काठमाडौं २५ माघ / त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभाग र कुलचन्द्र गौतम स्मृति संस्थाबीच संस्कृत केन्द्रीय विभागको नाममा बहुउद्देश्यीय भवन निर्माण गरी संस्कृत, साहित्य, वेद, योगलगायतका विधाहरूमा अध्ययन–अनुसन्धान गर्ने सहमति भएको छ । उपकुलपति कार्यालयमा बिहीबार त्रिवि संस्कृत केन्द्रीय विभाग प्रमुख प्रा.डा. नारायणप्रसाद गौतम र कुलचन्द्र गौतम स्मृति संस्थाका अध्यक्ष डा. प्रसन्नचन्द्र गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले समाजका महत्वपूर्ण व्यक्तित्वसँग जोडिएर विश्वविद्यालयमा अनुसन्धान केन्द्र खोल्ने प्रयत्न हुनु पवित्र काम भएको बताए । विद्वान्हरूको नाममा स्थापित संघसंस्थाले विश्वविद्यालयका केन्द्रीय विभागहरूसँग सहकार्य गर्दा प्राज्ञिक गतिविधि बढ्नुका साथै ज्ञान उत्पादनमा महत्वपूर्ण सहयोग प्राप्त हुने उनको
भनाइ थियो ।
कुलचन्द्र गौतम स्मृति संस्थाका अध्यक्ष डा. प्रसन्नचन्द्र गौतमले संस्कृति केन्द्रीय विभागको नाममा चार हजार वर्गफिटको भवन निर्माण गरी प्राज्ञिक एवं अनुसन्धानका कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । त्रिवि संस्कृत केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. नारायणप्रसाद गौतमले विद्वान् कुलचन्द्र गौतमको नाममा प्राप्त सहयोगले संस्कृत केन्द्रीय विभागमा योगमा स्नातक विषय सञ्चालनमा ल्याउने र संस्कृत विषयका प्राज्ञिक अनुसन्धान कार्यलाई अघि बढाउने बताए
नयाँ पत्रिकाबाट
प्रतिक्रिया