भक्तपुर - जीवनको लामो समय शिक्षण पेशामा रहेर शैक्षिक उन्नयनमा योगदान पुर्याएको भन्दै १३ जना शिक्षकलाई सम्मा गरिएको छ । भक्तपुरको आधारभूत विद्यालय समितिको २० औं वार्षिकोत्सवको अवसरमा विभिन्न विद्यालयका शिक्षकहरुलाई सम्मानित गरिएको हो । समाजमा शिक्षकलाई हेर्ने दृष्टिकोणमा नकारात्मकता आइरहेको बेलामा गरिएको सम्मानले अझ हौसला बढेको भनदै सम्मानित शिक्षक दंग परेका छन् ।
सम्मानित हुने शिक्षकहरुमा समाज सुधार माविका शिक्षकद्वय राम प्रजापति र सुरेन्द्रमान वासिंछ्याक, भारती आधारभूत विद्यालयका शशिकला प्रधानाङ्ग र पुनकेशरी प्रधानाङ्ग, बालसेवक आधारभूत विद्यालयका रञ्जना प्रधानाङ्ग, गणेश मावि भार्वाचोका उमेश प्रजापति, नवीन आधारभूत विद्यालयका कृष्णराम न्हिसुतु, भक्तबहादुर नगरकोटी, ब्रम्हचारिणी आधारभूत विद्यालयका शारदा वैद्य, तारा माविका राजाराम सुवाल, शारदा आधारभूत विद्यालयका हरिकृष्ण रञ्जित, जनसेवा आधारभूत विद्यालयका विश्वराम सुवाल र कृष्णप्रसाद सुवाल रहेका छन् ।
उनीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । सो अवसरमा नगरपालिका प्रमुख प्रजापतिले सामुदायिक विद्यालयको स्तर राम्रो बनाउन स्थानीय सरकार, शिक्षकको मेहेनत र विद्यार्थीहरुको लगनशीलता आवश्यक भएको बताए । उनले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा आइसकेपछि भक्तपुरको शिक्षाको स्तर माथि उकास्नका लागि नगरभित्रका सामुदायिक विद्यालयहरुको भौतिक सुधारको लागि आर्थिक सहयोग प्रदान गरेको, शिक्षक–शिक्षिकाहरुलाई मन्टेश्वरी सिकाइ प्रविधिको तालिम सञ्चालन गरेको जानकारी दिए ।
उनले भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृति, सम्पदा, खेलकुद आदिको विषयमा नयाँ पुस्तालाई जानकारी दिन भक्तपुर नगरभित्रका सबै विद्यालयहरुमा शिक्षा ऐन र स्थानीय पाठ्यक्रम लागु गरेको पनि चर्चा गरेका थिए ।
सोही अवसरमा पद्म माविका स्रोतव्यक्ति धु्रवलाल हमालले आधारभूत विद्यालय समिति विद्यालय र विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न गठन भएको बताउँदै समाजलाई अगाडि बढाउनका लागि पनि शिक्षककै भूमिका हुनेमा जोड दिए । बासु माविका प्रअ अम्बिका न्याइँच्याइँले समितिले गुणस्तरीय शिक्षा र शिक्षण पद्धति परिस्कृत बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै विद्यार्थीको बौद्धिक क्षमता विकासको निम्ति अतिरिक्त क्रियाकलाप सञ्चालनको आवश्यकता औंल्याइन् । आधारभूत माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष पुष्पलाल सुजखूले देशको लागि असल नागरिक तयार गर्ने उद्देश्यले समितिको स्थापना गरेको बताए ।
सोही अवसरमा विभिन्न प्रतियोगिताका विजयीहरुलाई पदक र प्रमाण पत्र दिइएको समेत दिईएको थियो । यस्ता कार्यक्रमले सम्बन्धित क्षेत्रमा लाग्नेलाई थप हौसला र प्रेरणा मिल्ने अपेक्षा गरेको समितिका अध्यक्ष सूर्यबहादुर फोँजूले बताए ।
प्रतिक्रिया