काठमाडौं - शिक्षक सेवा आयोगबाट जारी गरिएको तर म्याद सकिएको अस्थायी अध्यापन अनुमतिपत्र बुझाएर राहत कोटामा नियुक्त भएको अभियोगमा अख्तियार दुरुपयोेग अनुसन्धान आयोगले एक जना शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ ।
नवलपरासीको साविक सनई गा.वि.स. वडा नं. ७, रगरगंज स्थित श्री बाईसीदेवी प्राथमिक विद्यालयले ९ बर्ष अघि गरेको राहत शिक्षक पदपूर्तिको विज्ञापनमा सहभागी वाल्मिकि गुप्ताको नियुक्तिमा त्रुटि देखिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । हाल पाल्हीनन्दन गाउँपालिका अनर्तगत पर्ने उक्त विद्यालयले २०६६ साल साउन ३१ गते प्राथमिक तह राहत शिक्षक पदमा विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा अध्यापन अनुमति पत्र नभएका व्यक्तिहरूलाई समेत परीक्षामा सामेल गरेको र अध्यापन अनुमति पत्र नभएका गुप्तालाई शिक्षक पदमा नियुक्ति गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।
स्थायी अनुमति पत्र पेश गर्नु पर्नेमा गुप्ताले शिक्षक सेवा आयोगबाट जारी गरिएको तर म्याद सकिएको अस्थायी अध्यापन अनुमतिपत्रमा म्याद उल्लेख भएको भाग मेटाई सोही अध्यापन अनुमतिपत्रको झुट्टा विवरण पेश गरेको अख्तियारको दावी छ । उनको उक्त कार्य अनधिकृत र गैरकानूनी भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जनाएका छन् ।
प्रतिक्रिया