काठमाडौं ६ बैशाख / गुल्मीको गुल्मीदरबार गाउँपालिका र पाल्पाको पूर्वखोला गाउँपालिकाले बोर्डिङ स्कुल नराख्ने भएका छन् । पूर्वखोलाले यस वर्षदेखि सबै निजी विद्यालय सामुदायिकमा गाभेर नयाँ अभ्यास सुरु गरेको छ भने गुल्मीदरबारले मावि तहको एउटा बोर्डिङलाई सरकारीमा गाभेर यसको सुरुवात गरेको जनाएको छ ।
पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाका अनुसार गाउँपालिकाभित्रका पाँच निजी विद्यालय सरकारीमा गाभिएका छन् । रिङनेरहमा रहेको पूर्वखोला बोर्डिङ स्कुल उद्धबुद्ध माविमा गाभिएको छ । जल्पास्थित सरस्वती बोर्डिङलाई सरस्वती माविमा र वीरकोटको जोनन बोर्डिङलाई गणपतिमा गाभिएको छ ।
जल्पाकै माउन्ट भ्यु बोर्डिङलाई शम्भु मावि र देवीनगरमा रहेको चिराग बोर्डिङ स्कुललाई मातृभूमि माविमा गाभिएको अध्यक्ष थापाले बताए । ‘निजी विद्यालय रहेको बोर्डमै सामुदायिक विद्यालयको नाम राखेका छौं,’ उनले भने । पूर्वखोलाका बोर्डिङमा ५३ शिक्षक र ५ सय ८५ विद्यार्थी थिए । ‘अब निजी बोर्डिङका कर्मचारी र शिक्षकले लिइरहेको तलब–सुविधा सम्बन्धित सरकारी विद्यालयबाटै दिने निर्णय भएको छ,’ गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले भने । यसका लागि अघिल्लो वर्ष गाउँपालिकाले अध्यक्ष नुनबहादुर थापाको संयोजकत्वमा गाउँ शिक्षा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनअनुसार कार्यपालिकाले पटक–पटकको बैठकपछियस्तो निर्णय लिएको हो ।
‘निजी विद्यालयको सम्पत्ति मूल्यांकन गरी त्यसबमोजिम रकम गाउँपालिकाले आफैं र स्रोत खोजेर भुक्तानी दिनेछ,’ अध्यक्ष थापाले भने, ‘भौतिक पूर्वाधार, कर्मचारी र शिक्षक सबै सामुदायिक विद्यालयको सम्पत्ति हुनेछन् ।’
गाउँपालिकामा ३७ सामुदायिक र ५ निजी बोर्डिङ थिए । पूर्वखोला बोर्डिङको ६ रोपनी जग्गाको १ करोड ६० लाख बराबर मूल्यांकन गरिएको छ । निजी विद्यालयको सम्पत्ति विभिन्न तीन समूहमा मूल्यांकन गरिएको हो । गाभिएका निजी विद्यालयको जग्गा, फर्निचर र भवनको आर्थिक वर्ष ०७६/७७ भित्र मूल्यांकनअनुसार क्षतिपूर्ति दिइनेछ ।
स्थानीय स्रोतबाट तलब भत्ता खाने शिक्षक–कर्मचारीको सेवा–सुविधासम्बन्धी छुट्टै कानुन बनाउने तयारी गाउँपालिकाको छ । आगामी वर्ष विद्यालय सहयोग शुल्क पनि क्षमता भएका अभिभावकबाट मात्र लिइनेछ । ‘संघ, प्रदेश र गाउँपालिकाको सहयोगमा निजी स्कुललाई दिनुपर्ने रकम फिर्ता गर्ने योजना बनेको छ,’ उनले भने, ‘१२ वर्षभित्र सबै विद्यालयमा १ देखि १२ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्ने योजनाको सुरुवात यसै वर्षबाट भएको छ ।’ निजी विद्यालयले लिँदै आएको शैक्षिक शुल्क भने यस वर्षलाई साबिक बमोजिम लिने योजना बनेको छ । प्रतिवेदनअनुसार यसै वर्षदेखि सबै विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्नेछन् ।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले यस वर्ष एउटा माध्यमिक तहको बोर्डिङ स्कुललाई सरकारीमा गाभेको छ । गौरीशंकर इङलिस बोर्डिङ स्कुल दरबार देवीस्थानलाई सामुदायिकतर्फको ईश्वरी माविमा गाभिएको हो । गाउँपालिका अध्यक्ष अशोककुमार थापाका अनुसार यसलाई पहिलो अभ्यासका रूपमा लिइएको छ । ‘पहिलो वर्षको अभ्यास हेरेर आगामी वर्ष बाँकी निजी विद्यालयलाई पनि नजिकको सामुदायिकमा गाभिनेछ,’ उनले भने ।
गाउँपालिकाले दरबार देवीस्थान, ठूलापोखराको रेसुंगा इङलिस बोर्डिङ र वीरवासको ग्रिनवर्ड इङलिस बोर्डिङलाई पनि सामुदायिकमा गाभ्न छलफल सुरु गरेको छ । बाँकी तीनवटा बोर्डिङ कक्षा ५ सम्म रहेको र उनीहरूका विषयमा पनि निर्णय लिइने उनले बताए । गाउँपालिकाले अघिल्लो वर्ष एकीकृत शिक्षा र पढाइको गुणस्तरका लागि अध्ययन टोली बनाएको थियो ।
सोही टोलीको प्रतिवेदनअनुसार अघिल्लो वर्ष विद्यार्थी कम भएका सामुदायिक विद्यालयमा कक्षा घटाइएको थियो । विभिन्न विद्यालयमा १२ वटा दरबन्दीसमेत गाउँपालिकाले सहयोग गरेको छ । ‘विद्यालयबीचको सहमतिमा मात्र गाभिएको हो,’ अध्यक्ष थापाले भने, ‘आगामी दिनमा गाउँपालिकाभित्र एउटै प्रकृतिको शिक्षा दिने विद्यालय राख्ने हाम्रो मुख्य उद्देश्य हो ।’
वडाध्यक्ष हीराबहादुर खत्रीका अनुसार शिक्षक र भौतिक सम्पत्तिका विषयमा पनि अहिलेसम्म प्रस्ट निर्णय भइसकेको छैन । गाउँपालिकाले कम्तीमा १ करोड ५० लाख अहिले गाभिएको विद्यालयलाई दिनुपर्ने उनले बताए । ‘अन्य विद्यालयले पनि यस विषयमा छलफल अघि बढाएका छन्,’ वडाध्यक्ष खत्रीले भने । गाउँपालिकामा ४१ विद्यालय छन् । तीमध्ये ६ वटा निजी छन् ।
कान्तिपुरमा माधव अर्यालले लेखेका छन् ।
प्रतिक्रिया