काठमाडौं १७ चैत / प्रदेश २ मा स्थगित एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया शुरु हुने भएको छ ।
आज आइतबार बस्ने एसईई बोर्डको बैठकले प्रश्नपत्र छपाइको निर्णय गर्नेछ । एसईई कार्यालयले आउट भएका विज्ञान र सामाजिक शिक्षासहित पाँच विषयको प्रश्नपत्र छपाइको तयारी गरेको छ । पनिकाले विज्ञान, सामाजिक शिक्षा, जनसंख्या शिक्षा, ऐच्छिक प्रथम, द्वितीय र प्राविधिकतर्फका प्रश्नपत्र छपाइ गर्ने भएको छ ।
‘हामी नयाँ प्रश्नपत्र छपाइ गर्ने तयारीमा लागेका छौं– एसईई कार्यालयका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भन्नुभयो । उहाँले प्रदेश नम्बर २ का लागि नयाँ प्रश्नपत्र छपाइ प्रक्रिया शुरु गर्न लागिएको जानकारी दिनुभयो ।
पनिकाले सबै विषयमा झन्डै दुई दर्जनभन्दा बढी विषयमा प्रश्नपत्र छपाइ गर्नुपर्ने हुन्छ । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २१ गतेसम्मको परीक्षाको अवस्था हेरेपछि मात्रै थप प्रश्नपत्र छपाइ गर्ने तयारी गरिरहेको छ ।
आज बस्ने बोर्ड बैठकले प्रदेश २ को परीक्षाको तालिका र प्रश्नपत्र छपाइ गर्ने विषयमा निर्णय गर्नेछ । प्रश्नपत्र छपाइ गर्न जनक शिक्षा सामग्रीको सुरक्षण मुद्रणालयलाई तयारी अवस्थामा रहन मन्त्रालयले प्रक्रिया पूरा गरिसकेको जनाएको छ ।
जनकमा महाप्रबन्धक महेश्वर तिमल्सिनाले प्रश्नपत्र छपाई गर्न आदेश दिनासाथ आफूहरु तयारी अवस्थामा रहेको बताउनुभयो । प्रश्नपत्र छपाइ गर्न सुरक्षाकर्मी समेत तयारी अवस्थामा रहेका छन् । जनक शिक्षामा हाल कक्षा ११ र १२ को प्रश्नपत्र छपाइ भइरहेको छ । ११ र १२ को प्रश्नपत्र छपाइलगत्तै तराईमा स्थगित परीक्षाको प्रश्नपत्र छपाइ शुरु हुने भएको छ ।
प्रश्नपत्र आउट भएको विषयमा छानविन गर्ने जिम्मा पाएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार पनिकाका अधिकारीसँग सोधपुछ गरेको छ । उच्च स्रोतका अनुसार प्रश्नपत्र छपाइ गर्न जनकको रेक्युरिटी प्रेसमा बस्ने गरेका अधिकारीहरुसँग सोधपुछ गरेको छ ।
स्रोतका अनुसार टोलीले आज आइतबार जनक शिक्षाका अधिकारीसँग सोधपुछ गर्ने तयारी गरेको छ । परीक्षाको प्रश्नपत्र आउट भएको विषयमा सीआईबीले राजधानी र तराईमा छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ । उता संघीय सरकारले प्रदेश २ मा एसईई परीक्षा स्थगित गर्ने घोषणा गरेपछि प्रदेश २ का विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण केही ठाउँमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
बिहीबार र शुक्रबार लगातार प्रश्नपत्र आउट भएपछि आतिएको सरकारले एकाएक परीक्षा स्थगित गरेपछि त्यसको विरोधमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।
शनिबार बाराको जितपुरमा प्रदर्शन उत्तेजित हुन थालेपछि प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको थियो । अन्य जिल्ला अन्र्तगत पर्ने राजमार्गमा प्रदर्शनकारीले अवरोध गरेको बाटो बल प्रयोग गरेर प्रहरीले खुलाएको छ । शनिबार बिहानैदेखि प्रदेश २ का विभिन्न जिल्लामा प्रदर्शन भइरहेको थियो ।
प्रदर्शनकारीले धनुषाको सपहीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा प्रदर्शनकारीले ढुंगामुडा हानेको प्रहरीले जनाएको छ । ढुंगामुढाबाट यादव चढेको गाडीको सिसा फुटेको थियो । हिंसात्मक घटना हुन नदिन प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा अपनाएको छ ।
नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
प्रतिक्रिया