काठमाडौं २१ माघ / पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन शुल्कका नाममा विद्यार्थीहरूसँग चर्को रकम असुल्न सम्बन्धन प्राप्त क्याम्पसहरूलाई निर्देशन दिएको छ ।
विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले स्नातक तथा स्नातकोत्तरका विद्यार्थीसँग परीक्षा शुल्कसहित सम्बन्धन शुल्क पनि लिन सम्बन्धन प्राप्त क्याम्पसहरूलाई पत्राचार गरेको हो ।
विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायअन्तर्गत बीई सिभिल, इलेक्ट्रिकल, बायो मेडिकललगायत विद्यार्थीसँग सम्बन्धन शुल्कबापत ११ हजारका दरले लिएर विश्वविद्यालयको बैंक खातामा जम्मा पार्न भनेको छ । बीई कम्प्युटरका विद्यार्थीसँग ८ हजार ५ सय तथा बीसीए, बीआईटीतर्फ ६ हजार सम्बन्धन शुल्क लिन क्याम्पसहरूलाई सर्कुलर गरिएको छ ।
परीक्षा व्यवस्थापन कार्यालयले माघ ८ गते सूचना प्रकाशित गरेर क्याम्पसहरूलाई सम्बन्धन शुल्क बुझाउन ताकेता गरेको छ । यी विषय अध्ययनरत प्रतिविद्यार्थी परीक्षा शुल्क १ हजार १ सय तोकिएको छ । परीक्षा शुल्क सम्बन्धन शुल्कबाहेकको रकम हो ।
परीक्षा नियन्त्रक सूर्यप्रसाद संग्रौलाले विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार परीक्षा व्यवस्थापन कार्यालयले सम्बन्धन शुल्क उठाउन कलेजहरूलाई सर्कुलर गरेको बताए । ‘विश्वविद्यालयको माथिल्लो निकायबाट जे निर्णय भएर आउँछ, त्यही कार्यान्वयन गर्ने हो,’ उनले भने ।
कार्यालयको माघ १४ को सूचनामा व्यवस्थापन संकायअन्तर्गत दुईवर्षे स्नातकोत्तर एमबीए र ईएमबीए अध्ययनरत विद्यार्थीका लागि प्रतिवर्ष सम्बन्धन शुल्क ११ हजार रुपैयाँ तोकिएको छ । उनीहरूले परीक्षा शुल्कबापत १ हजार ६ सय बुझाउनुपर्छ । शिक्षाशास्त्र संकाय ४ वर्षे बीएड चौथो वर्षका विद्यार्थीहरूलाई सम्बन्धन शुल्क एक हजार तोकिएको छ ।
विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा ३३ हजार विद्यार्थी अध्ययनरत छन् । सम्बन्धन शुल्कबापत विश्वविद्यालयले वार्षिक लाखौं रकम उठाउने गरेको छ । विज्ञान तथा प्रविधि, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र चिकित्सा शिक्षा संकायमा पठनपाठन हुँदै आएको छ । यी सबै संकायका लागि विश्वविद्यालयले सम्बन्धन शुल्क तोकेको छ ।
पूर्वाञ्चल विश्वविद्यालय मातहत आंगिक, सामुदायिक र निजी गरी १ सय ५४ क्याम्पस छन् । तीमध्ये निजी कलेज धेरै छन् । ७ आंगिक र ६ सामुदायिकबाहेक अन्य निजी कलेज हुन् । तिनीहरूमध्ये पनि अधिकांश काठमाडौं उपत्यकाभित्र सञ्चालित छन् ।
सामुदायिक क्याम्पसको हकमा भने निजीको भन्दा आधा मात्रै सम्बन्धन शुल्क लिइन्छ ।
अन्य विश्वविद्यालयहरूले पनि सम्बन्धन दिएबापत क्याम्पसहरूबाट वार्षिक शुल्क लिने गर्छन् । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका कलेजहरूले भने परीक्षा फाराम भराउने बेला सिधै विद्यार्थीसँग सम्बन्धन रकम उठाउने गरेका हुन् । कतिपय कलेजले विविध शुल्कको नाममा विद्यार्थीबाट रकम लिएर विश्वविद्यालयलाई सम्बन्धनबापतको रकम बुझाउने गरेका छन् । ‘परीक्षाका बेला सम्बन्धनको पैसा बुझाउनुपर्छ भनेर विभिन्न शीर्षकमा पैसा उठाउँछन्,’ एक विद्यार्थीले भने, ‘सिधै सम्बन्धन शुल्क लिने कलेज पनि छन् ।’
विद्यार्थीबाट सिधै सम्बन्धन शुल्क लिने प्रचलन गलत भएको शिक्षाविद्हरू बताउँछन् । उनीहरूका अनुसार एउटै तह, संकाय र विषयमा पनि विश्वविद्यालयपिच्छे फरक/फरक शुल्क लिइन्छ । क्याम्पसहरूबाट विश्वविद्यालयले सम्बन्धन शुल्क लिने चलन भए पनि सिधै विद्यार्थीबाट उठाउनु गलत हुने शिक्षाविद् मनप्रसाद वाग्लेलेबताए ।
पूर्वाञ्चल विश्वविद्यालयमा पनि विद्यार्थीहरूले सम्बन्धन शुल्क लिने निर्णयको विरोध गरेका थिए । विश्वविद्यालयका प्रवक्ता राजेशकुमार झाले विद्यार्थीबाट नभई सम्बन्धन दिएका कलेजहरूबाट उक्त शुल्क लिने गरिएको दाबी गरे । अन्तत: उक्त शुल्क विद्यार्थीहरूबाट नै उठाउने पनि उनले स्वीकार गरे । ‘कलेजहरूले वार्षिक सम्बन्धन शुल्क बुझाउनुपर्छ,’ उनले भने, ‘विद्यार्थीबाट सम्बन्धन शुल्क भनेर नलिन भनेका छौं ।’ विद्यार्थी भर्ना संख्याका आधारमा विश्वविद्यालयहरूले क्याम्पसबाट उक्त शुल्क लिने गर्छन् ।
कान्तिपुरमा सुदीप कैनीले लेखेका छन् ।
प्रतिक्रिया