Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

चौतर्फि विरोध पछि शैक्षिक हड्ताल फिर्ता

बुधबार, २२ फागुन २०७५

काठमाडौं - आन्दोलनरत नेपाल राहत तथा बालविकास शिक्षक केन्द्रिय समितिले शैक्षिक हड्तालको कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ । समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्ण बहादुर मगरले विज्ञप्ति निकालेर 'विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकारलाई मध्यनजर गरी आम शैक्षिक हड्ताल फिर्ता गरेको' उल्लेख गरिएको छ । 

विद्यालय बन्दै गरेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका राहत तथा बालविकासका शिक्षकहरुले घोषणा गरेको शैक्षिक हड्तालको चौतर्फि विरोध भए पछि उनीहरु पछि हट्न वाध्य भएका हुन् । आफ्ना माग पुरा गराउन विद्यार्थीको पढ्न पाउने हक खोसेको भन्दै शिक्षकको विरोध भएको थियो । विद्यालय बन्द गर्ने कार्यप्रति आपत्ति जनाउँदै संघीय शिक्षा मन्त्रालयले विद्यालयको पठन पाठन सहज बनाउन स्थानीय सरकारसँग आग्रह गरेसँगै कतिपय स्थानीय सरकारले पनि शिक्षकलाई कारवाही गर्ने चेतावनी दिएका थिए । सत्तारुढ दल निकट विद्यार्थी सँगठन र सार्वजनिक शिक्षाका पक्षधरहरुको व्यापक आलोचना पछि शिक्षकहरुले हड्ताल फिर्ता लिएका हुन् । 

घोषित विरोधका अन्य कार्यक्रम यथावत राख्ने उक्त विज्ञप्तिमा उल्लेख छ । उनीहरुले हड्ताल फिर्ता लिएको जनाए पनि आन्दोलनका अन्य कार्यक्रम यथावत राख्ने कुराले कक्षा कोठामा शिक्षक अनुपस्थित हुने क्रम भने जारी नै रहने देखिएको छ । 

शिक्षक अभाव टार्न विभिन्न समयमा नियुक्त करिब ४० हजार राहत शिक्षकलाई दरबन्दीलाई परिणत गरी ८० प्रतिशत खुल्ला र २० प्रतिशत आन्तरिक प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने शिक्षा ऐनको प्रस्ताव विरुद्ध स्वतः स्थायीको माग सहित शिक्षकहरु ४ दिन देखि आन्दोलनमा छन् । निश्चित खास परिस्थितीमा समयका लागि नियुक्त उनीहरुको स्वतः स्थायीको माग सार्वजनिक शिक्षा सुधारका लागि घातक भन्दै आलोचना हुँदै आएको छ । 

 

प्रतिक्रिया