Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

इन्धन संकटले विद्यार्थीहरु न गाडी पाउछन् न त छुट नै  !

विहीबार, १९ कार्तिक २०७२

काठमाडौँ, १९ कात्तिक । करिब दुई महिनादेखि भारतले गरेको अघोषित नाकाबन्दीका कारण विद्यार्थी दोहोरो मारमा परेका छन् ।  नाकाबन्दीका कारण इन्धन अभावले गाडी नपाउनु पहिलो समस्या हो भने पाएका गाडीले पनि इन्धन अभावकै कारण देखाउँदै विद्यार्थी परिचयपत्र देखाउँदासमेत छुट नपाउनु अर्को समस्या हो । 

रविभवनस्थित ज्ञानकुञ्ज उच्च माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत सम्पदा शर्माले सितापाइलादेखि विद्यालयसम्म आउनका लागि घण्टौँसम्म गाडी कुर्नुपर्ने र गाडी पाएपनि आफू विद्यार्थी हुँदाहुँदै गाडीवालाले छुट नदिएको गुनासो गरे ।  

“तराईमा भएको बन्दका कारण दुई महिनादेखि राम्रोसँग पढ्न पाइएको छैन, गाडीको समस्याले कतिपय दिन विद्यालय जान पाइएको छैन भने गएको दिनपनि ढिला पुग्दा पढाइ छुटेको छ”–उनले भने । त्यस्तैगरी बिहान ९ देखि ११ बजे (कार्यालय जाने समय) र साँझ ४ देखि ६ बजे (कार्यालयबाट घर फर्कने) समयमा यातायातमा चढ्न निकै नै कठिन हुने गरेको बालाजुकी नमिता बस्नेत बताउछन् ।  

नमिताले यातायात सञ्चालकप्रति गुनासो गर्दै भने, “गाडी कम चलेको र यात्रुको चाप भएकाले गाडी चालक र सहचालकले आजभोलि गाडी जाने अन्तिम गन्तव्य भन्दैनन्, पुरानो बसपार्कबाट नयाँ बसपार्कसम्मको गाडीको रूट हुन्छ तर ती गाडीहरूले सोह््रखुट्टे वा बालाजुसम्म मात्र जाने भन्दै त्यस स्थानसम्मको मात्र यात्रु चढाउँछन् । सोही स्थानमा पुगेपनि नयाँ यात्रु चढाई डबल भाडा लिन्छन् भने यात्रुले बसपार्कसम्म जानका लागि सोह््रखुट्टेबाट अर्को गाडी चढ्नुपर्छ ।” 

एकै स्थान जान पनि चालकको लापरबाहीका कारण यात्रुले तीनवटा सम्म गाडी फेर्नु परेको गुनासो गरेका छन् । नियमविपरित गाडी चलाउने चालकलाई सम्बन्धित निकायले अनुगमन गरी कारबाही गर्नुपर्ने पीडित यात्रुले माग गरेका छन् । 

(रासस)

 

प्रतिक्रिया