Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

कन्चनपुरमा दाताका भरमा शिक्षकको तलब !

विहीबार, १९ कार्तिक २०७२

काठमाडौँ, १९ कात्तिक । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–८ नौखरी, मुक्त कमैया शिविरमा रहेको जनभावना निम्नमाध्यमिक विद्यालयका शिक्षकलाई स्थानीय सामुदायिक वन तथा दाताको सहयोगले तलब खुवाउनुपर्ने बाध्यता छ । 

तीन सय २५ जना मुक्तकमैयाका बालबालिका अध्ययनरत स्कूलमा निजी स्रोतबाट राखेका तीनजना शिक्षकलाई तलब खुवाउन विभिन्न समयमा गाउँमा रहेको बैजनाथ सामुदायिक वनले आर्थिक सहयोगसमेत गर्दै आएको विद्यालयका शिक्षक दिव्यदेव भट्टले बताए । 

“आर्थिक सहयोगदेखि विद्यालयलाई आवश्यक पर्ने फर्निचरसमेत वनले उपलब्ध गराएको परिस्थिति छ”, शिक्षक भट्टले भने–“विद्यालयमा विद्यार्थीको चाप पनि बढ्दै गइरहेको छ ।” विद्यालयमा अध्ययनरत ९५ प्रतिशत विद्यार्थी मुक्त कमैयाका छोराछोरी रहेको बताउँदै उनले विद्यालयको अन्य आयस्रोत नहुँदा सञ्चालनमा समस्यासमेत हुने गरेको जानकारी दिए । 

“स्कूलसित अरू आयस्रोत केही पनि छैन”, उनले भने –“जिल्ला शिक्षा कार्यालयले विद्यार्थीको अनुपातबापत दिने अनुदानले पनि ठूलो समस्या टरेको छ ।” उनले निजीस्रोतका शिक्षकका लागि मासिक २५ हजार रुपैयाँ स्कूलले जुटाउनुपर्ने अवस्था रहेको बताए । गत वर्ष बैजनाथ सामुदायिक वनले डेढ लाख रुपैयाँ दिएका उनले बताए । 

 उनले भने –“बेलाबखतमा यसरी नै दाताले दिने सहयोगले स्कूल चलेकै छ ।” २०६३ सालमा स्थापना भएको विद्यालयमा शिक्षक, शिक्षिका तथा अन्य कर्मचारी गरी ११ जना कार्यरत छन् । पाँचजना दरबन्दीमा शिक्षक कार्यरत छन् भने तीनजना बालविकास र तीन निजीस्रोतबाट राखिएका छन् । “चौमासिक रुपमा अहिलेसम्म सबैले पारिश्रमिक पाएकै छन् ।” शिक्षक भट्टले भन्नुभयो–“स्कूलमा शौचालयदेखि भौतिक पूर्वाधारको अवस्था पनि नाजुक नै छ ।”

(रासस) 

 

प्रतिक्रिया