Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

अहंकार र दम्भको शासन झुक्छ भन्ने डरले केसीसँग छलफल नगरेको आरोप

विहीबार, १७ माघ २०७५

काठमाडौं - अहंकार र दम्भको शासन झुक्छ भन्ने डरले सरकारले सत्याग्रही प्रा.डा. गोविन्द केसीसँग छलफल नगरेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आरोप लगाएको छ ।  चिकित्सा शिक्षाका वेथिती विरुद्ध सत्याग्रहमा उत्रिएका केसीसँग सरकारले एक पटक पनि छलफल नगरी सरकारले पेलेरै माघ ११ गते संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरे पछि प्रमुख विपक्षी काँग्रेस आन्दोलिन भएको छ । 

बिहीबारको संसद बैठकमा काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले चिकित्सा शिक्षा विधेयकलाई छलफलको माध्यामबाट सहमतीमा पुग्न आग्रह गरे । केसीले उठाएको विषय केसीको मात्रै नभएर कम्युनिष्ट सरकारको समेत माग भएको उनले बताए । सरकारलाई जनताप्रति उत्तरदायी बनाउने सुधारका काम गर्ने माग केसीको मात्रै नभएको उनको भनाई थियो । छलफलको बाटोबाट अघि बढेको भए पहिल्यै सहमती हुने अवस्था भएपनि सरकारको दम्भले उक्त कार्य नभएको उनको आरोप थियो । केसी विगत २३ दिन देखि सत्याग्रहमा छन् । 

'दुई तिहाईको अहँकार र दम्भको शासन झुक्छ भन्ने डर देखियो' रिजालले भने, 'राष्ट्रिय सभामा भएको विधेयकलाई छलफलकै बाटोबाट अघि बढाउन अझै समय छ, केसीको जीवन रक्षा गर्न छलफल गर्न आग्रह गर्छु ।'

सत्ताले के देखेको छ बुझ्न नसकेको भन्दै उनले सत्ता आफैं सीमालाई नाघ्दै हिँडेको आरोप लगाए । आफ्ना दुई पूर्व सभापतिको नाममा खुलेका अस्पताललाई संघीय सरकार मातहतबाट झिकेको विरोधमा संसद बैठक अबरुद्ध गर्दै आएको काँग्रेसले विहीबारको बैठक  पनि चल्न दिएन । 

रिजालको भनाई पछि सभामुख कृष्णबहादुर महराले विधेयक संसदले पारित गरिसकेको अवस्थामा विरोधको औचित्य नहुने बताउँदै राष्ट्रिय सभामा गएको स्मरण गराए । 

काँग्रेसका मागहरुका बारेमा सरकार गम्भिर रहेको जानकारी गराएका थिए । काँग्रेसका  सांसदहरुले उठेर विरोध जनाईरहेपछि बैठक माघ २० गते ३ बजे सम्मका लागि स्थगित भएको छ । 

यस अघि रिजालले संसदीय मर्यादालाई बलियो बनाउने काममा सभामुखको भूमिका राम्रो नभएको पनि आरोप लगाएका थिए । बलात्कार, हत्या हिंसाका घटना नियन्त्रणमा सरकार असफल भएको पनि उनको आरोप थियो । 

 

प्रतिक्रिया