Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

अस्तव्यस्त स्ववियु : शैक्षिक मुद्दा छाडेर विद्यार्थी नेता ठेक्कापट्टा र सरुवा-बढुवामा

शनिबार, १९ माघ २०७५

काठमाडौं १९ माघ / त्रिवि नियमावलीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हरेक दुई–दुई वर्षमा हुने उल्लेख छ । तर, त्रिविको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसलगायत धेरै विद्यार्थी रहेका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन नभएको १० वर्ष भइसक्यो । ०६५ पछि एकैचोटि ०७३ फागुनमा निर्वाचन मिति त तोकियो, तर निर्वाचन प्रणाली, उमेरहद र निर्वाचन गर्ने कि नगर्ने विषयमा विद्यार्थी संगठनबीच विवाद चर्किएपछि त्रिविका ६० मध्ये ३४ क्याम्पसमा निर्वाचन हुन सकेन । बाँकी २६ क्याम्पसमा विवादबीच निर्वाचन भयो । तर, ती क्याम्पसका स्ववियु पनि विद्यार्थीका मुद्दामा प्रभावकारी बन्न सकेका छैनन् । अहिले त्रिविले १४ फागुनमा स्ववियु निर्वाचनको मिति तोकेर तयारीमा लाग्न क्याम्पसहरूलाई पत्र पठाएको छ । तर, विद्यार्थी संगठनहरू भने निर्वाचनमा जाने–नजाने विवादमा प्रवेश गरेका छन् । नयाँ पत्रिकाका वीरेन्द्र ओलीको रिपोर्ट :

०६५ मा तत्कालीन एकीकृत माओवादी देशको पहिलो ठूलो दल थियो । त्यसैले त्यतिवेला स्ववियु निर्वाचन हुनुपर्ने आवाज सबैभन्दा बढी अखिल क्रान्तिकारीले उठायो । ०७३ मा आइपुग्दा माओवादी पटक–पटक फुटेर कमजोर अवस्थामा पुग्यो । त्यतिवेला स्ववियु निर्वाचन हुनुपर्ने सबैभन्दा चर्को आवाज नेविसंघ र अनेरास्ववियुले उठाए ।

त्यतिखेर विभाजित माओवादीका विद्यार्थी संगठन भने निर्वाचन नहुँदा खुसी हुने अवस्थामा थिए । कतिपयले त विभिन्न बहाना बनाएर बहिष्कार नै गरे । तर, अहिले फेरि तत्कालीन एमाले र माओवादी एक भई पहिलो दलका रूपमा सत्तामा रहेका वेला अनेरास्ववियु र अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन हुनुपर्ने आवाज जोडबलले उठाइरहेका छन् ।

कांग्रेस कमजोर अवस्थामा रहेकाले नेविसंघ भने निर्वाचन टार्ने रणनीतिमा देखिन्छ । आफ्नो पक्षमा माहोल हुँदा निर्वाचनको पक्षमा उभिने र कमजोर हुँदा निर्वाचन टार्ने रणनीतिमा विद्यार्थी संगठनहरू देखिने गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालयमा सबैभन्दा बढी विद्यार्थी आन्दोलन हुने र स्ववियु निर्वाचनको माहोल बन्ने गरेको छ । त्रिविले ०७२ देखि सेमेस्टर प्रणाली लागू गरेपछि र स्ववियुमा उमेरहद २८ वर्ष कायम गरेपछि स्ववियु निर्वाचनको माहोल कम हुँदै गएको छ । विगतमा उमेरहद नतोकिँदा बुढा विद्यार्थी नेता पनि उम्मेदवार बन्ने र एउटै व्यक्ति पटक–पटक चुनाव लड्ने अवस्था थियो । अहिले पढाइमा बढी केन्द्रित हुने कम उमेरका विद्यार्थी उम्मेदवार बन्ने भएकाले खासै माहोल नबनेको विद्यार्थी नेताहरू बताउँछन् ।

त्रिविले निर्वाचनको मिति तोकेपछि विद्यार्थी संगठनबीच विवाद

त्रिभुवन विश्वविद्यालयले १४ फागुनका लागि स्ववियु निर्वाचनको मिति तय गरेको छ । निर्वाचनका लागि क्याम्पसमा पत्राचार पनि गरिसकेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख गंगाबहादुर थापाले बताए । तर, विद्यार्थी संगठनहरू तोकिएको मितिमा निर्वाचन हुनुपर्ने र हुन नहुने पक्ष–विपक्षमा उभिएका छन् ।

सत्तारुढ दलनिकट अनेरास्ववियु र अखिल क्रान्तिकारी तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा छन् । ‘हामीले ०७३ मै हरेक दुई वर्षमा १४ फागुनमै निर्वाचन गर्ने सहमति गरेका थियौँ,’ अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘निर्वाचनमा पराजित हुने डरले नेविसंघ भाग्न खोज्दै छ ।’ निर्वाचनका लागि मौसमदेखि विद्यार्थीको परीक्षा पनि नपर्ने भएकाले फागुनमै निर्वाचन हुनुपर्ने उनको तर्क छ ।

तर, कांग्रेसनिकट नेविसंघले अहिले स्ववियु निर्वाचनको माहोल नभएकाले मिति सार्नुपर्ने आवाज उठाउँदै छ । नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले स्ववियु निर्वाचन गर्न माहोल नै नबनेकाले तत्काल हुन नसक्ने बताए । ‘निर्मला पन्त, गोविन्द केसी र अन्य जनजीविकाका मुद्दामा आन्दोलन गर्दा धेरै साथी धरपकटमा परेका छन्,’ उनले भने, ‘निर्वाचन समयमै गराउन हामीले चाहे पनि सत्तापक्षले नै वातावरण बनाउन सकेको छैन ।’

मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वका माओवादीनिकट विद्यार्थी संगठन निर्वाचन हुनुपर्ने, तर पूर्ण समानुपातिक प्रणाली अपनाउनुपर्ने मागमा छन् । पूर्ण समानुपातिक नभए निर्वाचन हुन नदिने चेतावनी उनीहरूले दिएका छन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख थापाले निर्वाचनको मिति तोकिए पनि विद्यार्थी संगठनबीच सहमति नभए निर्वाचन गराउन गाह्रो हुने बताए ।

स्ववियु शैक्षिक मुद्दा छाडेर सरुवा–बढुवा र ठेक्कापट्टामा
क्याम्पसमा विद्यार्थी नेताको गतिविधि नै विगतको जस्तो देखिँदैन । हिजो विद्यार्थीका हकहित र शैक्षिक मुद्दामा लड्ने स्ववियु नेता अहिले विश्वविद्यालयमा पदाधिकारी भागबन्डा, प्राध्यापक सरुवाबढुवा र विभिन्न ठेक्कापट्टामा केन्द्रित हुन थालेका छन् । त्यसैले स्ववियुको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका पूर्वस्ववियु सभापति हिमाल शर्मा विद्यार्थीको हकहित र शिक्षाको मुद्दामा विचलित भए स्ववियु नै संकटमा पर्ने बताउँछन् । शिक्षाविद् विद्यानाथ कोइराला बदलिएको परिस्थितिमा आधुनिक रूपमा परिष्कृत स्ववियु आवश्यक रहेको बताउँछन् ।

शैक्षिक मुद्दा छाडे स्ववियु संकटमा : हिमाल शर्मा, पूर्वस्ववियु सभापति
त्रिवि क्याम्पस कीर्तिपुर
पञ्चायती व्यवस्थामा दलहरू प्रतिबन्धित थिए । विद्यार्थी संगठन र स्ववियु पार्टीको भूमिकामा थिए । राजनीतिक परिवर्तनमा स्ववियुको भूमिका ठूलो थियो । तर, अहिले त्यो परिस्थिति होइन । स्ववियु शैक्षिक मुद्दामै केन्द्रित हुनुपर्छ । त्यसो नभए स्ववियु नै संकटमा पर्छ ।

स्ववियु चाहिन्छ तर, क्रिटिकल चेत भएको : विद्यानाथ कोइराला, शिक्षाविद्

विश्वविद्यालय तथा कलेजमा स्ववियु हुनुपर्छ । विश्वविद्यालयमा सही र गलत भन्ने एउटा निकाय चाहिन्छ । यसका लागि क्रिटिकल (आलोचनात्मक) चेत भएको स्ववियु आवश्यक छ । स्ववियुलाई आधुनिक रूपमा परिष्कृत गर्नुपर्ने अवस्था छ । शिक्षाको आधुनिक बहस तथा छलफलमा, प्रविधिसँग विद्यार्थी र शिक्षक जोड्ने मुद्दामा सहभागी गराउनुपर्छ ।

कहिले–कहिले भयो स्ववियु निर्वाचन ?
०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालय स्थापना भएसँगै त्रिवि विद्यार्थी युनियनको चुनाव हुन थाल्यो । ०१८–१९ मा त्रिवि विद्यार्थी युनियनको सभापतिमा तीर्थनाथ गोगोल सर्वसम्मत भएका थिए । ०१९–२० मा नवराज सुवेदी सभापतिमा चुनिएका थिए । तर, स्वतन्त्र विद्यार्थी युनियनको पहिलो चुनाव भने २० भदौ ०२० मा भएको थियो । यो चुनावबाट प्रगतिशील समूहका जनार्दनप्रसाद आचार्य विजयी भएका थिए । यही निर्वाचनपछि नै विद्यार्थी युनियनको नाम फेरेर स्वतन्त्र विद्यार्थी युनियन राखिएको थियो ।

०२९–३० सम्म विद्यार्थी युनियनको चुनाव हरेक वर्ष भयो । पञ्चायत व्यवस्थाले स्ववियुमाथि नै प्रतिबन्ध लगाएपछि एकैपटक २० भदौ ०३६ मा अर्को निर्वाचन भयो । त्यसपछि ०३८, ०४०, ०४१, ०४३, ०४५, ०४९, ०५१, ०५३, ०५५, ०५७, ०६०, ०६२, ०६५ र ०७३ मा स्ववियु निर्वाचन भए ।

स्ववियुबाट उदाएका नेता
विगतमा शैक्षिक मुद्दासँगै राजनीतिक परिवर्तनमा स्ववियुको नेतृत्वदायी भूमिका थियो । स्ववियुमा चम्किएका धेरै नेताले माउ पार्टीमा फड्को मारे । कांग्रेस सभापति शेरबहादुर देउवा नै स्ववियु नेता हुँदै फड्किएका हुन् । कांग्रेसका स्थापित नेताहरू विजयकुमार गच्छदार, वीरबहादुर बलायर, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, धनराज गुरुङ, एनपी साउद, चन्द्र भण्डारी, गोविन्द भट्टराई स्ववियु हाँकेर आएका नेता हुन् ।

यस्तै, नेकपाका शंकर पोखरेल, रवीन्द्र अधिकारी, पशुपति चौलागाईं, खगराज अधिकारी, जगन्नाथ खतिवडा, योगेश भट्टराई, यज्ञ सुनुवार, राजेन्द्र राई, विशाल भट्टराई, हितमान शाक्य, तुलबहादुर गुरुङ, ठाकुर गैरे, टंक कार्की र हिमाल शर्मा स्ववियु सम्हालेरै यो उचाइसम्म आइपुगेका हुन् । यस्तै, स्ववियुको चुनाव जित्दै विद्यार्थी संगठनमा आउनेहरू पनि छन् । अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामा, उपाध्यक्ष रश्मि आचार्य, उपाध्यक्ष महेश बर्तौला, कोषाध्यक्ष झकीन्द्र खत्री स्ववियुबाटै आएका हुन् । नेविसंघका पूर्वमहामन्त्रीद्वय कुन्दनराज काफ्ले र सरोज थापा तथा सहमहामन्त्री अम्बिका चलाउने पनि स्ववियु राजनीतिबाटै संगठनमा पुगेका हुन् । अखिल क्रान्तिकारीमा उपमहासचिव बनेका जिपी मैनाली मात्र स्ववियुबाट आएका हुन् ।

यस्तो छ स्ववियुको इतिहास
विद्यार्थी संगठनको इतिहास लामै भए पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को इतिहास भने ५६ वर्ष पुरानो छ । राजा महेन्द्रले ०१८ मा संघसंस्थालाई नियन्त्रण गरी राष्ट्रिय निर्देशन ऐन जारी गरे । किसान, मजदुर, भूतपूर्व सैनिक, महिला, बाल, युवा र विद्यार्थी संगठन गरी सात संगठनलाई प्रतिबन्ध लगाए । स्वतन्त्र रूपमा विद्यार्थी युनियन खोल्न बन्देज लगाएपछि विद्यार्थीहरू स्वतन्त्र विद्यार्थी युनियन खोल्न पाउनुपर्ने माग राख्दै राष्ट्रिय निर्देशन ऐनविरुद्ध संघर्षमा उत्रिए । विद्यार्थीको विरोध मत्थर पार्न पञ्चायतले आफ्नो पक्षपोषण गर्न नेपाल विद्यार्थी संगठन खोल्यो ।

तर, विद्यार्थीहरूको विरोध रोकिएन । ७ फागुन ०१९ मा टुँडिखेलमा राजा महेन्द्रले परेड अवलोकन गर्दैगर्दा त्रिचन्द्र क्याम्पसका विद्यार्थीले विरोध गरे । अभयपाणि गौतम, शैलजा आचार्य, विजय बराल, मंगलसिद्धि मानन्धरलगायत विद्यार्थीले उनलाई कालोझन्डा देखाएका थिए । यो विरोधलाई त्यतिवेलाको सबैभन्दा क्रान्तिकारी मानिन्छ ।

स्ववियु स्थापनाका लागि चर्को आन्दोलन चल्दै गर्दा २० भदौ ०२० मा त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गर्ने व्यवस्था गर्‍यो । निर्वाचनबाट प्रगतिशील पक्षका जनार्दन आचार्य सभापतिमा विजयी भए । त्यतिवेला सबै पार्टीनिकट विद्यार्थी नेताहरू अखिल नेपाल विद्यार्थी फेडेरेसनमा थिए । पछि पार्टीगत रूपमा विद्यार्थी संगठनहरू बनेपछि स्ववियु निर्वाचनमा प्रतिस्पर्धा गर्न थाले ।

जनवादी शिक्षालाई अंगीकार गर्ने कम्युनिस्ट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी सम्मेलन १ जेठ ०२२ मा स्थापना भयो । यो संगठन नै ०२५ मा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका रूपमा स्थापना भयो । उता जनवादी शिक्षा नमान्ने कांग्रेसनिकट नेपाल विद्यार्थी संगठन ६ वैशाख ०२७ मा स्थापना भयो । पञ्चायती व्यवस्थामा राजनीतिक स्वतन्त्रता नभएकाले स्ववियुमाथि कडाइ भयो ।

०२९/३० सम्म निरन्तर चल्दै आएको स्ववियुलाई पञ्चायतले ०३० मा संघसंगठन नियन्त्रण ऐन ल्याएर प्रतिबन्ध लगायो । तर, विद्यार्थीकै बलमा चलेको ०३५/३६ को आन्दोलनबाट १३ जेठ ०३६ मा स्ववियु पुनर्स्थापना भएर निर्वाचन घोषणा भयो । पुनर्स्थापित स्ववियुकै बलले पञ्चायत ढाल्न ठूलो भूमिका खेल्यो ।

नयाँ पत्रिकामा वीरेन्द्र वलीले लेखेका छन् ।

प्रतिक्रिया