Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

सुधार हुँदै सामुदायिक विद्यालय

आइतबार, १७ चैत्र २०७५

काठमाडौं १७ चैत / बाँकेको बैजनाथ गाउँपालिकाको जी गाउँमा रहेको प्रभात माध्यामिक विद्यालयमा प्रारम्भिक बाल विकास(नर्सरी)मा एकबर्षअघि ९ जना विद्यार्थी भर्ना भएका थिए । यसबर्ष सोही कक्षामा ६९ जना विद्यार्थी नियमित पठनपाठन गर्दै आईरहेका छन् । विद्यालयमा नर्सरी देखि कक्षा १२ सम्म एकहजार १९ जना विद्यार्थी अध्ययनरत छन् । नर्सरीमा अंग्रेजी माध्यमको पढाई सुरु भएपछि विद्यार्थीहरुको आकर्षण पनि बढेको प्रधानाध्यापक नगेन्द्र राज रिजालले बताउनुभयो ।

दुई बर्षअघि पुर्व सिँचाई राज्यमन्त्री दलबहादुर सुनार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपछि विद्यालयले शैक्षिक र भौतिक पूर्वाधारको क्षेत्रमा ठुलो प्रगति गरेको अभिभावकहरुले बताएका छन् । आवश्यक भवन, खेल मैदान भएको विद्यालयमा पछिल्लो समय फुलको बगैचा समेत निर्माण गरिएको छ । शिक्षकहरुलाई बिहान १० बजे विद्यालयमा उपस्थित नभएमा विद्यालय प्रवेश गर्न नदिने र ४ बजे भन्दा अगावै विद्यालय छोडेमा त्यसदिनको हाजिरमा गयल गर्ने गरिएको छ । विद्यालयमा कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला, पुस्तकालय लगायतको सुविधा रहेको छ ।

सामुदायिक विद्यालय कमजोर भनिरहँदा प्रभात माविले काँचुली फेरिरहेको छ , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनारले भन्नुभयो,– शैक्षिक गुणस्तरता बढाउन शिक्षक र अभिभावक सबैबीच निरन्तर समनवय भईरहेको छ । विद्यालयले विद्यार्थीको सुविधालाई मध्यनजर गर्दै बस खरिद गरिसकेको छ । बस खरिदका लागि अभिभावकबाट ४३ लाख रुपिया संकलन भएको अध्यक्ष सुनारले बताउनुभयो । क्याम्पस संचालनको तयारी गरेको प्रभात माविले बाली विज्ञानमा कृषि विषयको पढाई संचालनको समेत तयारी गरेको छ । प्रभात माविले राष्ट्रपति विद्या भण्डारीको उपस्थितीमा बैशाख पहिलो साता स्थापनाको स्वर्ण जयन्ती मनाउनका लागि तयारी गरिरहेको छ ।

बाँकेको खजुरा गाउँपालिकाको आदर्श मावि डि गाउँ, ज्ञानोदय नमूना मावि खजुरा र जनता नमूना मावि सन्तकुटीले अंग्रेजी माध्यम सुरु गरेपछि विद्यार्थीको सङ्ख्या बर्षेनी बढिरहेको छ । आदर्श माविका प्रधानाध्यापक राजेन्द्र सापकोटाले संस्थागत विद्यालय छोडेर विद्यार्थीहरु आदर्श माविमा भर्ना भएको जानकारी दिनुभयो । आदर्श माविले नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यम सुरु गरेको छ । विद्यार्थीलाई विद्यालय सम्म सकुशल ल्याउन र घरसम्म पु¥याउनका लागि आदर्श माविले गत बर्ष बस खरिद गरेपछि यसबर्ष विद्यार्थीको सङ्ख्या झनै बढ्ने प्रअ सापकोटाको अनुमान छ । आदर्शले संस्थागत विद्यालय जस्तै पिङ, झुला लगायतका खेल सामाग्री विद्यालयमा राखेको छ । आधारभुत तहका विद्यार्थीका लागि लक्षित गरी खजुराका जनता र ज्ञानोदय माविले पनि विद्यालयका लागि बस खरिद गरेका छन् ।

गोरखापत्रमा प्रकाशित ।

प्रतिक्रिया