Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

पार्टी कार्यालयमै विद्यार्थी कुटाकुट गर्दा कांग्रेस नेता मौन

मंगलबार, १४ फागुन २०७५

काठमाडौं १४ फागुन / कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको दुई खेमाका नेता–कार्यकर्ता आपसमै भिडे । झगडा साम्य पार्न प्रहरी आएर लाठीचार्ज गर्नुप-यो । तर, केन्द्रीय समिति बैठक बस्ने तयारीमा रहेका माउ पार्टीका नेताहरू दोस्रो तलाबाट रमिता हेरेर मात्रै बसे । नयाँ पत्रिकाका अनुसार झगडा मिलाउन आँगनमा झर्ने आँटसमेत गरेनन् । 

झडप शान्त भएपछि नेविसंघका नेता–कार्यकर्तालाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइयो । तर, त्यसपछि बसेको केन्द्रीय समिति बैठकमा आँगनमै मच्चिएको ताण्डवबारे छलफलसमेत भएन । बोल्न खोज्ने नेताहरूलाई पनि सभापति शेरबहादुर देउवाले रुलिङ गरेर बस्न लगाए । सभापति देउवा र कृष्ण सिटौला पक्षका विद्यार्थीबीच झडप भएको थियो ।

पार्टीका भावी नेताहरूको यस्तो अराजकताबारे कांग्रेसले केन्द्रीय समिति बैठकमा छलफल गरेको छैन र त्यसपछि पनि मुख खोलेको छैन । घटनाको छानबिन र दोषीलाई कारबाही गर्ने औपचारिकतासमेत पार्टीले देखाएको छैन । नेविसंघ १२ महाधिवेशनको पर्खाइमा छ । अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल र थप गरिएको पाँच महिनाभित्रसमेत महाधिवेशन गर्न सकेनन् । त्यसैले उनले राजीनामा दिए । तर, महरले राजीनामा दिएको १५ दिनपछि पनि तदर्थ समिति गठन नभएपछि नेविसंघमा नेतृत्वविहीनता र अराजकता बढेको छ ।

 तदर्थ समिति गठन गर्ने बाटो खुलेदेखि नै पार्टी नेतृत्वलाई दबाब दिन विभिन्न समूह अग्रसर भएका छन् । कृष्णप्रसाद सिटौला पक्षले केन्द्रीय समितिको बैठक बस्ने दिन नियमित केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै विधानअनुसार ३२ वर्षे उमेरहद लगाएर तदर्थ समिति बनाउन माग राख्दै आएको छ । यो पक्षले सभापति शेरबहादुर देउवासहितका अरू पदाधिकारी कार्यालय प्रवेश गर्दा घेराउ र नाराबाजी गर्दै आएको थियो । आइतबार पार्टी संस्थापन पक्षका नेता–कार्यकर्ता पनि सानेपा पुगेपछि झडप भयो । 

पार्टी कार्यालयमै सभापतिलाई घेर्न थालेपछि सहेनौँ : ऋषिकेशजंगह शाह
कार्यकर्तासँग नेता डराउनुपर्ने अवस्था आयो । सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा. प्रकाशशरण महतलाई केन्द्रीय कार्यालयमा केही दिनयता नेविसंघका नेता र विद्यार्थीले अनावश्यक घेराउ र अपमान गरे । लोकतान्त्रिक र अनुशासित पार्टीभित्र अराजकता हुुनुहुँदैन । सभापतिसहितलाई १० जना मान्छे गएर सधैँ घेर्ने शैली ठीक छैन भनेर हामी पनि केन्द्रीय कार्यालयमा पुगेका हौँ । 

अराजकता भयो भनेर गएका हौँ । कोही व्यक्तिका विरुद्ध लाग्न र आक्रमण गर्न गएका होइनौँ । हाम्रो ब्यानर च्यातियो, हामीमाथि पानीको बोतल फ्याँकियो अनि झडपको स्थिति आएको हो । जुन घटना दुखद् हो । हामी संगठनमा आत्मीयतासहितको एकता हुनुपर्छ भन्नेमा छौँ । 

नयाँ पत्रिकामा रमेश सापकोटाले लेखेका छन् । 

प्रतिक्रिया