काठमाडौं - चिकित्सा शिक्षाका बेथिती विरुद्ध सत्याग्रहमा उत्रिएका प्रा.डा. गोविन्द केसीसँग कुनै सम्वाद नै नगरी सरकारले पेलेरै चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका बावजुद बहुमतका आधारमा विधेयक पारित गरिएको हो ।
काँग्रेस सांसदहरुले विरोधमा नारावाजी गर रहेपनि सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेवुल गर्न समय दिएका थिए । मन्त्री पोखरेललाई मर्यादापालकले छेकेर रोष्टममा पुर्याएका थिए ।
रोष्टममा पुग्ना साथ शिक्षा मन्त्री पोखरेलले विजयी मुद्रामा हात हल्लाउँदै विधेयक प्रस्तुत गरेका थिए । उनी रोष्टममा पुग्नासाथ सत्तापक्षका सांसदले समर्थनमा डेक्स बजाएका थिए । काँग्रेस सांसदहरुको नारावाजीकै बीचमा सभामुखले सांसदलाई छलफलमा भाग लिन समय दिए पनि कोही सांसद छलफलमा भाग नलिएपछि विधेयकमा समर्थन गर्न मन्त्रीलाई समय दिईएको थियो । मन्त्रीले विधेयक पास गर्न समर्थन गर्न आग्रह गरेपछि संसदले बहुमतका आधारमा पास गरेको हो ।
यो सबै प्रकृया सकिदा सम्म काँग्रेस सांसदहरु नारावाजी गरिरहेका थिए । महराले संसदको अर्को बैठक १७ गते घोषणा गरे पछि पनि काँग्रेस सांसदको नारावाजी जारी थियो ।
अपडेट :
सरकारले पेलेर विधेयक पास गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको कार्यलाई अधिनायकवादीको संज्ञा दिदैं सभामुखको कार्यशैली प्रति समेत आपत्ति जनाएको छ । बैठक पछि काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कार्य विरुद्ध संसद सहित सडक संघर्ष गर्ने बताए । सभामुखले पदीय मर्यादा भुलेको टीप्पणी गर्दै उनले सरकार प्रति आक्रमक अभिव्यक्ति दिएका छन् ।
प्रतिक्रिया