Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

शैक्षिक संस्थामा ठगी, कहाँ हराए विद्यार्थी संगठन ?

बुधबार, २० चैत्र २०७५

काठमाडौं २० चैत / आमविद्यार्थीको हकहितका नाममा गठन भएका विभिन्न विद्यार्थी संगठनहरू आफ्नो उद्देश्यबाट विचलित हुन थालेका छन् । शैक्षिक क्षेत्रमा व्यापक ठगी र विकृति बढिरहेको बेला खबरदारी गर्नुपर्नेमा विद्यार्थी संगठनहरू भने मौनता साँधेर बसिरहेका छन् ।  विगतमा शैक्षिक क्षेत्रमा विकृति बढ्दा विद्यार्थी संगठनहरूले त्यसविरुद्ध आन्दोलन चर्काउँदै प्रभावकारी भूमिका खेलेका थिए । तर अहिले उनीहरू मौन बस्दा शैक्षिक क्षेत्रमा विकृतिका चाङ बढेको विश्लेषण यस क्षेत्रका अगुवाहरूले गरेका छन् ।

शिक्षाविद् डा. मनप्रसाद वाग्लेले विद्यार्थी संगठन साच्चै नै कमजोर देखिएको बताए । उनले शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न विद्यार्थी संगठन सक्रिय भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । ‘निजी स्कुल बन्द गर्नैपर्छ । विद्यार्थी संगठनले निजी विद्यालयको नियमन र निगरानी गरेर मात्र हुँदैन । बन्द गर्ने अभियानलाई सशक्त बनाउनुपर्छ,’ शिक्षाविद् वाग्लेले भने ।

नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा निजी तथा सरकारी विद्यालयहरूले मनपरी अवैध शुल्क असुली रहेका बेला विद्यार्थी संगठन तैं चुप मंै चुप अवस्थामा छन् ।

निजी र सामुदायिक विद्यालयमा तोकिएको भन्दा २० देखि ३० प्रतिशत शुल्क वृद्धि, मेडिकल कलेजभित्रको विकृति, निजी शैक्षिक संस्थामा सिन्डिकेटलगायतका विषय सार्वजनिक भइरहँदा पनि विद्यार्थी संगठनहरू मौन भएका छन् ।

विद्यार्थीको हकहितमा लाग्नुपर्ने जिम्मेवारी लिएका विद्यार्थी संगठनहरू विद्यार्थीप्रति संवेदनशील नभएको पाइएको छ । विद्यार्थी संगठनहरूले विद्यालयभित्रको आन्दोलनको मुद्दा उठाए पनि बार्गेनिङ गर्दै सम्झौतामा टुंग्याउने गरेको प्रभावित विद्यार्थीहरूको गुनासो छ ।

केही विद्यार्थी नेताहरू मन्त्री र नेताहरूका ‘पीए’को जिम्मेवारी लिएर बसेको पाइएको छ । विद्यार्थी नेताहरू बहालवाला मन्त्री र नेताका स्वकीय सचिवका रूपमा जिम्मेवारी सम्हालिरहेका छन् । जसकारण पनि विद्यार्थी राजनीतिले निर्णायक रूप लिन सकेको छैन । विद्यार्थी संगठनहरू शैक्षिक मुद्दाभन्दा पनि राजनीतिक एजेन्डा बोक्दा वास्तविक विद्यार्थीको समस्या सम्बोधन हुन नसकेको बताइएको छ ।

 राजनीतिक एजेन्डामा सीमित, मन्त्रीको ‘पीए’ र लाभको पदमा तल्लीन, शैक्षिक एजेन्डाभन्दा ठेक्कापट्टा प्राथमिकतामा, शुल्क वृद्धि हुँदा पनि तैं चुप मंै चुप, शैक्षिक माफियासँग मिलेमतो, विद्यार्थी एकातिर संगठन अर्कोतिर विद्यार्थी संगठनमाथि लागेका आरोप हुन् ।  

अखिलका प्रवक्ता आरसी लामिछानेले विद्यार्थी संगठन बिचौलिया उत्पादन गर्ने थलो नभएको बताए । उनले भने, ‘केही विद्यार्थी नेताहरू लाभ लिने ठाउँमा भए पनि विस्तारै उहाँहरू संगठनको दायराबाट बाहिर जानुहुन्छ । ’

नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले शिक्षामा माफियाकरण बढ्दै गएको भन्दै आन्दोलन गर्नुपर्ने बताए ।

राजधानीमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया