Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

कञ्चनपुरको विद्यालयमा छात्रामैत्री शौचालय !

विहीबार, १९ कार्तिक २०७२

काठमाण्डौँ, १९ कात्तिक । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका– ८ बेलडाँडीस्थित सिद्धनाथ निम्न माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गरिएको छ । सम्भवतः यो नेपालमै पहिलोपटक छात्राको रजस्वला समस्याका बारेमा ध्यान दिइदै निर्माण गरिएको शौचालय हो ।  जिल्ला शिक्षा कार्यालयको विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत छात्रालाई लक्षित गरी रु दुई लाख ५० हजारको लागतमा शौचालय निर्माण गरिएको हो । 

शौचालयको भित्रपट्टिबाटै रजस्वला भएका बेला छात्रालाई प्याड फाल्नका लागि इन्सुलेटर अलग्गै रुपमा निर्माण गरिएको र बाहिरबाट आगो लगाएर फालिएका प्याडलाई जलाउन मिल्ने गरी शौचालय निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक शङ्करदत्त जोशीले बताए ।  

विद्यालयमा छात्र र छात्राको शौचालय एउटै हुँदा छात्राले कठिनाइको सामना गर्नुपरेको थियो । उनले भने – “छात्रामैत्री शौचालय निर्माण गरिएपछि छात्राको सहज रुपमा शौचालयको प्रयोगमा पहँुच पुगेको छ ।” 

छात्रामैत्री शौचालय नहुँदा विगतमा छात्राले रजस्वला हुँदा घरमै बस्दै आएको उल्लेख गर्दै विद्यालयका शिक्षक हर्कबहादुर ऐरले भने –“अलग्गै छात्राका लागि शौचालय निर्माणले छात्रा नियमित रुपमा विद्यालयमा आउन थालेका छन् ।” 

विद्यालयमा अध्ययनरत २४० छात्रछात्रामध्ये छात्राको सङ्ख्या ११४ रहेको छ । यसैगरी जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले जिल्लाका अन्य नौ विद्यालयमा रु २२ लाख ५० हजारको लागतमा छात्रामैत्री शौचालय निर्माण गरिएको जनाएको छ । 

(रासस) 

 

प्रतिक्रिया