Edukhabar
आइतबार, ०६ असोज २०८१
विचार / विमर्श

कसरी गर्ने निमावि अन्तर्वार्ता तयारी ?

बुधबार, १८ कार्तिक २०७२

- गौतम महर्जन / अघिल्लो पटक खुलेको शिक्षक सेवा आयोगको परीक्षामा निम्न माध्यामिक तर्फ ललितपुर जिल्ला प्रथम भएपछि आयोग तयारी गरेका र गर्न चाहने प्राय: सबैको एउटै प्रश्न हुन्थ्यो – कसरी पहिलो भयौ ? म सबै भन्दा राम्रो भएर पहिलो भएको हुँ जस्तो मलाई नै लाग्दैन । जतिखेर मैले परीक्षा दिएँ त्यस बेलामा म भन्दा राम्रो लेख्न र गर्न सक्ने अरु नभएकोले नै म पहिलो भएँ जस्तो लाग्छ ।

त्यसैले म कसरी पहिलो भएँ भन्ने ठ्याक्कै उत्तर म सँग नै छैन । तर मैले के गरेँ भन्ने कुरा चाँही म यहाँहरुलाई बताउन सक्छु ।  सबै भन्दा मुख्य कुरा लिखित परीक्षा नै हो रहेछ । लिखितमा राम्रो भयो भने अन्तर्वार्ताका बेला आत्मविश्वास बढ्दो रहेछ र अन्तर्वार्ता पनि राम्रो हुदोँ रहेछ । अहिले लिखित पास भएर अन्तर्वार्ताको तयारीमा रहेका साथिहरुलाई मेरो लिखित भन्दा पनि अन्तर्वार्ताको अनुभव सुनाउँदा उपयोगि हुने ठान्छु । 

जव म अन्र्तवार्ता दिन भित्र छिरेँ, त्यहाँ त अन्तर्वार्ता लिनेहरुको तयारी नै भएको रहेनछ । उहाँहरु नै अलमलमा देखिनु भयो । फितलो तयारी देखेर म छक्क परें । यसले पनि मलाई थप आत्मविश्वासी बनायो । उहाँहरु तम्तयार भएको भए सम्भवतः म हतोत्साहि हुन सक्थे तर उहाँहरुको अलमलले मलाई सम्हालिन सघायो ।

पहिलो प्रश्न

सबै भन्दा पहिले मलाई निम्न माध्यामिक तहको पाठ्यक्रमका बारेमा सोधियो, म त्यस भन्दा अघि माध्यामिकमा पढाउने भएकोले मलाई सबै आएन । नआएको कुरा मैले नलजाई आउँदैन भने । मेरो कुरा सुनेर उहाँहरु हाँस्नु भयो । मलाई के लाग्यो भने ईमान्दार हुनु राम्रो रहेछ । शायद उहाँहरुले यसलाई मेरो ईमान्दारिता वा अवोधपनाका हिसावमा बुझ्नु भयो जस्तो लाग्यो ।

दोश्रो प्रश्न

तपाई हेडमाष्टर भए विद्यालय सुधारका लागि के गर्नु हुन्छ ? भनेर सोधियो । मैले ३ वटा मुख्य कुरा गरें । पहिलो म अरु विद्यालय भ्रमण गरेर त्यहाँका राम्रा कुरा अपनाउँछु, दोश्रो ती राम्रा कुरा लागू गर्न नीयम बनाउँछु र तेश्रो म आफैंबाट लागू गर्छु भनेँ ।

मैले त्यो प्रश्नमा चलन चल्तिका हेडमाष्टरलाई गालि पनि गरेँ । प्राय उनीहरु १० –५ समेत विद्यालय बस्दैनन्, अभिभावक र सरोकारवालाहरुसँग छलफल गर्दैनन् म भएको भए गर्थेँ । उनीहरुका राम्रा सुझाव र सल्लाह उनीहरुकै सहकार्यमा लागू गर्थें भने ।

तेश्रो प्रश्न

शैक्षिक सामाग्री कसरी निर्माण गर्नुहुन्छ ? भनेर मलाई अर्को प्रश्न सोधियो । मैले सबै जना नो कष्ट लो कष्ट टिचिङ् म्याटेरियलका बारेमा बोल्छन् तर मलाई त म नै अर्थात् शिक्षक नै शैक्षिक सामाग्री हो जस्तो लाग्छ भनेँ ।

कसरी ?

म आफैं कृयाकलाप गर्छु, विद्यार्थीलाई सहभागि गराउँछु, प्रत्यक्ष सहभागिता हुने भएपछि अडियो, भिडियो नै भएन र ? मैलेप्रतिप्रश्न गरेँ । प्रत्यक्ष शैक्षिक सामाग्रीले नपुग्ने भएमा म स्थानीय सामाग्रीको अधिकतम प्रयोग गरेर शैक्षिक सामाग्री निर्माण गरी विद्यार्थीलाई बुझाउँछु भने ।

चौथो प्रश्न

प्रजातन्त्रका बारेमा विद्यार्थीलाई बुझाउनुहोस् ?
अन्तर्वार्ता लिनेहरुलाई विद्यार्थी ठानेर मैले पढाउन थालेँ । अब्राहम लिँकनको परिभाषाका आधारमा, जनताका अधिकार र अधिकार भनेको के हो ? भन्ने कुरा बुझाएँ । परिभाषामा भन्दा पनि एक विद्यार्थीले अर्को विद्यार्थीलाई गर्ने सम्मान नै प्रजातन्त्रको पहिलो आधार हो भनेर बुझाउने कोशिस गरेँ ।

अन्त्यमा, मलाई अँग्रेजी ब्याकरणको एउटा प्रश्न सोधियो । म अँग्रेजी विषयको शिक्षकको अन्तर्वार्तामा भएकोले होला मलाई प्यासिभ र एक्टिभ भाषाका बारेमा सोधिएको थियो । विईङ् र ह्याविङ्को प्रयोगका बारेमा सोधिएको उक्त प्रश्न कक्षा ११ का विद्यार्थीलाई पढाउँदा पढेको थिएँ । त्यो निमाविको स्तरलाई थिएन । तर मलाई सोधियो । मैले जे जानेको थिएँ त्यहि बताएँ । यसबाट मलाई के थाह भयो भने, जुन स्तरको लागि अन्तर्वार्ता हो, त्यो भन्दा माथिल्लो स्तरको प्रश्न समेत सोधिने रैछ ।

मेरो अन्र्तवार्ता यिनै प्रश्न र उत्तरमा सकिएको थियो । यति गर्दा लगभग ७ मिनेट जति वितेको थियो ।

अन्तर्वार्तामा गर्नु पर्ने तयारी :

अन्तर्वार्तामा के कस्तो तयारी गर्दा राम्रो हुन्छ भन्ने बारेमा म तपाईहरुलाई बुँदागत रुपमा केही कुरा उल्लेख गर्न चाहन्छु ।

– अन्तर्वार्ता छ भनेर रातभरी नसुति पढ्ने नगर्नुहोस् जसले गर्दा तपाईको स्फूर्ती हराउन सक्छ । तपाई लोसे देखिनु भनेको तपाईको ब्यक्तित्व खस्कनु हो ।

– अन्तर्वार्ताको तयारी गर्दा घोकेर भन्दा पनि विषयबस्तुको बुझाईमा ध्यान दिनुहोस् । अलमलमा पर्ने डर भयो भने बुँदागत रुपमा तयारी गर्नुहोस् ।

– आफूलाई सुहाउने साधारण पहिरन लगाउनुहोस् जसले तपाईको ब्यक्तित्वमा थप निखार ल्याओस् । ध्यान दिनुहोस् तपाईको पोशाक तडकभडक पूर्ण नदेखियोस् ।

– अन्तर्वार्ता कक्षमा छिर्नु अघि मोवाईलको स्विच अफ गर्नुहोस्, घडि लगायत तपाईसँग भएका कुनै सामाग्रीमा कुनै किसिमको आवाज आउने छ भने आवाज नआउने बनाउनुहोस् । जसले गर्दा अन्तर्वार्ताको समयमा ती सामाग्रीबाट निस्केको आवाजले तपाईको ध्यान नबिगारोस् ।

– अन्तर्वार्ता कक्षमा छिर्दा हँसिलो अनुहारमा छिर्नुहोस्, भित्र छिरेपछि सबैलाई नमस्कार गर्नुहोस् । यसले तपाईको शिष्टता देखाउँछ । 

– तपाईको लागि बस्न ब्यवस्था गरेको सिटमा बस्दा खुट्टा हल्लाएर नबस्नुहोस् ।

– शरीरलाई असजिलो गरेर हैन आरामसँग बस्नुहोस् ।

– अन्तर्वार्ता लिने ब्यक्तिको आँखामा आँखा जुधाएर बोल्नुहोस् । यसले तपाईको आत्मविश्वास झल्काउँछ ।

– अन्तर्वार्तालाई बोझ हैन, तपाईले जानेको कुरा नजानेको ब्यक्तिलाई शेयरीङ् गर्ने विधि हो भन्ने तरिकाले बुझ्नु होस् ।

– अन्तर्वार्तालाई रमाईलो तरिकाले सम्पन्न गर्न हँसिलो हुनु जरुरी छ । यसले तपाईको ब्यक्तित्वमा थप निखार ल्याउँछ ।

– अन्तर्वार्ता लिनेले तपाईलाई झुक्याउने कोशिस गर्न सक्छन्, त्यसैले प्रश्न नबुझेमा वा आफूलाई अस्पष्ट भएमा पुन भन्न आग्रह गर्नुहोस् यसले गर्दा तपाईले मनमनै तयारी गर्ने समय पाउनु हुन्छ ।

– याद राख्नुहोस् पटक पटक सोध्नु भयो भने अन्तर्वार्ता लिनेहरु झर्कने सम्भावना पनि हुन्छ ।

– तर, उनीहरु झर्के भने पनि तपाई नहड्बडाउनुहोस् आरामसँग उत्तर दिनुहोस् ।

– उत्तर दिदाँ हाउभाउ सहित दिनुहोस्, मूर्ति जस्तो हुनबाट बच्नुहोस् । शरीरलाई चलायमान बनाउनुहोस् । तर ख्याल गर्नुहोस् आवश्यकता भन्दा बढि हाउभाउ प्रत्युत्पादक हुन सक्छ ।

– अन्त्यमा हँसिलो अनुहार बनाएर विदा हुनुहोस् ।

कात्तिक २० गते हुने निमाविको अन्तर्वार्तामा सहभागि हुने उम्मेद्वारलाई सहयोगि हुन सक्ने अपेक्षाका साथ प्रस्तुत गरिएको यो सामाग्री यस अघिको आयोगमा ललितपुरबाट निमाविमा प्रथम भएका महर्जनसँग गरिएको कुराकानीमा आधारित हो । हाल उनी लगनखेलमा रहेको नमूना मच्छिन्द्र माविमा पढाउँछन् - सं.

प्रतिक्रिया