Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

विद्यालयलाई बन्द–हडताल मुक्त गराउन नसक्दा लाखौँ विद्यार्थीको भविष्यमाथि खेलवाड

विहीबार, १९ कार्तिक २०७२

काठमाडौं १९ कात्तिक / मधेस आन्दोलनसँगै धनुषासहित तराई मधेसका आठ जिल्लाका सामुदायिक विद्यालय ८२ दिनदेखि बन्द छन् । विद्यालयलाई बन्द–हडतालमुक्त गराउन नसक्दा लाखौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ।

तराईका शैक्षिक संस्था साउन २८ देखि बन्द भएका हुन् । बन्दले एकातिर विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् भने अर्कोतिर उनीहरूमा नकारात्मक मनोवैज्ञानिक असर परिरहेको छ । शिक्षा नियमावलीअनुसार एक शैक्षिकसत्रमा २२० दिन विद्यालय खुल्ला हुनुपर्ने व्यवस्था छ । त्यसैगरी शिक्षकले विद्यालयमा १९२ दिन अनिवार्य रूपमा पढाउनुपर्छ । तर अहिलेसम्मको अवधिमा यस क्षेत्रमा जम्मा ४५ दिन निरन्तर रुपमा पढाइ भएको मात्र देखिन्छ । भूकम्पको कारणले वैशाख १२ पछि र जेठको पहिलो सातासम्म पढाइ अवरुद्ध रहेको देखिन्छ भने असारपछि गर्मी बिदा ९बर्र्खे बिदा० भएदेखि विद्यालय नै सञ्चालनमा आउन सकेका छैनन् ।

अहिले मधेसको वातावरण असहज भएकाले विद्यालय सञ्चालन गर्न कठिन छ । फेरि तराई मधेसकै कतिपय जिल्लामा अध्ययन भइरहेको छ । धनुषामा पनि उत्तरी भेग र राजमार्ग छेउछाउका क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, गणेशमान सिंह चारनाथ नगरपालिका, पुष्पवलपुर, रतनपुर, तुलसी गाविसमा निजी विद्यालय आन्दोलनको सुरुवातमा केही दिन बन्द भए पनि अहिले पढाइ भइरहेको छ भने दक्षिणतिरका सदरमुकाम जनकपुर उपमहानगरपालिकासहित सबै ठाउँका विद्यालयका ८२ दिनदेखि ठप्प रहेका छन् ।

अहिले तराई मधेसका जिल्लामा एकचौथाइ कोर्समात्र अध्यापन भएको छ । अबको मुख्य समस्या परीक्षामा पर्नेछ । सरकारले बालबालिका र विद्यालय शान्ति क्षेत्र घोषणा गरे पनि कार्यान्वयन गर्न नसक्दा आन्दोलनको प्रत्यक्ष मारमा विद्यालय र बालबालिका नै पर्ने गरेको सरोकारवालाले बताउँदै आएका छन् ।

मावि पर्वताका विज्ञान शिक्षक अञ्जयकुमारलाल कर्णले यस शैक्षिकसत्रमा मधेसका विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले मधेसका आठवटा जिल्लाका विद्यालय भूकम्पदेखि नै प्रभावित भएको जनाउँदै शिक्षा नियमावलीअनुसार विद्यार्थीको हाजिरी ७५ प्रतिशत नपुग्ने स्पष्ट पार्नुभयो ।

त्यसैगरी क्षीरेश्वरनाथ नगरपालिकाका क्षीरेश्वर जनता उच्च माविका नेपाली शिक्षक उमाकान्त पहाडीले भन्नुभयो– “भूकम्पदेखि स्कुल बन्द भएकाले यसपाली विद्यार्थीको हाजिरी ७५ प्रतिशत कुनै पनि हालतमा पुग्दैन र कोर्स सकिँदैन ।”

यस्तो अवस्थामा कोचिङ कक्षा गराएर पनि कोर्स नसकिने स्थिति रहेको जनकपुरस्थित सरस्वती उमाविका शिक्षक मेघनाथ यादवले स्पष्ट पार्नुभयो ।

“एक महिनाको खाना एकै दिन खाँदा अपच हुन्छ” यादवले भन्नुभयो – “एक वर्षको कोर्स एक महिनामा कसरी पढाउन सकिन्छ रु यो विद्यार्थीलाई मानसिक बोझ दिने काममात्र हुन्छ ।” एसएलसीको मिति पछि सार्नुको कुनै विकल्प नरहेको उहाँको सुझाव छ ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया