Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

रोकिएको परीक्षाको मिति तय

सोमबार, १८ चैत्र २०७५

काठमाडौं - लगातार प्रश्नपत्र आउट भएपछि प्रदेश २ मा रोकिएको एसईईको परीक्षा चैत २२ गते शुक्रबारबाट गर्ने तय भएको छ । परीक्षा बोर्डको विहान बसेको बैठकले २२ देखि २९ गते सम्म परीक्षा गर्ने तय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । 

नयाँ तालिकालाई पुरानै विषय अनुसार क्रम निर्धारण गरिएको उनले बताए । यस अघि प्रश्नपत्र आउट भएर रोकिएको विज्ञानको परीक्षा २२ गते र २३ गते सामाजिकको हुने छ । अरु पहिलेकै रुटिन अनुसार क्रमैसँग हुने उनले बताए । २४ गते जनसंख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिषका विषयको परीक्षा हुने छन् भने २५ गते वेद विषयका र २६ गते ऐच्छिक विषयको परीक्षा हुने छ । २६ गते सम्म साधारण विषयको परीक्षा हुने र बाँकी ३ दिन प्राविधिक विषयको परीक्षा हुने छ । 

लगातार प्रश्नपत्र आउट भए पछि गत शुक्रबार साँझ सरकारले बाँकी परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । 

पढ्नुहोस् : प्रदेश २ को एसईई स्थगित

उक्त निर्णयको विरोध गर्दै  शनिवार प्रदेश २ का विभिन्न जिल्लामा प्रदर्शन समेत भएको थियो ।  

पढ्नुहोस् : परीक्षा स्थगितसँगै तनाव, 'राजनीतिक रंग दिने' कोशिसको शंका !

गए रातीको हावा हुरीले प्रदेश २ मा गरेको वितण्डाका कारण कुनै परीक्षा केन्द्रमा असर पुगेको छ भने यकिन गरेर व्यवस्थापन गर्न सकिने आँकलन साथ स्थगित परीक्षाको रुटिन सार्वजनिक गरिएको उनले बताए । 

'प्राकृतिक प्रकोपले पुर्याएको क्षतीका बारेमा पनि बैठकमा त छलफल भयो तर परीक्षा आउन ५ दिन बाँकी नै भएकाले त्यतिबेला सम्म अवस्था सामान्य होला भन्ने अपेक्षा गरिएको छ' उनले भने 'यदी कुनै केन्द्रमा समस्या रहेछ भने यकिन गरेर विकल्प तयार पार्न हामीसँग समय पनि छ ।'

आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र  पर्सामा ठूलो जनधनको क्षती भएको छ । यो खबर तयार पार्दा सम्म ३१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ५  सय भन्दा बढी घाइते छन् ।  बारामा मात्रै २७ जनाको ज्यान गएको र ठूलो हताहती भएकाले  कतिपय मृतकहरुको पहिचान हुन कठिन भएको प्रहरीको भनाई छ । घाइतेको संख्या बढे पछि अस्पतालहरुमा उपचारमै कठिनाइ भएको जनाइृएको छ । बिरामीको चापले भएको रगतको अभाव कम गर्न सुरइााकर्मीहरुले नै रगत दिन थालेका छन् । सामाजिक सञ्जालमा रक्तदान गर्न आह्वान गर्दै राहत र उदरलाई प्रभावकारी बवनाउ सरकारको ध्यानाकर्षण गरिएको छ । 

प्रतिक्रिया