Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

अब हरेक विद्यालयमा नर्स : ‘पाइलट प्रोजेक्ट’का रूपमा २० विद्यालयमा सुरु

आइतबार, १२ फागुन २०७५

काठमाडौं १२ फागुन / यौन, प्रजनन लगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको छ । नयाँ पत्रिकाका अनुसार ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का रूपमा तत्काल प्रदेश ३ का २० विद्यालयमा नर्स खटाएको हो ।

बालबालिका घरबाहेक बढी समय विद्यालयमा रहने र उनीहरूलाई स्वास्थ्य समस्या पर्दा उपचार नभएपछि सरकारले सबै सामुदायिक र निजी विद्यालयमा अनिवार्य नर्स राख्ने नीति ल्याएको हो । ‘अहिले १३ जिल्लाका २० विद्यालयमा नर्स राखिएको छ,’ प्रदेश ३ को सामाजिक विकास मन्त्रालयकी पब्लिक हेल्थ नर्स मिलन घिमिरेले भनिन्, ‘नेपालको इतिहासमै पहिलोपटक सामुदायिक विद्यालयमा यस्तो सेवा सुरु भएको छ ।’ 

विद्यालयमा नर्सले किशोर–किशोरीलाई प्रजनन, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा परामर्श दिने गर्छन् । यस्तै, व्यक्तिगत/वातावरणीय सफाइ तथा फोहोरमैला व्यवस्थापन, स्वस्थकर जीवनशैली, सामान्य स्वास्थ्य परीक्षण र पोषणको लेखाजोखा गर्ने उनीहरूको जिम्मेवारी हुन्छ । स्वास्थ्य जटिल भए थप उपचारका लागि अन्यत्र पठाउनुपरे स्वास्थ्य संस्थासँग समन्वय गरिदिनुपर्छ । नर्सले अखाद्य वस्तु ‘जंक फुड’को प्रयोगमा नियन्त्रण, यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको दुरुपयोग न्यूनीकरणका लागि अभिभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुपर्ने हुन्छ ।

नयाँ पत्रिकामा प्रकाशित 

प्रतिक्रिया