Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

परीक्षा स्थगितसँगै तनाव, 'राजनीतिक रंग दिने' कोशिसको शंका !

शनिबार, १६ चैत्र २०७५

काठमाडौं - लगातार प्रश्नपत्र आउट भएसँगै प्रदेश २ मा एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय विरुद्ध प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन र नारा जुलुस गरिएको छ । प्रश्नपत्र जस्तो संवेदनशील कुरालाई सुरक्षा गर्न समेत सरकार असक्षम भए पछि चौतर्फि आलोचना भएको छ । यसले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लागेको छ । यही आलोचनाका विचमा प्रदेश २ का विभिन्न जिल्लामा प्रदर्शन गरिएको हो ।  

बाराको जितपुरमा प्रदर्शन उत्तेजित हुन थालेपछि प्रहरीले हवाइफायर र अश्रुग्यास हानेको छ ।  अन्य जिल्ला अन्र्तगत पर्ने राजमार्गमा प्रदर्शनकारीले अवरोध गरेको बाटो बल प्रयोग गरेर प्रहरीले खुलाएको छ । शनिबार विहानै देखि प्रदेश २ का विभिन्न जिल्लामा प्रदर्शन भइरहेको खबर प्राप्त भएको छ । जिल्ला स्थित मुख्य राजमार्गमा प्रदर्शन गरिएको छ । आक्रोशित विद्यार्थीले सप्तरी सदरमुकाम राजविराजमा राजिनामा दिनुपर्ने माग सहित शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुत्ला जलाएका छन् ।

धनुषाको सपहीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा प्रदर्शनकारीले ढुंगामुडा हानेको प्रहरीले जनाएको छ । ढुंगामुढाबाट यादव चढेको गाडीको सिसा फुटेको छ ।

परीक्षा स्थगित भएसँगै विद्यार्थीलाई मर्का परेको भन्दै सडकमा उत्रिएकाहरुको हुलमा विहान विद्यार्थीको संख्या धेरै भए पनि क्रमशः एसईईका विद्यार्थी कम र युवा तथा वयस्कहरु धेरै देखिन थालेको भन्दै प्रशासनले फरक कोणबाट विश्लेषण शुरु गरेको छ । घटनाक्रममा 'राजनीतिक रोटी सेकाउने' प्रयास गरिएको शंका सहित सुरक्षा संयन्त्र थप सचेत भएको प्रदेश २ अन्र्तगत एक जिल्ला प्रशासन कार्यालयको उच्च श्रोतले जनायो ।

'प्रदेश २ भनेको साह्रै तरल क्षेत्र बन्यो यहाँ सामान्य कुरा पनि राजनीतिक रोटि सेकाउने रुपमा पटाक्षेप हुन्छ' उक्त श्रोतले भन्यो 'कतै एसईईको विषयलाई पनि त्यही तर्फ केन्द्रित गर्न खोजिएको त हैन ? भन्ने कोणबाट हेरिएको छ ।'

घटनापछि प्रदेश सरकारका मुख्य मन्त्री लालवावु राउतले संघीय शिक्षा मन्त्रीको आलोचना गर्दै राजिनामा मागेको खबर सञ्चार माध्याममा सार्वजनिक भएको थियो ।

प्रश्नपत्र आउट भएको विषयमा शिक्षा मन्त्री पोखरेलले छानवीन गरी दोषिलाई कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विद्यार्थी अभिभावकलाई संयम रहन आग्रह पनि गरेका छन् । घटना छानवीन गर्न प्रहरीको केन्द्रिय अनुसन्धान विभाग सिआईवीले काम शुरु गरिसकेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य अमुदा श्रेष्ठको संयोजकत्वमा अर्को छानविन समिति पनि गठन गरिएको छ ।  

सरकारी सुरक्षा घेरामा रहेको प्रश्नपत्र आउट हुनु लज्जाको विषय हो । परीक्षाको मर्यादा कार्यान्वयन गर्न नसक्नु सरकारको असक्षमता नै हो । तर भईनै सक्यो भने त्यसमा संलग्नको खोजि र कारवाहीका लागि दवाव दिनु आवश्यक छ ।

तर यो भन्दा पहिले स्मरण गर्नु पर्ने तथ्य के पनि हो भने देशको व्यवस्था र संरचनामा भएको परिवर्तनसँगै स्थानीय तह अन्र्तगत व्यवस्था गरिएको विद्यालय शिक्षाको अधिकार कार्यान्वयनमा वेलैमा ध्यान नदिने संघीय शिक्षा मन्त्रालय अन्र्तगतका जिम्मेवार अधिकारी र राजननीतिक नेतृत्वको मनोवृत्ति पनि यसको लागि कारक बनेको छ । शिक्षा ऐनले गरेको व्यवस्था अनुसार कक्षा १० को परीक्षा पनि अन्य कक्षाको जस्तै सामान्य परीक्षा हो । तर, पहिलेकै तामझाममा सम्पन्न गर्न खोज्नुबाटै समस्याको विजारोपण भएको थियो ।

यस्तै राष्ट्रिय परीक्षा बोर्डले आफ्ना संयन्त्र निर्माण गर्न गरेको ढिलाई र विद्यालय शिक्षाको अन्तिम परीक्षा कक्षा १२ लाई व्यवस्थित गर्ने तर्फ ध्यान दिनुको साटो कक्षा १० मै रुमलिदाँ पनि यो अवस्था आएको हो ।  
त्यसैले संविधान र ऐनमा भएका व्यवस्था अनुसार परिवर्तन स्विकार नगर्ने हो भने शिक्षा क्षेत्रमा यो भन्दा धेरै उल्झन् आउने पक्का छ ।

प्रतिक्रिया