काठमाडौं - संसदीय समिति अन्र्तगत गठित उपसमितिले चार वर्गका निजी विद्यालय राख्न सुझाव दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगत गठित उपसमितिले समितिकी सभापति जयपुरी घर्तिलाई बुझाएको प्रतिवेदनमा निजी लगानीका विद्यालयहरु सञ्चालनका लागि चार वर्ग तय गर्न सुझाव दिएको हो ।
सेवाको भावनाले मुनाफा रहित निजी ट्रष्ट, सार्वजनिक ट्रष्ट र सहकारीवाट सञ्चालित विद्यालय राख्न उपसमितिले सुझाव दिएको हो । यस्तै कम्पनीवाट सञ्चालित विद्यालयहरुलाई १० बर्ष भित्र अनिवार्य सेवा मुलक संस्थाको रुपमा नाफा नलिने गरी निजी रुपमा रुपान्तरण गर्न सुझाव दिईएको छ ।
'व्यक्तिगत सञ्चालक भएको विद्यालय १० बर्ष भित्र अनिवार्य सेवामुलक संस्थाको रुपमा नाफा नलिने गरी कम्पनी निजी रुपमा रुपान्तरण हनु पर्नेछ' सुझावमा भनिएको छ, 'कम्पनीको सम्पत्तीको हकमा १० बर्ष पछि सो सम्पत्ती विद्यालयलाई दान दिन वा ऋण दायित्व लिन सक्नेछ वा सम्पत्ती सोही संस्थाका नाममा रहनेछ ।'
शिक्षमा लगानी तथा अनुदान सम्वन्धी व्यवस्था गर्न सुझाव दिदैं उपसमितिले आधारभूत तहसम्मको शिक्षाको सञ्चालित दायित्व राज्य वा सरकारको हुने र सरकार र निजी साझेदारी कानूनको निर्माण गर्नुपर्ने औंल्याएको छ । विद्यालय शिक्षमा व्यवस्थापनमा सुशासन र सुधार कायम गर्न पनि उपसमितिको सुझाव छ ।
देशको संरचना र व्यवस्था परिवर्तन भएपछि अपनाउने शिक्षा नीति तय गर्न सरकारले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षालाई मौलिक हक अन्र्तगत गरेको संवैधानिक व्यवस्था कार्यान्वयनका लागि भन्दै विद्यालय शिक्षामा भएको निजी लगानीलाई १० वर्ष भित्र गुठिमा रुपान्तरण गर्न सुझाव दिएको थियो । उक्त सुझावको विरोध गर्दै निजी विद्यालय सञ्चालकहरुले राजनीतिक लविङ् गरे पछि उक्त प्रतिवेदन सरकारले अहिले सम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।
यही बीचमा निजी विद्यालय सञ्चालक समेत रहेका सांसद उमेश श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिले आफ्नो प्रतिवेदनमा निजी विद्यालयका सन्दर्भमा सुझाव दिएको हो ।
संसदीय समितिले गत मंसिर २ गते ८ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिलाई आगामी दिनमा तर्जुमा गरिने शिक्षा सम्वन्धी ऐन नियममा समेटिनु पर्ने विषयवस्तु, आईपर्ने चुनौति र अवसरका सम्वन्धमा अध्ययन गरी सुझाव दिन भनिएको थियो ।
उपसमितिमा संयोजक श्रेष्ठ सहित सांसदहरु अञ्जना विशंखे, एकवाल मियाँ, चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, नविना लामा, नारायणप्रसाद मरासिनी र योगेश भट्टराई सदस्य थिए ।
प्रतिक्रिया