Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

अब स्मार्ट छोरी

मंगलबार, ०७ फागुन २०७५

काठमाडौं ७ फागुन / देशका विभिन्न भागमा भइरहेका बालिका अपहरण, बलात्कार र हत्याका घटनाले किशोरीलाई त्रस्त बनाइरहेको छ । अधिकांश छोरीले सामाजिक विभेद, हिंसा, दुव्र्यवहार र शोषणका कारण पनि आफूलाई कमजोर ठानिरहेका छन् तर तुलसीपुरका छोरीहरू भने अब आफूलाई कमजोर महसुस गर्नेछैनन् ।

उनीहरू छातीमा ‘स्मार्ट छोरी’ को लोगो लगाएर निर्धक्क हिँड्नेछन् । विद्यालय आउँदा–जाँदा उनीहरूको पहिचान नै बेग्लै हुनेछ । सबैले भन्नेछन्, ‘हाम्री स्मार्ट छोरी ।’

स्मार्ट सहरको योजना बनाइरहेको दाङ्को तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट छोरी अभियान थालेको हो । छोरीहरूमा समाजमा भइरहेको विभेद, हिंसा, दुव्र्यवहार र शोषणविरुद्ध सामना गर्न सक्ने आत्मविश्वास बढाउँदै स्मार्ट बनाउने योजना बनाइएको स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले बताए । ‘छोरीहरूले जान्नैपर्ने आधारभूत ज्ञान दिएर उनीहरूको आत्मबल बढाउँदै छौं । उनीहरूले जीवनमा आवश्यक पर्ने उपयोगी सीप पनि सिक्दै छन्,’ उनले भने, ‘एउटा असल, विवेकी र आँटिली छोरी बन्न प्रेरित गर्दै छौं ।’ तुलसीपुर–४, रक्षाचौरस्थित गुरुजजुर माविबाट सोमबारदेखि यसको सुरुवात गरिएको छ ।

उपमहानगरका ५ सय छोरीलाई स्मार्ट बनाउने उद्देश्यले अभियान थालिएको दाहालले जानकारी दिए । उपमहानगरका विभिन्न क्षेत्र समेटिने गरी ५ विद्यालयका छात्रालाई यसमा सामेल गरिने उनले बताए । स्मार्ट छोरीका लागि २ दिनको तालिम दिइनेछ । उक्त तालिमपछि स्मार्ट छोरीको प्रमाणपत्र दिएर हौसला प्रदान गरिने दाहालले जानकारी दिए । तालिममा नेतृत्व, स्वास्थ्य सचेतना, बालअधिकार, महिला अधिकार, बालविवाह, हिंसा, शोषण, साइबर अपराध, दुव्र्यसन, यौन तथा प्रजनन अधिकार, जीवन उपयोगी सीप, तनाव व्यवस्थापनका साथै आत्मरक्षाका सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गरिएको उनले बताए ।

कक्षा ९ मा अध्ययनरत छात्राहरूबाट यसको सुरुवात गरिएको र बिस्तारै अन्य किशोरीलाई पनि यसमा सामेल गर्दै जाने स्वास्थ्य शाखाका विमल केसीले बताए । सहर स्मार्ट हुनलाई छोरी पनि स्मार्ट हुनुपर्ने उद्देश्यअनुसार यस्तो अभियान थालिएको उनले बताए । छोरीहरू आत्मविश्वासी भएको घर स्मार्ट हुने भएकाले सबै अभिभावकले छोरीलाई उचित अवसर र हौसला दिन आवश्यक रहेको उपमहानगरपालिका उपप्रमुख माया आचार्यले बताइन् ।

‘सामाजिक संरचनै विभेदकारी भएकाले छोरीहरू हीनताबोध गर्छन् । आफूलाई कमजोर ठान्छन्,’ उनले भनिन्, ‘स्मार्ट छोरी अभियानले उनीहरूलाई मनोवैज्ञानिक रूपमा नै बलियो बनाउनेछ ।’ सधैं आफूलाई कमजोर ठान्ने छात्राले तालिमपछि आत्मबल बढेको बताए । ‘विद्यालय आउँदा–जाँदा पनि डर लाग्थ्यो । जंगलको बाटो हिँड्नुपर्छ,’ गुरुजजुर माविमा ९ कक्षामा अध्ययनरत सविना डाँगीले भनिन्, ‘अब सानातिना समस्याको सामना गर्न सकिन्छ भन्ने आत्मबल बढेको छ । हामी पनि केही गर्न सक्छौं भन्ने साहस थपिएको छ ।’

छोरीको जुनी पाएको भन्दै आफूलाई कमजोर ठान्ने बालिकाहरू पनि अब आफूलाई स्मार्ट भन्न सक्ने भएका छन् । घरपरिवार र समाजमा छोरीलाई दोस्रो दर्जाको व्यवहार गर्ने गरिएकामा दु:खी हुने बालिका अब केही उपलब्धिमूलक काम गर्न सक्ने आँट आएको बताउँछन् । ‘स्मार्ट भन्नेबित्तिकै म केही गर्न सक्षम छु भन्ने महसुुस हुन्छ,’ ९ कक्षाकी सुनीता केसीले भनिन्, ‘हामी पनि समाजमा उदाहरणीय बन्न सक्छौं भन्ने आत्मविश्वास बढेको छ ।’

कमजोर मानसिकताका कारण बालिकामाथि आक्रमण हुने भएकाले आत्मबल वृद्धि गर्दा पनि धेरै सुरक्षाको महसुस हुन सक्ने आत्मरक्षा तालिमका प्रशिक्षक नीरज न्यौपानेले बताए । ‘मानसिक रूपमा जस्तोसुकै जोखिम पनि सामना गर्न सक्छु भन्ने सोच आउनु पनि जटिलताबाट मुक्ति पाउने उपाय हो,’ उनले भने, ‘जीवन उपयोगी सीप स्मार्ट बन्न सहयोगी हुन्छन् ।’

स्मार्ट छोरी अभियान निकै रचनात्मक अभियान भएको र यसले अन्य छोरीहरूलाई पनि हौसला प्रदान गरेको अर्की प्रशिक्षक विद्या विष्टले बताइन् । बिस्तारै उपमहानगरका सबै विद्यालयमा यो अभियानलाई विस्तार गर्दै लैजाने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारूले बताए । छोरीहरूलाई सिर्जनशील बनाउन यो अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

कान्तिपुरमा दुर्गालाल केसीले लेखेका छन् । 

प्रतिक्रिया