस्था विर्सन हुँदैन, आफैंले त्यस्तो गरे पछि अहिले आएर आफू मातहतका कर्मचारीलाई नबस भन्ने नैतिक आधार पनि त बाँकी रहेन' उनले भने, 'परीक्षाको मर्यादा र व्यक्तिको नैतिकता मुख्य कुरा हो, त्यो नै विर्सेर आफ्नो स्वार्थमा केन्द्रित हुने क्रम जारी रहेको रुपमा यो घटनालाई बुझ्नु आवश्यक छ ।'

प्रश्नपत्र निर्माण अघि आफ्ना सन्तान वा आफन्त परीक्षामा सहभागी नभएको सपथ पत्रमा सहमती जनाउने, आफूसँगै परीक्षाको कार्यमा संलग्न हुने अन्य कर्मचारीका बारेमा पनि सुनिश्चित गर्ने गरेको अनुभव ती नियन्त्रकले सुनाए । 

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल भने यस बारेमा आफूलाई थाहै नभएको बताउँछन् । 

'यस बारेमा मलाई जानकारी भएन, तपाईले भने पछि पो बल्ल थाह पाएँ' टेलिफोनमा उनले भने 'म बाहिर छु, के भएको रहेछ बुझ्छु ।' 

पौडेलले थाहै नभएको बताए पनि शर्माले भने आफ्नो छोरी कक्षा १२ मा अध्ययन गर्ने स्विकारेका छन् । 

'हो मेरो छोरी १२ कक्षामा पढ्छिन्, म त कर्मचारी हो, हाम्रो संयन्त्र नै यस्तै छ, मेरो जिम्मेवारीको काम त गर्नै पर्यो' उनले भने 'यसमा तपाईले भने जस्तो नैतिकताको प्रश्न हुँदैन ।'

प्रश्नपत्र प्याकिङ्को काम सके पछि मात्रै आफू प्रकृयामा संलग्न भएको दावी गर्दै उनले त्यस अघि उप नियन्त्रक सुवास पन्त र कृष्ण घिमिरेलाई जिम्मा लगाएको भन्दै बचाउको प्रयास गरे ।     

तर, विज्ञहरुबाट प्राप्त हुने प्रश्नहरुलाई अन्तिम रुप दिन बस्ने बोर्ड बैठकको निर्णय पछि शर्मा ती प्रश्न बोकेर छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रको गोप्य छापाखाना छिरेका बोर्ड श्रोतले दावी गरेको छ ।

'प्रश्नपत्र निर्माणमा संलग्न २ विज्ञ, नियन्त्रक, उप नियन्त्रक सहितको मोडेरेसन बैठक पछि उहाँ गोप्य छिर्नु भएको हो, यसको प्रमाण बैठकको माईन्युट नै काफि हो' उक्त श्रोतले भन्यो, 'मोडेरेसन बैठकमा पेश हुने ३–४ सेट प्रश्नहरु मध्येबाटै परीक्षाको प्रश्न तय हुन्छ, परीक्षामा कुन प्रश्न आउँछ भन्ने त त्यहीँ पनि थाह भईहाल्छ, भएन उहाँ त आफैं गोप्यमा जानु भएको हो ।'

गत बर्ष असारमा परीक्षाफल प्रकाशनको कार्य जारी रहेकै बेला नियन्त्रक डम्बर बतासलाई हटाएर शर्माको नियुक्ति भएको हो । शर्माको नियुक्तिमा काठमाडौंका नाम चलेका निजी विद्यालय सञ्चालकहरुले लविङ् गरेको आरोप लाग्दै आएको छ । 

'त्यति बेला परीक्षाफल प्रकाशनको मुखैमा किन नियन्त्रक परिवर्तन गरिएको रहेछ भन्ने कुरा बुझ्न जरुरी छ' बोर्डका एक उच्च कर्मचारीले भने, 'आधा दर्जन जति उनी भन्दा सिनियर कर्मचारी हुँदा हुँदै भएको उनको नियुक्ति बोर्डको समग्र कार्य सम्पादन माथि नैतिक प्रश्न उठाउने गरी यस्तै विवादका लागि थियो भन्ने बुझ्ने त होला अब ।'

शिक्षा मन्त्री गिरिाजमणि पोखरेलले बिहीबार मात्रै कक्षा ११ र १२ को परीक्षालाई मर्यादित बनाउन बोर्डलाई निर्देशन दिएको सार्वजनिक गरेका थिए । गत चैतमा भएको एसईई परीक्षाको प्रश्नपत्र आउट भएको स्मरण गर्दै उनले परीक्षाका बेला हुन सक्ने अनियमित गतिविधिहरु रोकथामका उपाय अपनाउन निर्देशन दिएका छन् । उक्त निर्देशनमा परीक्षा सञ्चालनका क्रममा प्रश्न पत्र बाहिरिएको तथा परीक्षामा खटिएका कर्मचारी र परीक्षार्थीबाट केही अमर्यादित कार्यहरु भएको सन्दर्भ स्मरण गराईएको छ । 

पढ्नुहोस् त्यो निर्देशन : कक्षा ११ र १२ को परीक्षा मर्यादित बनाउन निर्देशन, प्रश्नपत्र सुरक्षामा विशेष सर्तकता

आईतबार कक्षा १२ र २९ गतेबाट कक्षा ११ को परीक्षा हुँदै छ । कक्षा १२ को परीक्षाका लागि देशभर १ हजार १ सय ७ केन्द्र निर्धारण गरिएको छ । कक्षा १२ को परीक्षाका लागि ४ लाख २८ हजार ५२ र ११ को परीक्षाका लागि ५ लाख ८ हजार ४ सय ९४ विद्यार्थीले फारम भरेको बोर्डले जनाएको छ । 

प्रतिक्रिया