Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

दाउरा नलगे विद्यार्थी निःशुल्क दिवा खाजाबाटै वञ्चित

आइतबार, ०५ फागुन २०७५


काठमाडौं ५ फागुन / ग्रामीण क्षेत्रका गरिब परिवारका बालबालिकालाई लक्षित गरी सरकारले आधारभूत तहमा निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ । विपन्न बालबालिकालाई विद्यालयमा आकर्षण गर्न सरकारले विश्व खाद्य परियोजनाको सहयोगमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो । तर, बाजुराका आधारभूत तहका विद्यार्थी भने विद्यालयमा दाउरा नलगे सरकारी दिवा खाजाबाटै वञ्चित हुने गरेका छन् । 

नयाँ पत्रिकाका अनुसार  विद्यालयहरूले सरकारले खाद्यान्न दिए पनि पकाउने इन्धन नभएका कारण विद्यार्थीलाई दाउरा बोकाउनु बाध्यता भएको जनाएका छन् । तर, दाउरा ल्याउन नसक्ने विद्यार्थीलाई खाजा नै नदिएर विद्यालयले साना केटाकेटीमाथि यातना दिएका छन् । 

गौमुल गाउँपालिका–५ स्थित जीवनज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत प्रविता बोहराले दाउरा नलगे खाजा नपाइने बताइन् । ‘दाउरा नलिई विद्यालय गए खाजा नदिई सरले घर पठाउनुहुन्छ, दिनदिनै लानैपर्छ,’ बोहराले भनिन् ।

उनकी बहिनी सञ्जिताले पनि शिक्षकको निर्देशनअनुसार आफू र अन्य सबै साथीले हरेक दिन दाउरा बोकेर जाने गरेको सुनाइन् । शनिबार बिदाको दिन जंगल गएर दाउरा बटुल्ने र हरेक दिन विद्यालय जाँदा लैजाने गरेको उनीहरूले बताए ।

बाजुराका अधिकांश विद्यालयमा दिवा खाजाका लागि विद्यार्थीले दाउरा अनिवार्य लैजानुपर्ने नियम छ । सरकारले निःशुल्क खाजा भने पनि दाउरा नलगेको दिन वञ्चित गरेर विद्यालयले यातना दिएको अभिभावकहरूले गुनासो गरेका छन् । स्थानीय शंकर मिजारले दाउरा नलगेको दिन केटाकेटी भोकै घर फर्किने गरेको बताए । 

गौमुल–६ स्थित जुगाडा नवज्योति प्राथमिक विद्यालयका प्रधानाध्यापक चित्रबहादुर रोकायाले सरकारले खाजाका लागि खाद्यान्न व्यवस्था गरे पनि इन्धन नदिएकाले विद्यार्थीलाई दाउरा बोकाउनुपरेको स्विकारे । तर, दाउरा नल्याउनेलाई खाजा नै खान नदिएको आरोप गलत भएको दाबी गरे । उनले दाउरा पनि सकेसम्म अभिभावकलाई ल्याउन भनेको बताए । दिवा खाजा जिल्लाका १४२ विद्यालयमा सञ्चालन छ ।

- कुनै विद्यालयले विद्यार्थीलाई दाउरा बोकाएर मात्रै खाजा दिने गरेको छ भने त्यो गलत हो । त्यस्तो प्रमाण भेटिए सम्बन्धित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षलाई कारबाही हुन्छ - गोपालदत्त जोशी, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, बाजुरा

नयाँ पत्रिकामा  गगन अयडीले लेखेका छन् । 

प्रतिक्रिया