काठमाडौं २७ माघ /सरस्वती पूजाको तयारीका लागि भन्दै धनुषा र महोत्तरीका थुप्रै सामुदायिक विद्यालयहरूमा एक सातादेखि पठनपाठन बन्द छ । प्रदेश २ शिक्षा विकास निर्देशनालयले पठनपाठन चालु गर्न सबै विद्यालयलाई लिखित निर्देशन दियो, तर त्यसको अवज्ञा गरियो । सकभर विद्यालय जानै नपरोस् भन्ने चाहना राख्ने यहाँका शिक्षकहरू विद्यालय बन्दको अनेक वहाना खोजिरहेका हुन्छन् र सरस्वती पूजा उनीहरूका लागि विद्यालय बन्द गर्न पाउने उपयुक्त माध्यम बन्न पुगेको छ ।
शिक्षा विकास निर्देशक रमाकान्त शर्माले प्रधानाध्यापकहरूलाई त्यसरी विद्यालय बन्द नगर्न लिखित निर्देशन दिँदा पनि अवज्ञा गरेको गुनासोे गर्दै भन्नुभयो, “प्रधानाध्यापकहरूलाई पूर्व तयारीका लागि एक दिन बिदा गर्नुहोस् भन्दा तयारी गर्न पुग्दैन, त्यसैले सातै दिन चाहिन्छ भने । उसो भए दुई दिन बिदा गर्नुहोस् न त भन्दा शिक्षक निर्देशकज्यू बरू सरस्वती पूजा नै नगर्नू भनेर आदेश दिनुस्, स्कुल खुलाइदिन्छौँ भने । मैले कसरी सरस्वती पूजा नगर्नुहोस् भन्न सक्छु ?”
कानुनमै विद्यालय कम्तीमा २२० दिन खुल्नुपर्ने र १९० पठनपाठन हुनुपर्नेमा अधिकाँश विद्यालयमा तोकिएको दिनसम्म पठनपाठन हुने गरेको पाइँदैन । विद्यालय शान्ति क्षेत्र भनिए पनि राजनीतिक दलको कार्यक्रमले सबैभन्दा प्रभावित हुने गरेको छ । धनुषा र महोत्तरीका सम्पूर्ण स्थानीय तहका प्रमुखहरूले अबदेखि राजनीतिक कारण विद्यालय बन्द गरिनेछैन भनेर लिखित हस्ताक्षर गर्नुभएको भोलिपल्टै विप्लव माओवादी निकटको क्रान्तिकारीको आह्वानका कारण यहाँका सबै विद्यालय बन्द गरिए ।
ती बाहेक विद्यालय परिसरमा मेला, भोज, सभासमारोह सबैले असर पुर्याउँदै आएको छ । धनुषाको कचुरीस्थित मिथिला आधारभूत विद्यालयका प्रधानाध्यापक रामविलास यादवले स्थानीय मेलाका कारण एक महिनासम्म विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । “मेलामा आएकाहरू हामीहरुकै विद्यालयका कोठामा सुत्छन्” उहाँले थप्नुभयो, “मेला अवधिभर पठनपाठन बन्द हुन्छ । मेलाबाट विद्यालयलाई असर नपार्न निकै प्रयास गर्यौँ, तर सम्भव नै भएन ।”
यहाँका अधिकाँश विद्यालयका कक्षाकोठामा विहान साढे १० बजेपछिमात्र शिक्षकहरु देखा पर्दछन् । विहान १० बजेबाट विद्यालय सञ्चालन हुनुपर्नेमा ढिला पुग्ने र अपराह्न ४ नबज्दै शिक्षकहरु विद्यालय परिसरबाट बाहिरिने रोगको अन्त्य गर्न कठिन रहेको शिक्षाका पदाधिकारीहरु बताउँछन् । “शिक्षक विहान १० देखि ४ बजेसम्म कक्षाकोठामा टिक्ने हो भने यहाँ ठूलै शैक्षिक क्रान्ति हुने थियो” उहाँले थप्नुभयो, “महोत्तरीका १० वटा विद्यालयमा एकै दिन छड्के अनुगमन गर्दा ५० प्रतिशत शिक्षकहरुलाई विद्यालयमा फेला नै पारिएन । खै शिक्षक भनेर सोध्दा पाँच मिनेटमात्र भयो बाहिरिएको भन्ने जवाफ पाए, तर विद्यार्थीहरुसँग सोध्दा अनुपस्थित शिक्षक सो दिन विद्यालयमा नआएको थाहा भयो ।”
शिक्षा विकास तथा समन्वय इकाइ, धनुषाका प्रमुख बरखुप्रसाद रजकले स्थानीय विदा घटाउन आफूहरुले प्रयास गरे पनि सम्भव नभएको जानकारी दिनुभयो । उहाँले बालिका शिक्षा तथा लैङ्गिक समविकास सञ्जाल गठन गरी त्यसले विद्यालयमा सशस्त्र गतिविधि, दलीय राजनीति तथा गैरशैक्षिक गतिविधिमा रोक लगाइ विद्यालयमा कम्तीमा १९२ दिन पठनपाठन सुनिश्चित गराउन लिखित प्रतिवद्धता व्यक्त गरिएको बताउनुभयो ।
महोत्तरीको मनहरा सिस्वा नगरपालिकाका प्रमुख सञ्जय सिंहले कहिले संघले, कहिले प्रदेशले र कहिले स्थानीय तहले बिदा दिँदा निर्धारित दिनसम्म विद्यालय खुल्न नसकेको बताउँदै थप्नुभयो, “आगामी शैक्षिकसत्रबाट प्रदेशस्तरमा ‘क्यालेन्डर’ तयार गरी त्यसले तोकेका दिनबाहेक बिदा नगर्ने अभ्यासको थालनी गर्नुपर्दछ ।”
प्रदेश २ का विद्यालयहरुले फागुन महिनाभित्रै सबै तहका वार्षिक परीक्षा सकेर चैत महिना आनन्दका साथ विदामा बस्ने योजना बनाइसकेका छन् । उनीहरुले आगामी फागुन मसान्तभित्र वार्षिक परीक्षा सक्ने गरी तयार गरेको परीक्षा तालिकाका बारेमा थाहा भएपछि प्रदेश शिक्षा निर्देशनालयले चैत २७ गतेभित्र सक्ने गरी परीक्षा तालिका तयार गर्न निर्देशन दिएको थियो, तर शिक्षकहरु आगामी एसईई परीक्षामा सहभागी हुनुपरेको कारण देखाउँदै फागुन मसान्तमै अन्य तहको वार्षिक परीक्षा सम्पन्न गर्ने अडानमा छन् । हामीले दिएको निर्देशनलाई रौतहटलेमात्र पालना गरेको छ भन्दै उहाँ स्पष्ट पार्नुभयो,‘‘ शिक्षकहरूको एक महिना अगाडि नै परीक्षा सकेर सुत्ने योजना हो यो । संस्कार र प्रवृत्तिमा परिवर्तन गर्न सकिएन ।”
धनुषाधाम नगरपालिकाको धनुषा जनता माध्यमिक विद्यालय परिसरमा यतिबेला मेला चलिरहेको छ । यस मेलाले विद्यालयको पठनपाठनलाई पाँच सातासम्म प्रभावित पार्नेछ । स्थानीय तहले ११ लाख रुपियाँमा मेला आयोजकलाई ठेक्का दिएको छ । त्यसमध्ये केही रकम यस विद्यालयलाई पनि दिने मौखिकरुपमा भनिएको छ, त्यसैले विद्यालयले विद्यार्थीको पठनपाठनलाई भन्दा आर्थिक पक्षलाई महत्व ठानेर मेला सञ्चालन गर्न अनुमति दिएको छ । सो माविका प्रधानाध्यापक राजेन्द्र साहले विद्यालयलाई आर्थिक समस्या भएकाले मेला सञ्चालन गर्न दिइएको बताउँदै परम्परादेखि चल्दै आएको मेलालाई रोक्न आफूहरुले नसकेको बताउनुभयो ।
विद्यालय शान्ति क्षेत्र भनिए पनि मेलामा विद्यालयभित्र चक्कु, हसिया, खुकुरी, भाला जस्ता हतियारसमेत बिक्रीका लागि राखिएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक चूडामणि पौडेलले विद्यालयलाई निर्देशन दिँदै भन्नुभयो, “आगामी वर्षबाट यस परिसरमा मेला आयोजना भएको सुन्नु नपरोस् । विद्यालयको पठनपाठनलाई नै बन्द गर्ने गरी मेला सञ्चालन गर्नु गलत काम हो ।”
गोरखापत्रमा प्रकृति अधिकारीले लेखेका छन् ।
प्रतिक्रिया