Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

गाउँपालिकाद्वारा सामुदायिक स्कुलमा निशुल्क स्वास्थ्य परिक्षण

शनिबार, २५ फागुन २०७५

काठमाडौं २५ फागुन / डोटीको केआईसिंह गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण अभियान सुरु गरेको छ ।

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न गाउँपालिकाले अभियान सुरु गरेको हो ।

केआईसिंह गाउँपालिकाको वडा नम्बर ५ कमलकट्टे स्थित भूवनेश्वर माविका विद्यार्थीहरुको डा. राजु गुरुङको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण सुरु गरेको हो ।

केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बुधबार विद्यार्थीहरुलाई जुकाको औषधी खुवाएर अभियानको उद्घाटन गरेका थिए । गाउँपालिकालाई स्वास्थ्य परिक्षण गर्न नीतिगत व्यवस्था र बजेट बिनियोजन गर्न डोटीमा कार्यरत गैर सरकारी संस्था एफएमडिसीद्वारा संचालित पारस्परीक जवाफदेहिता परियोजनाले पैरबी गरेको थियो ।

चालु आर्थिक वर्षमा केआईसिंह गाउँपालिका–५ स्थित चारवटा सामुदायिक विद्यालयमा स्वास्थ्य परिक्षण गर्न गाउँपालिकाले बजेट बिनियोजन गरेको छ भने आगामी आर्थिक वर्षबाट गाउँपालिकाभरका सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसबाहेक गाउँपालिकाले आँखा कमजोर भएका विद्यार्थीहरुलाई चश्मा तथा महिनावारी भएका छात्राहरुका लागि सेनटरी प्याड समेत हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले विद्यार्थीहरुको समयमै स्वास्थ्य अवस्थाबारे जाँचबुझ गरी स्वस्थ र निरोगी नागरिक बनाउन गाउँपालिका लागिरहेको बताए ।

उनले विद्यालयलाई प्राथमिक उपचार सामाग्री भएको किटबक्स समेत बितरण गरेका थिए । गाउँपालिका उपाध्यक्ष मिना विष्टका अनुसार भूवनेश्वर माविमा गरिएको स्वास्थ्य परिक्षणमा विद्यार्थीको तौल, उचाई नाप्नुका साथै उनीहरुको कान, नाक, दाँतलगायत परिक्षण गरिएको थियो ।

अन्नपूर्ण पोष्टमा खगेन्द्रबहादुर सिंहले लेखेका छन् ।

प्रतिक्रिया