काठमाडौं १७ चैत / आउँदो वैशाखदेखि सुरु हुने शैक्षिक सत्रका निम्ति ब्रेल पुस्तक छपाइ प्रक्रिया अघि बढेको छ । शिक्षा मन्त्रालयले ढिलो निर्णय गरेकाले चैतदेखि मात्रै प्रक्रिया अघि बढेको हो ।
नियमानुसार विद्यालय तहको पाठ्यपुस्तक टेन्डर प्रक्रियाबाट छपाउनुपर्छ तर नेपालमा दुईवटा संस्थासँग मात्रै ब्रेल पुस्तक छपाइ गर्ने प्रेस रहेकाले यसपटक पनि अनुदानकै भरमा छाप्न लागिएको हो ।
‘यो वर्ष पनि अनुदानकै भरमा पुस्तक छपाउन दिने निर्णय भएको छ,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखाका निर्देशकखगेन्द्रबहादुर सिंहले भने, ‘छपाइका निम्ति प्रक्रिया अघि बढिसकेको छ । नयाँ सत्रको पढाइ सुरु हुने बेलासम्ममा सकिनेअपेक्षा गरेका छौं ।’
विद्यालय तह कक्षा १ देखि १० सम्मका दृष्टिविहीन विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान गरिन्छ । दृष्टिविहीनका निम्ति अनिवार्य विषयअन्तर्गत नेपाली, अंग्रेजी, गणित, सामाजिक, विज्ञान र जनसंख्या विषयको पाठ्यपुस्तक छाप्ने गरिएकोछ । काठमाडौंको नेपाल दृष्टिविहीन कल्याण संघ र नेत्रहीन संघले ब्रेल पुस्तक छपाउँदै आएका छन् । विशेष प्रकारको मेसिन हुने भएकाले सामान्य प्रेस तथा छापाखानालेब्रेल पुस्तक छपाउन सक्दैनन् भने कागजसमेत महँगो पर्छ ।
नेत्रहीन संघका कार्यकारी सल्लाहकार नरबहादुर लिम्बूले यसअघि माघ महिनामै ब्रेल पुस्तक छापिने गरेको बताए । ‘यो वर्ष सरकारले ढिलो निर्णय गरेकाले अझै प्रक्रियामै छौं,’ संघका पूर्वअध्यक्षसमेत रहेका लिम्बूले भने, ‘यो वर्ष भाइबहिनीले ढिलो पुस्तक पाउने भए ।’ त्यसैगरी कल्याण संघकी कार्यकारी निर्देशक डा. मालिका प्रसाईंले ब्रेल पुस्तक छपाउने जिम्मा आफूहरूले पाएको बताइन् । ‘प्रक्रिया चाँडै टुंगिएमा आउँदो साताबाट छपाइ सुरु हुनेछ,’ उनले भनिन् ।
निर्देशक सिंहका अनुसार ब्रेल पाठ्यपुस्तक छपाइका निम्ति यो वर्ष ८० लाख रुपैयाँ बजेट छ । पठनपाठन हुन विषयभित्र समेटिएका विषयवस्तुलाई ब्रेललिपिमा अनुवाद गरी उतार्ने गरिन्छ । सियोले घोचेजसरी छेडेर खोपिने ब्रेललिपि पुस्तकको आकार कक्षागत पाठ्यपुस्तकभन्दा ठूलो हुन्छ ।
कतिपय विषयको पाठ्यपुस्तक दुई खण्डमा विभाजन गरेर छाप्ने गरिएको छ । गत वर्ष ६४ हजार थान पुस्तक छापिएको थियो । कक्षा १० का एक विद्यार्थीका निम्ति आवश्यक एक सेट पुस्तकको मूल्य २२ हजार रुपैयाँ पर्ने जनाइएको छ ।
कान्तिपुरबाट
प्रतिक्रिया