हरेक अभिभावक आफ्ना सन्तानलाई गास, वास र कपासको व्यवस्था गरेपछि स्वास्थ्य, शिक्षामा केन्द्रित हुन्छन् । शिक्षा आर्जन गराएर आफ्ना सन्तानमा परिपक्वता र व्यावहारिकता देख्न चाहन्छन् । त्यही सपनालाई विपना बनाउन हरेक व्यक्ति लागि रहन्छन् । त्यसैको परिणतिमा व्यक्ति रोजगारीको अवसरमा भौँतारिन्छ । त्यस क्रममा ऊ जहाँ पनि जस्तो पनि काममा प्रवेश पाउन आतुर हुन्छ । पहुँच पकड हुनेहरू रोजेर छिर्छन् भने नहुनेहरू दूरदराज, कुनाकन्दरा जहाँ भए पनि स्वीकारेर जान्छन् । त्यस क्रममा उनीहरूले राज्यका नियम कानुन पद्धति प्रक्रिया सबै शिरोपर गर्नै पर्छ, गर्छन् नै । आफ्नो बलबुताले भ्याउने भनसुनको मनसुन पनि खोज्छन् नै किनकि उसलाई चाहिएको हुन्छ रोजगार । नीति नियम ऐन कानुनका तथाकथित रक्षक संरक्षककै निर्देशनको सही गलत बाटोबाटै जान्छन् । एउटा सामान्य व्यक्तिलाई त्यही प्रक्रिया हो भन्ने लाग्छ र कुनै एउटा पेशामा प्रवेश पाउँछ ।
अस्थायी शिक्षकहरू पनि यही लिखित अलिखित प्रक्रियाबाट शिक्षण पेशामा पस्छन् । पेशामा आवद्ध हुन्छन् । बलबुता, बैँस, यौवन सिध्याउँछन् । त्यहीँ अभ्यस्त भई जीवनको लामो काल खण्ड विताउँदै सुनिश्चित भविष्यको सपनामा रम्दै रमाउँदै, डराउँदै गतिशील भइरहेका हुन्छन् । त्यसै क्रममा कोही पकड पहँुचका आधारले कोही आफ्नै क्षमता योग्यताले स्थायी हुन्छन् । कतिपय टेक्ने लौरी र समाउने हाँगा नपाउनेहरू, स्वनाम धन्य परीक्षा प्रणालीका जिलीगाँठी नबुझ्नेहरू असफल भई आपूmले आफैँलाई धिक्कार्छन् । पुनः आशाको त्यान्द्रो खोज्दै पेशामा लाग्छन् ।
शासन सत्तालाई हात पार्न दौडिनेहरूको पनि अदलबदल भइरन्छ । पदलाई पेवा ठानेर पैसालाई मेवा बनाउनेहरू रातारात मालामाल हुन्छन् अनि जनताको आँखाको तारो भइएला भनेर जनताको आँखामा छारो हाल्न तिनै अस्थायी शिक्षकलाई निसाना बनाउँदै गोल्डेन हाण्डसेकका लुते लोभमा फसाउँदै परीक्षाको पासोमा अल्झाउँदै अवकासको कालो आकाश निरिह शिक्षकमा खसाउँदै पानी माथिको आभानो बन्न पुग्छन् ।
लाउडा, धमिजा काण्डका बेला नियुक्ति लिने शिक्षकहरू वाइडबडी काण्डको मतियाहरूको पालामा पनि स्थायी हुन सकेका छैनन् । ओठतालु सुकाएर तिनकै समाचार पढ्दै कलिला भाइबहिनीहरूलाई सदाचारको पाठ पढाउँदै अवकाशको पत्रको त्रासमा विस्मात् गर्दै छन् ।
योग्यताको मापन पेपर पन्सिल टेस्ट हो ? वर्षौ वर्ष एउटै पेशामा क्रियाशील मान्छेले आफ्नो पेसामा केही सिक्दैन ? एउटा पशुले त अभ्यस्त भए पछि आफ्नो काम कुशलतापूर्वक गर्छ । के अस्थायी शिक्षक त्यो पशुभन्दा पनि बिकामे हुन् । त्यही अस्थायी शिक्षकले हरेक व्यक्तिमा व्यक्तित्व विकासको छुट्टै अद्वितीय सम्भावना छ भनेर पढाउँछ । उसले पढाएका मान्छे प्रतिभाको प्रस्फुटनमा सफलताको शिखरमा व्यक्तित्वको झण्डा गाडिरहेको छ भने शिक्षक चाहिँ भस्मासुरले लखेटेको महादेव बनिरहेको छ यो कस्तो विडम्बना !
उसको योग्यताको परख सैद्धान्तिक परीक्षा नै हो ? परीक्षाले उसको कलाकारिता, उसको प्रयोगधर्मिता विद्यार्थीमा भएको लोकप्रियताको मापन त्यही विषय विशेषज्ञले कोठा भित्र बनाएको आठ÷दश वटा प्रश्नले मापन गर्न सक्छ ? त्यसको मापन त ऊ काम गरिरहेको विद्यालयको हाता हो । विद्यार्थीमा उसले गाँसेको नाता हो । प्रधानाध्यपक, शिक्षक, टोल वडाको जनता हो ।
यसर्थ चुनावको चोर ढोकाबाट शासन सत्तामा बसेर सम्पत्तिको पोका लुकाउन जनता झुक्याउन मलसाँप्रोको व्यवहार देखाउन हुँदै हुन्न । बिसौँ वर्ष पेशामा ढेसा लागेकाहरूले नतिजा बिगारेका भन्ने भ्रष्ट नेताका वाक्पटुता अब जनतालाई तिता तिता लाग्न थालिसके । सत्ताको उन्मादले नै दुर्योधनको दुर्गति रावणको नाभिको अमृत घडा छताछुल्ल भएको कथा अस्थायी शिक्षकका व्यथाले व्युँत्याउने छन् । विचार गरियोस् ।
आचार्य वंशगोपाल मावि हेटौडा, चौघडाका अस्थायी शिक्षक हुन् ।
प्रतिक्रिया