काठमाडौं - सरकारले बुहमतका आधारमा पेलेरै दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित गरेपछि आक्रोशित बनेको प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार प्रति कटाक्ष गरेको छ । चिकित्सा शिक्षाका वेथिती विरुद्ध सत्याग्रहमा उत्रिएका प्रा.डा. गोविन्द केसीसँग कुनै सम्वादै नगरी सरकारले दुई तिहाईकै बलमा दुबै सदनबाट विधेयक पारित गरिसकेको छ ।
आईतबार बसेको प्रतिनिधि सभा बैठकमा काँग्रेस सांसद गगन थापाले सरकारले दुईतिहाईको दम्भ एक जना जोगी डाक्टरलाई देखाईदिएको भन्दै व्यङ्य स्वरुप बधाई पनि व्यक्त गरे ।
विधेयक पारित भएसँगै चिकित्सा शिक्षामा अनियमतिता गर्नेहरु औधि खुसी भएको भन्दै थापाले मेडिकल शिक्षाका माफियालाई पोस्न नेकपाकै नेताको नाममा पनि दुई तिहाई देख्न नपाएको जिकीर गरे ।
'पुष्पकमल दाहाल नेतृत्वको सरकारले चिकित्सा शिक्षा अध्ययन राष्ट्रिय प्रतिष्ठानको नाम परिवर्तन गरेर मनमोहन चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान बनाउन गरेको गरेको कुरा संसदमा आएर कानून बनाउँ भन्दा कमरेड मनमोहनका लागि दुई तिहाई देख्न पाहिएन' थापाले भने, 'कमरेड मनमोहनका लागि दुई तिहाई देख्न नपाए पनि कमरेड मार्सीमोहनका लागि दुई तिहाई देख्न पाहियो । सरकारलाई बधाई छ ।'
नेकपा समर्थित दुर्गा प्रसाईको झापामा रहेको मेडिकल कलेजलाई सम्बन्धन सहज गर्न सरकारले विधेयक पारित गरेको भन्दै आलोचना हुँदै आएको छ । उनै प्रसाईले नेकपाका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दहाललाई संगै राखेर मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि मार्सी चामलको उक्त विम्ब प्रचलित भएको छ ।
थापाले प्रसाईको नाम नलिईकन सरकारको कार्यलाई सोही विम्ब प्रयोग गर्दै कटाक्ष गरेका हुन् ।
'एक जना जोगी डाक्टले सरकारसँग निउ खोज्यो त्यो पनि दुई तिहाई सरकार सँग, यस्तो बलियो सरकारसँग, सरकारले देखाईदियो सरकारलाई बधाई छ' थापाले भने, 'पारित भएको विधेयकमा जुन प्वाल राखिएको छ त्यो गर्न दिईन्न, अहिले सम्म केसीको मागका आधारमा प्राप्त सुधारलाई अवरोध गर्न खोज्ने कदमलाई रोकिन्छ ।'
संसदमा थापाले व्यक्त गरेको धारणाको मुल अँश जस्ताको त्यस्तै :
नेपाल सरकारलाई बधाई छ । एक जना जोगि डाक्टरले सरकारसँग निउ खोज्यो, त्यो पनि दुई तिहाई सरकार सँग, यस्तो बलियो सरकारसँग सरकारले देखाईदियो सरकारलाई बधाई छ ।
सरकारको यस्तो अपार सफतामा सरकार बनाउने माननीय सांसदहरु खुसी नहुने कुरै भएन । तर खुसी हुनेको लाममा अरु पनि उभिएका रहेछन् । प्रत्येक बर्ष करीब १५ सय जति नेपाली विद्यार्थी नेपाल भन्दा बाहिर डाक्टरी पढ्न जान्थे डा केसीले आन्दोलन गरेर भने नेपालको प्रवेश परीक्षा पास नगरिकन खल्तीमा पैसा बोकेर मात्रै कोही पनि बाहिर पढ्न जान पाउँदैन भने ।
१५ सय मध्ये १२/१३ सयले नेपालको प्रवेश परीक्षा पास गर्न सक्दा रहेनछन्, ति बाहिर जान रोकिएका विद्यार्थीलाई बाहिर पठाएर केही सर्वहाराहरुले आफ्नो पेट पालिरहेका थिए । स्वरोजगार भईरहेका थिए । डा. केसीलाई सरकारले देखाईदिए पछि ती कमरेडहरु बडा खुसी भएका छन् । सरकारलाई बधाई छ ।
केही मेडिकल कलेजहरुले राम्रो गरिरहेका थिए । अनुगमन गर्न जाने टोलीलाई पनि पहिल्यै मिलाउँथे, विरामी पनि भाडामा ल्याउँथे, डाक्टर पनि भाडामा ल्याउँथे, एक सय जना पढाउन पाउने अनुमति प्राप्त गरेको मेडिकल कलेजले भाडामा ल्याएका विरामी र डाक्टरका आधारमा करिब २ सय सिट पाउँदै थिए । डाक्टर केसीले आन्दोलन गरे सिट संख्या घटाएर सय पुर्याईदिए । त्यति मात्रै हैन अनुगमन गरेर नक्कली डाक्टर विरामी आउने कुरालाइृ बन्द गरे । र करिव करिव १ करोड हाराहारी शुल्क लिने कलेजहरुलाई ५० लाख मुनि शुल्क लिने ठाउँमा ल्याईदिए । मेडिकल कलेज सञ्चालक डाक्टर केसीसँग औधि रिसाएका थिए । तिनी बिचराहरु अहिले बडो खसी भएका छन् सरकारलाई बधाई छ ।
मेडिकल शिक्षामा थुप्रै अनियमतिता भयो भनेर केसीले सरकारसँग माग राखे । सरकारले पूर्व न्यायाधिस गौरी बहादुर कार्कीको संयोजकत्वमा एउटा समिति बनायो । केसीले भने समितिले पुग्दैन न्यायिक आयोग नै चाहिन्छ । त्यो आयोगले थुप्रैलाई डामेको छ । विश्वविद्यालयका पदाधिकारी देखि लिएर थुप्रै नियमनकारी निकायका मानिसहरु समेतलाई समितिले बोलेको छ, सरकारले अहिले सम्म केही गर्न सकेको छैन । तर ती सबै रिसाएका थिए, डाक्टर केसीलाई सरकारले देखाईदिदैं गर्दा उनीहरु खुसी भएका छन् ।
को खुसी भएका छैनन् ? लोकमान सिंह कार्की देखि कालिकास्थानको टहरामा मेडिकल कलेज सञ्चालन गर्ने सम्म सरकारले डाक्टर केसीलाई देखाईदिए पछि खुसी भएका छन् । यत्रो मान्छेलाई खुसी बनाउने सरकारलाई बधाई छ ।
बधाईको पात्र सरकार मात्रै हैन सरकार बनाउने पार्टि पनि भएको छ । हामीले दुई तिहाईको दम्भ देख्नै पाएका थिएनौं । संसदमा कुनै बेला अनाथ अपाङ्ग बालबालिकाका निम्ति विशेष कानून बनाउने अवसर प्राप्त भयो, दुई तिहाई देख्न पाएनौं, भूमिहिन दलितका निम्ति एक पटकका लागि जिविकोपार्जनका निमित्त जमिन दिउँ र १० बर्ष पछि उनीहरुले त्यो जमिन आफैं बेचविखन गर्न पाउने हक हस्तान्तरण गरौं भन्ने संशोधन दर्ता भयो, तर त्यो बेलामा दुई तिहाई देख्न पाहिएन ।
शिक्षा स्वास्थ्यमा राज्यको भूमिका बढाउँ भन्दै गर्दा दुई तिहाई देख्न पाहिएन । अनेक ठाउँमा दुई तिहाई देख्न पाहिएन । यो भन्दा अघि पुष्पकमल दहाल नेतृत्वको सरकारले चिकित्सा शिक्षा अध्ययन राष्ट्रिय प्रतिष्ठानको नाम परिवर्तन गरेर मनमोहन चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान बनाउँ भनेर सरकारले पारित गरेको कुरा संसदमा आएर कानून बनाउँ भन्दा कमरेड मनमोहनका लागि दुई तिहाई देख्न पाहिएन । कमरेड मनमोहनका लागि दुई तिहाई देख्न नपाए पनि कमरेड मार्सि मोहनका लागि दुई तिहाई देख्न पाहियो । सरकारलाई बधाई छ ।
दुई तिहाईले डाक्टरलाई देखाईदियो प्रश्न डाक्टर उठेकोमा भन्दा पनि प्रधानमन्त्रीसँगको विश्वास ढलेकोमा चिन्ता हो ।
ढलेको विश्वासलाई कसले उठाईदिने ? प्रधानमन्त्रीको ईमानमा डढेलो लाग्यो पानी कसले हालिदिने ? हुन त प्रधानमन्त्रीले भन्नु भएको छ हाम्रो काम देखेर संसार आश्चर्य चकित भएको छ । नेपालीले नबुझ्ने भएर होला । देश भित्र घुमेर हेर्दै गर्दा शान्ति सुरक्षा देखि सरकारको नियत र प्राथमिकतामा शंका ब्याप्त देखिन्छ ।
प्रतिक्रिया