काठमाडौं १३ बैशाख / भूकम्प गएको चार वर्ष बित्यो। गोरखाको बारपाक केन्द्रबिन्दु रहेको भूकम्पले हजारौंको ज्यान र लाखौंको बास खोसेको थियो। भूकम्पपछि भत्किएका विद्यालय पुनर्निर्माण नहुँदा विद्यार्थी अझै पनि टहरा र खुला आकाशमुनि पढ्न बाँध्य छन्। उदाहरणको रूपमा उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेवीस्थित बच्छलादेवी माविमा अझै पनि टहरामै पढाइ हुन्छ। भूकम्पले विद्यालय भवन भत्किएपछि जस्ताले बारेर पढाउँदै आइरहेको संरचना अझै परिवर्तन हुन सकेको छैन।
विद्यालय निर्माणका लागि अस्ट्रेलियन नागरिक मोयालिया तोकमकले विद्यालयको भम्रण गरी अस्ट्रेलियन ३० हजार डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोही बमोजिम मोयालियाले सत्यदेवी गाउँकै अस्टे«लियामा ग्रीनकार्ड परेर उतै बस्दै आइरहेका मंगलबहादुर तामाङमार्फत नेपाली २० लाख (२० हजार अस्ट्रेलियन डलर) विद्यालय निर्माणका लागि पठाएका थिए। मंगलबहादुर तामाङले विद्यालयको खातामा जम्मा नगरी विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाका अध्यक्ष नै अध्यक्ष रहेको दामन पाख्रिन स्मृति प्रतिष्ठानको खातामा जम्मा गरिदिएका थिए। दामन पाख्रिन स्मृति प्रतिष्ठान नेपाली कांग्रेसका नेता दामन पाख्रिनको नाममा कांग्रेस कार्यकर्ताहरूले स्थापना गरेका हुन्।
विद्यालय निर्माणका लागि भनेर प्रतिष्ठानको खातामा तीन वर्षअगाडि जम्मा गरिएको सो रकम विद्यालयको खातामा ल्याउन पटकपटक माग गर्दासमेत नल्याइदिएको विद्यालय व्यवस्थापन समिति सदस्य निकिता तामाङले बताइन्। ‘विद्यालय निर्माणका लागि विदेशी नागरिकले पठाएको रकम मंगलबहादुरले सो प्रतिष्ठानको खातामा जम्मा गरिदिएका रहेछन्,’ उनले भनिन्, ‘सो रकम विद्यालय व्यवस्थापन समितिको बैठकमा बारम्बार विद्यालयको खातामा हाल्नका लागि अनुरोध गरे पनि अध्यक्ष सधैं चुपचाप बस्ने गर्छन्।’
विद्यालयमा तत्कालीन जिल्ला शिक्षा कार्यालय धादिङ र खनियाबास गाउँपालिकाको सहयोगमा निर्माण गरिएको चारकोठे भवनबाहेक सबै कक्षा जस्ताले बारेका टहरामै पढाइ हुन्छ। ७ सय १० जना विद्यार्थी अध्ययनरत बच्छलादेवी माविको पुनर्निर्माण नहुँदा विद्यार्थी, शिक्षक तथा अभिभावकले कष्ट व्योहोर्नुपरेको सदस्य तामाङले बताइन्। ‘चार वर्ष हुँदा पनि विद्यालय कसले निर्माण गर्ने हो भन्ने अन्योलमा छौं,’ उनले भनिन्, ‘हावाहुरी आउने बित्तिकै विद्यालय बन्द गर्नुपर्ने अवस्था छ।’
कम अभावमा निर्माणमा ढिलाइ भएपछि विद्यार्थी जोखिमपूर्ण तरिकाले टहरामै बसेर पढ्न बाध्य छन्। सुरुमा विद्यालय निर्माणको जिम्मा जाइकाले लिएको थियो तर निर्माण गरेन। तत्कालीन जिल्ला शिक्षा कार्यालयले आठकोठे भवन मात्र निर्माण गरिदियो जुन विद्यालयका लागि अपर्याप्त थियो। पढाइ कष्टपूर्ण भएपछि विद्यालय व्यवस्थापन समितिले जाइकालाई विद्यालय भवन बनाइदिन अनुरोध ग¥यो। हाल दुई महिनाअघि मात्र १६ कोठे विद्यालय भवन निर्माणको कार्य अघि बढेको छ।
अस्ट्रेलियन दाताले आफूले पठाएको रकमबाट विद्यालय निर्माण भएको भए सोबारे जानकारी दिन पटकपटक आग्रह गरिरहेका छन्। विद्यालय निर्माणपश्चात बाँकी १० लाख रकम पठाइदिने जानकारी गराइएको छ तर अहिलेसम्म न विद्यालयको खातामा रकम आएको छ न विद्यालय नै निर्माण भएको छ। विद्यालय निर्माण नभएपछि अभिभावक रुष्ट बनेका छन्।
विद्यालयका लागि आएको रकम प्रतिष्ठानको खातामा गएकोबारे जिज्ञासा राख्दा प्रतिष्ठानका अध्यक्ष एवं खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ प्रतिष्ठानको खातामा रकम आएको र विद्यालयलाई आवश्यक परेको बेला उपलब्ध गराउने बताउँछन्। विद्यालयमा निर्माणाधीन १६ कोठे भवन सम्पन्न भएपछि मात्रै त्यो रकम प्रयोग गर्न मिल्ने उनी बताउँछन्। तीन वर्षअगाडि आएको रकम विद्यालय व्यवस्थापन समितिलाई पनि थाहा छैन, विद्यालय पनि निर्माण भएको छैन नि ? भन्ने प्रश्नमा उनले भने, ‘मैले व्यक्तिगत पहलमा काम गरेको हुँ, तपाईहरूले त्यो कुरा कोट्याइरहन जरुरी छैन, तपाईहरूको सरोकारको विषय होइन।’
नागरिकमा सरिता श्रेष्ठले लेखेको खबर ।
प्रतिक्रिया