Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

शिक्षकको प्रदर्शनमा प्रहरीको लाठिचार्ज र पानीको फोहोरा

आइतबार, १९ फागुन २०७५

काठमाडौं - स्थायीको माग गर्दै आन्दोलनमा उत्रिएका राहत तथा बालविकास शिक्षकको प्रदर्शनलाई पानीको फोहोरा हानेर प्रहरीले तितरवितर बनाएको छ । माईतिघर मण्डलाबाट शुरु शिक्षकको प्रदर्शन संघीय संसद भवन तिर जाँदै गर्दा प्रहरीले विजुली बजारमा रोकेको थियो । धकेला धकेल गर्दै शिक्षकको प्रदर्शन अघि बढेपछि बानेश्वर चोक नपुग्दै प्रहरीले  हस्तक्षेप गरेको हो । 

निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रहरीले आग्रह गर्दा पनि प्रदर्शन अघि बढेपछि प्रहरीले पानीको फोहोरा हानेर तितरवितर बनाएको हो । प्रहरीले लाठिचार्ज समेत गरेको थियो । प्रहरीको हस्तक्षेपमा परी आफ्ना २ दर्जन साथी घाईते भएको नेपाल राहत शिक्षक समितिका अध्यक्ष खेम अधिकारीले दावी गरे ।

'शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्नु खेदजनक कार्य हो' उनले भने, 'बर्षौ देखि पढाएका हामी शिक्षकको योगदानको कदर गर्नु त कता हो कता प्रहरी लगाएर हामीलाई दमन गर्नु सरकारको लाचारी हो ।'

शिक्षा मन्त्रीले प्रहरी प्रशासन लगाएर आफूहरुलाई दवाउन खोजेको भन्दै उनले  आपत्ति जनाएका छन् । 

हाल कार्यरत राहत र उच्च माध्यमिक तहको शिक्षक अनुदान कोटा स्वतःस्थायी दरबन्दीमा रुपान्तरण गर्ने गरी राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार पारिएको खबर सार्वजनिक भएसँगै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । देशभरबाट काठमाडौं केन्द्रित भएर राहत शिक्षकले आन्दोलन शुरु गरेका छन् । 

ऐनको ब्यवस्था अनुसार सिर्जना भएका स्थायी दरबन्दीमा शिक्षक सेवा आयोगको सिफारिसमा २० प्रतिशत दरबन्दीमा मात्रै उनीहरुलाई प्रतिस्पर्धाको अवसर सुनिश्चित  गर्ने प्रस्तावित प्रावधानमा उनीहरुको आपत्ति छ । 

पढ्नुहोस् खबर : राहत र उच्च मावि कोटामा स्वतः स्थायी दरबन्दीको प्रस्ताव, २० प्रतिशत अवसर सुनिश्चित

प्रतिक्रिया