Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

मनलाग्दी शुल्क लिदैं निजी विद्यालय

आइतबार, ०६ असार २०७२

काठमाडौं ६ असार / निजी विद्यालयले लिने शुल्कका बारेमा शुरु अनुगमनको पहिलो दिनमै विद्यालयले मनलाग्दी शुल्क लिएको फेला परेको छ । पहिलो दिन भएको दुई विद्यालयको अनुगमनमा दुवै विद्यालयले मनलाग्दी शुल्क लिएको फेला परेको हो । शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय, अभिभावकका प्रतिनिधि सहितको टोलीले गरेको अनुगमनमा बालुवाटारमा रहेको मेरिडियन ईन्टरनेसनल स्कुलले धेरै शुल्क लिएको फेला परेको टोलीका एक सदस्यले बताए । विद्यालयले यस बर्ष प्रस्ताव गरेकै शुल्क लिएको फेला परेको छ । जुन कानून विपरित हो ।

गत बर्ष प्राथमिकमा १६ सय ५० रुपैंया लिएकोमा यस बर्ष २१ सय ४५, १८ सय ७५ लिएको निमावि तहमा यस बर्ष २४ सय ४० र २५ सय लिएको माध्यामिकमा यस बर्ष २५ सय ५० रुपैंया लिएको फेला परेको छ । यसका अलावा बार्षिक रुपमा १५ हजार रुपैंया लिएको कक्षा एकका विद्यार्थीसंग कम्युटर शिर्षकमा मासिक १ हजार लिएको फेला परेको श्रोतले बतायो ।

यस्तै र मीनभवनमा रहेको ईपीएस स्कुलले भूकम्पका कारण पठन पाठन नभएको अवधिको शुल्कमा कुनै छुट नदिएको फेला परेको छ । भुकम्प पीडितको प्रमाणपत्र ल्याउनु पर्ने भन्दै विद्यालयले छुट नदिएको फेला परेको टोलीका एक सदस्यले बताए ।

भूकम्पका कारण पठन पाठन नभएको अवधिको शुल्क मिनाहको माग गर्दै आन्दोलन गरेका विद्यार्थी संग भएको सहमती अनुसार शुल्क मिनाह भएको थियो ।

शुल्क बृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनसंग शिक्षा मन्त्रालयले गत वैशाख ६ गते गरेको सहमतीमा उल्लेख भएको शुल्क बढाउन नपाईने प्राबधानको कार्यान्वयन गर्न अनुगमन शुरु भएको हो ।

अनुगमनमा फेला परेको सबै तथ्यलाई एकत्रित गरी प्रतिवेदन तयार गर्ने विभागका निर्देशक खगेन्द्र नेपालले बताए । उनले अनुगमनलाई नीयमित भनेका छन् ।

प्रतिक्रिया