काठमाडौं - विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने प्रयोजनका लागि बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना अध्यक्ष विरुद्ध मुद्दा दायर गरेको छ ।
सिन्धुपाल्चोकको साँगाकोट स्थित भीमसेन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पुरुषोत्तम कार्कीले एस.एल.सी.पासको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारको दावी छ । उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै छानबिन गरी पाउँ भन्ने व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा उनको प्रमाणपत्र नक्कली भएको अख्तियारको दावी छ ।
उनले बुझाएको माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय वाराणसी, भारतबाट प्राप्त गरेको एस.एल.सी. तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको अनुसन्धानबाट पत्ता लागेको अख्तियारको दावी छ । नक्कली कागजात पेश गरी अध्यक्ष पदमा बहाल रहेकोले उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
प्रतिक्रिया